birat ribon

विराटनगरमा शैक्षिक गतिविधी बन्द

Neuro
विराटनगरमा शैक्षिक गतिविधी बन्द

विराटनगर / विराटनगर महानगरपालिकाभित्र आज (सोमबार)बाट सबै शैक्षिक गतिविधी बन्द भएको छ । संघीय सरकारको निर्देशन अनुसार महानगरले वैशाखभरलाई कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै शैक्षिक गतिविधीमा रोक लगाएर शिक्षण संस्था बन्द गराएको हो ।

तीव्र रुपमा कोरोना फैलिन थालेपछि त्यसलाई रोक्न शैक्षिक संस्था बन्द गरिएको महानगरका नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले बताए ।

cura insider

उनका अनुसार विराटनगरमा एक सय पाँचवटा संस्थागत (निजी), ५६ वटा सामुदायिक र २० वटा धार्मिक विद्यालय छन् । सबै शैक्षिक संस्था अब वैशाखभर सञ्चालन गर्न नपाइने उनले बताए । बन्द गरिएको शिक्षण संस्थामा ६० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको खतिवडाले बताए ।

कोरोना तीव्र रुपमा फैलिइरहँदा विराटनगरका निजी शैक्षिक संस्थामा फाइनल (अन्तिम) परीक्षा सञ्चालन भइरहेको थियो । केही विद्यालयका शिक्षक र तथा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि भौतिक रुपमा गरिने सबै परीक्षा तत्काललाई रोक्न निर्देशन दिइएको खतिवडाले बताए ।

कोरोनाले महामारीकोे रूप लिइरहेका बेला विद्यालय सञ्चालन गर्दा झन् संक्रमण फैलने जोखिम बढेपछि शिक्षण संस्था बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए ।

खतिवडाका अनुसार वैशाखपछि पुनः संक्रमणको अवस्था हेरेर महानगरले शैक्षिक संस्था सञ्चालनका सम्बन्धमा निर्णय लिनेछ ।

विराटनगरमा सोमबार मात्रै ९० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जसमा ३५ महिला र ५५ पुरुष छन् । आइतबार २४ महिला र ५१ पुरुष गरेर ७५ जनामा कोरोना पुष्टि भएको थियो ।

jackson ribon