birat ribon

शैक्षिक भ्रमणमा प्रिन्सिपलद्वारा छात्रामाथि यौन दुर्व्यवहार, एक महिनासम्म घटना ‘गुपचुप’

प्रहरी कार्यालयमा जान पाएका पाएका छैनन् पीडित परिवार

Neuro
शैक्षिक भ्रमणमा प्रिन्सिपलद्वारा छात्रामाथि यौन दुर्व्यवहार, एक महिनासम्म घटना ‘गुपचुप’प्रहरी कार्यालयमा जान पाएका पाएका छैनन् पीडित परिवार

विराटनगर / शैक्षिक भ्रमणका क्रममा मोरङको बेलबारी नगरपालिका–२ लालभित्तीस्थित शिक्षा सन्देश म्यानेजमेन्ट कलेजका प्रिन्सिपलले छात्रामाथि यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । एक महिनासम्म ‘गुपचुप’ पारिएको घटना स्थानीयको दबाबपछि बुधबार बाहिर आएको हो ।

शैक्षिक भ्रमणमा काठमाडौँ लगेर प्रिन्सिपल राजेश खत्रीले कक्षा १२ अध्ययनरत १६ वर्षीया ती छात्रामाथि यौन दुर्व्यवहार गरेका थिए । कक्षा १२ को होटल म्यानेजमेन्ट विषयमा अध्ययनरत ३६ जना विद्यार्थीलाई कलेजले प्रति विद्यार्थी नौ हजार रुपैयाँ उठाएर गत चैत ११ गते शैक्षिक भ्रमणका लागि काठमाडौँ लगेको थियो ।

cura insider

नेपाली काङ्ग्रेस बेलबारी नगर समितिका सचिवसमेत रहेका खत्रीले काठमाडौँबाट फर्किएर कलेजमा पुगेपछि पनि पुनः दुर्व्यवहार गर्दै घटना गुपचुप राख्न दबाब दिएका थिए ।

कलेज सञ्चालक समितिका अध्यक्ष लक्ष्मण थापा, उपाध्यक्ष खगेन्द्रप्रसाद न्यौपाने तथा शिक्षकहरू र गाउँकै केही अगुवाको दबाबमा पीडित पक्ष घटना लुकाउन बाध्य भएको स्थानीय बताउँछन् ।

कलेजकै को १ क ३३३७ नम्बरको बसमा लगेर गौशालास्थित होटल मन्दाकिनीमा राख्दै विभिन्न ठाउँमा भ्रमण गराई प्रयोगात्मक अभ्यासमा पनि सहभागी गराइएको विद्यार्थीहरू बताउँछन् । भ्रमणमा कलेजका अनुशासन इन्चार्ज रोशन परियार र सिद्धार्थ घिमिरे विद्यार्थीसँग बसमै काठमाडौँ गए पनि प्रिन्सिपल खत्री भने थिएनन् ।

काठमाडौँमै भेटिएका उनले चैत १३ गते ती छात्रामाथि यौन दुर्व्यवहार गरेका थिए । छात्रासँगै भ्रमणमा गएकी एक साथीका अनुसार दिउँसो स्वयम्भू घुमेर फर्किने क्रममा लडेर ती छात्राको खुट्टामा हिँड्नै नहुने गरी समस्या भएको थियो । त्यसपछि कोठामा एक्लै बसेको अवस्थामा प्रिन्सिपलले दुर्व्यवहार गरेका थिए ।

प्रिन्सिपलले गल्ती स्वीकार गर्दै माफी मागेको अडियो रेकर्ड पनि सार्वजनिक भएको छ । रेकर्डमा छात्रा बसेको कोठामा आफू गएर गल्ती गरेको भन्दै खत्रीले यसलाई ठूलो घटना नबनाइदिन बारम्बार आग्रह गरेको सुन्न सकिन्छ ।

पीडित छात्राले घटना भएकै दिन घुमफिरपछि फर्किएका साथीहरूलाई सबै कुरा सुनाएकी थिइन् । त्यतिबेलै प्रश्न गर्दा प्रिन्सिपल खत्रीले गल्ती भएको भन्दै कुरा बाहिर नल्याउन दबाब दिएको अरू विद्यार्थीले बताए ।

फर्किएपछि पनि घटना दोहोरिएपछि पीडितलाई न्याय दिने भन्दा पनि घटना लुकाएर पीडकलाई उन्मुक्ति दिने काम भएको स्थानीयले बताए ।

भ्रमणमा गएको टोली चैत १५ गते बिहान फर्किएको थियो । त्यसपछि कलेज प्रशासनले बोलाएको छलफलमा पनि खत्रीले उल्टै कोठाभित्र लगेर दुर्व्यवहार गरेको पीडित छात्राका बाबुले बताए । ‘यो कुरा बाहिर अरूलाई सुनाउँदा बद्नाम हुन्छ र उल्टै समस्या पर्छ भन्दै अनुशासन इन्चार्ज परियारले बन्द कोठामा राखेर बारम्बार छोरीलाई धम्क्याए,’ उनले भने, ‘प्रिन्सिपलले चाहिँ बारम्बार खुट्टा ढोगेर माफी मागिरहे ।’

उनले गल्ती स्वीकार गर्दै माफी मागेको अडियो रेकर्ड पनि सार्वजनिक भएको छ । रेकर्डमा छात्रा बसेको कोठामा आफू गएर गल्ती गरेको भन्दै खत्रीले यसलाई ठूलो घटना नबनाइदिन बारम्बार आग्रह गरेको सुन्न सकिन्छ ।

कसैलाई सुनाएमा र कतै उजुरी गरेमा राम्रो नहुने चेतावनीपूर्ण धम्की कलेज प्रशासन, स्थानीय अगुवा र राजनीतिक दलका नेताबाट आइरहँदा आफूहरू झन् अप्ठेरोमा परेको गुनासो उनको छ ।

यसैबीच, सञ्चालक समितिको बैठकले प्रिन्सिपल खत्री र अनुशासन प्रमुख परियारलाई कागज गरेरै बर्खास्त गरेको कलेज प्रशासनले जनाएको छ । शैक्षिक संस्थाको प्रतिष्ठामा आँच आउने गरी नैतिकहीन आचारण देखाएर अनुशासनहीन काम गरेको र उक्त कुरा स्वीकार पनि गरिसकेका कारण प्रिन्सिपल खत्री तथा घटना ढाकछोप गरेको भन्दै अनुशासन प्रमुख परियारलाई बर्खास्त गरिएको कागजमा उल्लेख छ ।

कागजमा सञ्चालक समितिका अध्यक्ष लक्ष्मण थापा, उपाध्यक्ष खगेन्द्रप्रसाद न्यौपाने र सदस्यहरू माधवप्रसाद पोख्रेल, सीताराम न्यौपाने, शिवकुमार रूपाखेती र काउन्सिलर भूपाल बस्नेतको हस्ताक्षर छ ।

छात्रामाथि भएको यौन दुर्व्यवहारलाई बाहिर नल्याउन पीडित परिवारलाई बाध्य पारिएको यस घटनामा वडाध्यक्ष घनश्याम गौतम पनि विवादमा तानिएका छन् । पीडितलाई थप आघात पुर्‍याउने गरी पाँच लाख रुपैयाँ पैसा लिएर घटना सामसुम पारिएको हल्ला फिँजाएको आरोप उनीमाथि छ ।

प्रहरीले ‘किटानी जाहेरी दिनू कारबाही हुन्छ,’ भनेपछि फर्किएर घरतिर गएको पीडित परिवारलाई घटना मिलाउन खोज्नेहरूले फेरि प्रहरी कार्यालयमा जान दिएका छैनन् ।

यही विषयलाई लिएर बुधबार पीडित परिवार र स्थानीय बासिन्दाले वडा कार्यालय घेराउ गरिरहँदा र छलफल चलिरहँदा वडा कार्यालय छिरेका एमाले बेलबारीका नेता इरान राईले वडाध्यक्ष गौतमलाई भने लिएर गएका थिए । पैसा लिएको प्रमाणित गर्न चुनौती दिएर पीडित पक्ष र महिला अधिकारकर्मीहरू वडा कार्यालय पुगेपछि वडाध्यक्ष गौतमले आफूले गल्ती कुरा बोलेको भन्दै पटक–पटक माफी मागेका थिए ।

घटनाका बारेमा अध्यक्ष थापाले केही बोल्न मानेनन् । काउन्सिलर भूपाल बस्नेतले भने घटना मिलाइसकिएको बताए ।

स्थानीय पत्रकार भक्तशेर लिम्बू पीडित परिवारको सोझोपनको फाइदा उठाउँदै गलत हर्कत गर्ने प्रिन्सिपललाई बचाउने खेल भइरहेको बताउँछन् ।

पीडित परिवार न्याय माग्दै र प्रिन्सिपल तथा घटना ढाकछोप गर्नेलाई कारबाही गर्न माग गर्दै बुधबार इलाका प्रहरी कार्यालय बेलबारी पुगेको थियो । प्रहरीले ‘किटानी जाहेरी दिनू कारबाही हुन्छ,’ भनेपछि फर्किएर घरतिर गएको पीडित परिवारलाई घटना मिलाउन खोज्नेहरूले फेरि प्रहरी कार्यालयमा जान दिएका छैनन् । बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले घटनाका बारेमा कुनै जानकारी नआएको बताए ।

jackson ribon