birat ribon

अक्सिजन उत्पादन पर्याप्त, तर घरमै सिलिन्डर होल्ड

Neuro
अक्सिजन उत्पादन पर्याप्त, तर घरमै सिलिन्डर होल्ड

विराटनगर / कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै विराटनगरमा अक्सिजन सिलिन्डर ‘सर्टेज’ हुने सम्भावना बढेको छ । अक्सिजन सिलिन्डर खरिद गर्दै व्यक्तिले घरमै होल्ड गरेपछि सर्टेज हुने सम्भावना बढेको हो ।

सङ्क्रमण बढिरहेको अवस्थामा अक्सिजन खोज्दै अस्पताल र डिललमा पुग्नेको सङ्ख्या पनि बढ्दो छ । घरमै सर्टेज हुन थालेपछि बिक्रेताले अक्सिजन खरिद गर्नेसँग पिसिआर जाँचको रिपोर्ट माग्न थालेका छन् ।

cura insider

‘अक्सिजन खोज्दै दैनिकजसो मान्छे आउनुहुन्छ, घरमै सिलिन्डर होल्ड हुन थालेपछि पिसिआर रिपोर्ट माग्न थालेका छौँ,’ हिमाल अक्सिजनको बिक्रेता भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्सका म्यानेजर केदार श्रेष्ठ भन्छन्, ‘सिलिन्डर होल्ड हुन थालेपछि रिपोर्ट माग्न थालेका हौँ ।’

उनका अनुसार अस्पताल र व्यक्तिका घरमा सिलिन्डर होल्ड हुन थालेका कारण भोलि समस्या आउन सक्छ । ‘आवश्यकता परेको अवस्थामा मात्रै लाने र होल्ड नगर्ने हो भने सिलिन्डर रिफिल गर्न सजिलो हुन्छ,’ उनले भने, ‘सिलिन्डर होल्ड भए उद्योगले मागअनुसार अक्सिजन उत्पादन र वितरण गर्न सक्दैन ।’

कोरोना महामारी फैलिएको भारतमा अक्सिजनको अभाव छ । नेपालमा पनि पछिल्लो समय देखिएका सङ्क्रमितलाई अक्सिजन सपोर्ट चाहिन्छ । बजारमा पनि सीमित मात्रामा सिलिन्डर भएका कारण होल्ड गर्न नहुने उनले बताए ।

सुनसरी र मोरङमा चार वटा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन् । पाथीभरा अक्सिजन, विनायक अक्सिजन, पाथीभरा अक्सिजन र दुर्गा अक्सिजनले अक्सिजन उत्पादन गर्छन् । ती उद्योगमा करिब छ हजार अक्सिजन सिलिन्डर छन् ।

विनायक अक्सिजन उद्योगका सञ्चालक अमित सारडा विराटनगरमा सिलिन्डर होल्ड हुन थालेको बताउँछन् । घरमै सलिन्डर होल्ड भए उत्पादन र वितरणमा गाह्रो हुनसक्ने उनको गुनासो छ ।

‘अक्सिजन उत्पादनमा समस्या छैन तर खपत बढिरहेको छ,’ उनले भने, ‘खपत बढ्दा सिलिन्डर होल्ड गर्ने समस्या पनि छ ।’ अक्सिजनको अभाव हुन नदिन सिलिन्डरको व्यवस्थापन पर्याप्त हुनुपर्ने बताए । अस्पताल, क्लिनिक र घरमा पुगेका अक्सिजन सिलिन्डर होल्ड हुने समस्या रहेको उनले बताए ।

कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दास कोरोना उपचार केन्द्र र कोसी अस्पतालमा अक्सिजनको खपत बढेको बताउँछन् । खपत बढेपछि बिक्रेतालाई उत्पादन कटौती नगर्न भनिएको उनले बताए । ‘अक्सिजनको खपत बढेको छ,’ उनले भने, ‘हामीलाई अक्सिजन आपूर्ति गर्ने उद्योगलाई उत्पादन र वितरण कटौती नगर्न भनेका छौँ ।’ उनले घरमा अक्सिजन सिलिन्डर होल्ड नगर्न पनि आग्रह गरे ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: