birat ribon

‘एक वर्षको परीक्षा सक्नै तीन वर्ष लाग्ला जस्ताे छ !’

Neuro
‘एक वर्षको परीक्षा सक्नै तीन वर्ष लाग्ला जस्ताे छ !’
  • मेनुका काेइराला/काठमाडौं

सोमबार दिउँसो १ बजेका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक दोस्रो वर्षको मानविकी, सामाजिक र विज्ञान सङ्कायको चौथो विषयको परीक्षा भयो । आइतबारमात्रै व्यवस्थापन सङ्कायको चार बर्से स्नातकको अन्तिम परीक्षा सकिएको थियो ।

यस्तै स्नातकोत्तर पहिलो वर्षको शिक्षा सङ्कायको परीक्षा पनि आइतबार नै सकिएको थियो । स्नातकोत्तर पहिलो वर्ष मानविकी सङ्कायको परीक्षा भने वैशाख १९ गतेका लागि निर्धारित गरिएको थियो ।

cura insider

स्नातकोत्तर दोस्रो वर्षका विभिन्न सङ्कायका विद्यार्थीको पनि परीक्षा सकिएको छैन । कतिपय विद्यार्थीहरूको एउटैमात्रै विषयको परीक्षा रोकिएको छ भने कतिपयको धेरै विषय बाँकी छन् ।  

स्नातकोत्तर दोस्रो वर्षमा सामाजिक कार्य पढिरहेका विद्यार्थीहरूको सोमबारपछि एउटा मात्रै विषयको परीक्षा बाँकी रहन्छ । कतिपय विद्यार्थीहरू परीक्षा फेरि कहिले हुने हो भन्ने कुराले चिन्तित छन् । साथै उनीहरूलाई एउटै कक्षा पास गर्नलाई वर्षौँ लाग्ने भयो भन्ने कुरामा गुनासो छ । 

दोस्रो वर्षको परीक्षा दिइरहेकी रेश्मा बस्नेतलाई अब उनको परीक्षा कहिले हुन्छ भन्ने थाहा छैन । 

‘परीक्षा सकिएको भए तेस्रो वर्षको तयारीमा लाग्न हुन्थ्यो,’ उनी भन्छिन्, ‘तर दोस्रो वर्ष पनि सकिने भएन ।’

उनलाई अब परीक्षा अर्को वर्षतिर मात्र हुने हो कि भन्ने तनावले सताउन थालेको छ । ‘ब्याचलर पास गर्नै वर्षौँ लाग्ने भयो,’ उनी भन्छिन्, ‘सरकारले छिट्टै अन्य वैकल्पिक निर्णय गरे हुन्थ्यो ।’  

प्रजिता घिमिरे अहिले स्नातकोत्तर दोस्रो वर्षको परीक्षा दिँदै थिइन् । तर एउटा परीक्षा दिन बाँकी हुँदै परीक्षा रोकियो ।

‘अब फेरि परीक्षा कहिले हुन्छ भन्ने ठेगान छैन । दोस्रो वर्ष पास गर्नै तीन वर्ष लाग्ला जस्तो छ,’ उनी भन्छिन्, ‘अब त पढ्नै मन लाग्न छोडिसक्यो ।’ 

एक वर्ष अघिदेखि ब्याचलर लेभलको परीक्षाको तयारी गरेर बसेकी अनिता श्रेष्ठलाई परीक्षा रोकएपछि अब फेरि परीक्षा नभए हुन्थ्यो जस्तो लाग्ने बताइन् । 

‘फेरि परीक्षा कहिले हुने हो ? बरु नभए हुन्थ्यो,’ उनी भन्छिन्, ‘बल्ल-बल्ल परीक्षाको तयारी गरेकी थिएँ । फेरि रोकियो । अब ब्याचलर नै पास भइँदैन जस्तो छ ।’  

पोखरा विश्वविद्यालय इन्जिनिरिङतर्फको परीक्षा वैशाख १७ गतेबाट गर्ने भनिएको थियो । तर कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएको भन्दै सिसिएमसीको बैठकले सबै प्रकारका परीक्षा स्थगन गर्न र भौतिक उपस्थितिमा पठनपाठन पनि बन्द गर्न निर्देशन दिएपछि सबै परीक्षाहरू रोकिए । 

त्यस्तै, सुदूरपश्चिम विश्वविद्यालयले भने वैशाख १० को सूचना अनुसार हाल सञ्चालन भइरहेका परीक्षा र वैशाख १६ गतेदेखि सञ्चालन गर्ने भनिएका स्नातक तह दोस्रो, चौथो र छैठौँ सेमेस्टरका परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । आइतबार विश्वविद्यालयले एक सूचना प्रकाशित गरी सो कुराको जानकारी दिएको हो । 

अघिल्लो वर्ष नै सक्नुपर्ने परीक्षा कोरोना माहामारीका कारण सरेर यो वर्ष सञ्चालन भएको थियो । तर यो वर्ष पनि परीक्षा रोकिएसँगै परीक्षाको तयारी गरेर बसेका विद्यार्थी मारमा परेका छन् ।

बाँकी परीक्षाबारे छैन कार्ययोजना

अब रोकिएको परीक्षा कहिले र कसरी हुन्छ भनेर जानकारी लिन खोज्दा शिक्षा मन्त्रालयले अहिलेसम्म केही योजना नभएको बतायो । देशको मूल आधार शिक्षा क्षेत्र कोभिड–१९ का कारण एक वर्ष अघिदेखि नै पछाडि परिसकेको छ ।

अहिले कोभिडको दोस्रो लहरले भइरहेको परीक्षा पनि रोकियो । तर शिक्षा मन्त्रालयसँग अबका दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केही कार्ययोजना छैन । शिक्षा मन्त्रालयका प्रतिनिधि भन्छन्, ‘परीक्षा रोक्ने निर्णय हामीले गरेको होइन । त्यसैले अब परीक्षा कहिले हुन्छ र शिक्षा क्षेत्र कसरी अगाडि बढ्छ भन्ने कार्ययोजना हामीसँग छैन ।’

लोकसेवा तयारी गर्ने पनि मारमा

महिनौँ लगाएर लोकसेवाको तयारी गरिरहेका विद्यार्थीको पनि परीक्षा रोकिएको छ । विद्यार्थीलाई अब भने भविष्य नै अन्योलमा पर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।

चाबहिल गौरीघाट बस्ने रमिला अधिकारी एक वर्षअघिदेखि लोकसेवाको तयारी गरिरहेकी थिइन् । यो वर्ष लोकसेवामा नाम निकाल्छु भन्ने उनलाई पूर्ण विश्वास थियो ।

तर, परीक्षा स्थगित भएपछि उनलाई चिन्ताले सताउन थालेको छ । ‘अब त पढ्नै मन लाग्न छोडिसक्यो,’ उनी भन्छिन्, ‘कोरोनाले गरेर भविष्य नै अन्योलमा परिसक्यो ।’

jackson ribon

प्रतिक्रिया दिनुहोस्: