birat ribon

झुत्तोको सम्झना, शब्दसार निरन्तरताको कामना

Neuro
झुत्तोको सम्झना, शब्दसार निरन्तरताको कामना

सुनसरी / इटहरीको साहित्यिक, बौद्धिक, सांस्कृतिक, शैक्षिक समाजको परिपक्वता र धारणा निर्माणमा उल्लेख्य भूमिका निर्वाह गर्ने पत्रिकाहरूको सम्झनासहित सोमबार ‘शब्दसार’ डाइजेस्ट सार्वजनिक गरिएको छ ।

कार्यक्रममा इटहरीबाट प्रकाशित भएर इतिहास बनेको जेठो पत्रिका झुत्तोसहित जनमुक्ति, पूर्वाञ्चल सँगालो, कोसेढुङ्गा, एक–आपस, दियालो, नव सञ्जीवनी, प्रमिथस, प्रगतिलगायतको सम्झना गरिएको थियो । पुराना पत्रिकाको सम्झना गर्नेहरूले लोकार्पित शब्दसारको निरन्तरताप्रति आशङ्कासमेत व्यक्त गरेका थिए ।

cura insider

कार्यक्रममा आफ्नो धारणा राख्ने वक्ताहरूले इटहरीले बेहोरेको अनियमितताको अनुभव जोड्दै शब्दसार निरन्तर हुनेमा शङ्का व्यक्त गरेका थिए । जबाफमा सम्पादन/प्रकाशन समूहका तर्फबाट कथाकार/पत्रकार कृष्ण अधिकरीले अझै धेरै मान्छेको अनुभव, अनुसन्धान प्रकाशन गर्न बाँकी रहेकाले शब्दसार चाँडै बन्द हुने शङ्का नगर्न आग्रह गरेका थिए ।

अन्तर्बोध समाजबाट प्रकाशित शब्दसार इटहरीको पहिलो ‘डाइजेस्ट’ भएको, पत्रिका द्वैमासिक रूपमा अर्थात् ऋतुको समय–चक्रअनुसार प्रकाशन गरिने सम्पादक दिनेश पौडेलले बताए ।

शब्दसारको पहिलो (बसन्त) अङ्कमा बद्रीविशाल पोखरेल, ऋषिराज लुम्साली, टङ्क न्यौपाने, बम देवान, टोलनाथ काफ्ले, तारा पराजुली, टीका आत्रेय, कृष्ण अधिकारी, गोपाल कोइराला त्यागी, रीता ताम्राकार, रेखा सुवेदी, चूडाबसन्त लम्साल, कृष्णप्रसाद कोइराला, त्रिलोक न्यौपाने, गणेशप्रसाद ढकाल, केशव आचार्य, कृष्णविनोद लम्साल, शिवराज खड्का, धनजीत पराजुली, गायत्री लम्सालका लेख–रचना समेटिएका छन् ।

कृष्णविनोद लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भाषाविज्ञ टङ्क न्यौपाने र प्राध्यापक बद्रीविशाल पोखरेलले आवरण देखाएर शब्दसार सार्वजनिक गरेका थिए ।

कार्यक्रममा समीक्षक मदनराज बराल, कवि बद्री भिखारी, शैक्षिक अभियन्ता लेखनाथ घिमिरेलगायतले शब्दसारका सबल पक्ष र सुधारका अवसरहरूबारे चर्चा गरेका थिए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: