birat ribon

बालबालिकामा सङ्क्रमण बढ्दो, अभिभावकको भूमिका महत्त्वपूर्ण

Neuro
बालबालिकामा सङ्क्रमण बढ्दो, अभिभावकको भूमिका महत्त्वपूर्ण

विराटनगर / कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले पहिलेभन्दा तुलनात्मक रूपमा बालबालिकालाई बढी प्रभाव पारिरहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गत सात दिनमा सङ्क्रमण देखिएका दस हजार छ सय ३५ जनामध्ये दुई सय २३ जना नौ वर्षसम्मका र आठ सय ६५ जना १० देखि १९ वर्षसम्मका रहेका छन् ।

अन्य उमेर समूहमा मानिसको तुलनामा बालबालिकाको कोभिड परीक्षण कम भएको हुँदा सङ्क्रमित बालबालिकाको सङ्ख्या अझ धेरै हुन सक्ने जनाइएको छ । कतिपय बालबालिकामा सङ्क्रमण भए पनि लक्षण देखिने हुँदैन । तर, ज्वरो तथा खोकी लागेमा, बच्चाले राम्रोसँग नखाएमा, छिटोछिटो सास फेर्न थालेमा, खेल्न मन नगरेमा, झाडापखाला भएमा बेलैमा परीक्षण गरेर उपचार गर्नुपर्ने हुन्छ ।

cura insider

सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या बढिरहेपनि हालसम्म अस्पतालमा भर्ना गर्नुपर्ने बालबालिकाको सङ्ख्या भने कम रहेको छ । नेपाल पेडियाट्रीक सोसाइटीका अनुसार बालबालिकामा बिरामीको समयभन्दा पनि रोग लागेको चारदेखि छ हप्तापछि मल्टी सिस्टम इन्फलेमेटरी सिनड्रोम भई बच्चाहरू सिकिस्त हुन सक्छन् ।

मल्टी सिस्टम इन्फलेमेटरी सिनड्रोम भएका बच्चामा ज्वरो, कडा खालको झाडापखाला, अत्याधिक पेट दुख्ने, सास फेर्न गाह्रो हुने, शरीरमा डाबर आउने साथै मुटुका समस्या पनि हुन सक्छ ।

बालबालिकालाई सङ्क्रमणबाट बचाउनका लागि अभिभावकले सतर्कता अपनाउनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद पौडेल बताउँछन् । उनका अनुसार घर भित्र–बाहिर गर्ने अभिभावकहरूले घर आउनासाथ सीधै बालबच्चालाई समात्न हुँदैन ।

अभिभावकले हात धुएर वा नुहाएर मात्रै बालबालिका समाउने, पोषणयुक्त खानपानमा ध्यान दिने, मास्क जतात्यतै नफाल्ने, बाहिर जाँदा लगाएको कपडा पनि छुट्टै राख्ने, खेलकुदका सुरक्षित स्थानको व्यवस्थापन गर्ने, मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न नदिन बालबालिकालाई सिर्जनात्मक क्रियाकलापमा ब्यस्त राख्ने तथा भाइरसबाट सङ्क्रमित भएपनि बच्चालाई साकारात्मक सोच आउने सन्देश दिने गर्नुपर्छ ।

jackson ribon