birat ribon

विराटनगरमा सङ्क्रमणको दर बढ्दो, सावधानी शून्य

सावधानी नअपनाए अवस्था जटिल बन्न सक्ने

Neuro
विराटनगरमा सङ्क्रमणको दर बढ्दो, सावधानी शून्यसावधानी नअपनाए अवस्था जटिल बन्न सक्ने

मोहन ढकाल

विराटनगर / नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्न थालेको छ । छिमेकी देश भारतमा सङ्क्रमण फैलन थालेपछि नेपालमा पनि दिनहुँ सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो । तर सङ्क्रमण दिनहुँ बढ्दै गर्दा स्वास्थ्य सावधानीमा भने ध्यान जान सकेको छैन ।

cura insider

सरकारले नयाँ भेरियन्टसहितको कारोना नियन्त्रण गर्न भन्दै सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको थियो । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्देशन दिएको भए पनि विराटनगरका कतिपय विद्यालय सञ्चालन भइरहेका छन् ।

यस्तै मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायातमा यात्रु र चालक, सह–चालकले अनिवार्य मास्क लगाउन निर्देशन दिएको छ । यस्तै सिट क्षमताभन्दा बढी यात्रु नचढाउन र सेनिटाइजरको व्यवस्था अनिवार्य गर्न निर्देशन दिएको छ । तर, कार्यान्वयन भने हुन सकेको छैन ।

यस्तै मन्त्रिपरिषद् बैठकले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला नहुन पनि निर्देशन दिएको छ । तर, कार्यान्वयन पक्ष फितलो देखिन्छ । विराटनगरमा दिनहुँ विभिन्न कार्यक्रमहरू भइरहेका छन् । जहाँ २५ जनाभन्दा बढी भेला हुनुका साथै स्वास्थ्य सावधानीसमेत अपनाएको पाइँदैन । नियाम कनिकाय र सर्वसाधारणलाई सु–सूचित गराउने पक्षले नै यसको उल्लङ्घन गरिरहेका छन् ।

सरकारले विराटनगर महानगरपालिकालाई पनि कोरोना सङ्क्रमणको उच्च जोखिममा राखेको छ । भारतसँग सीमा जोडिएको विराटनगरको रानीबाट खुला सिमानाको प्रयोग गर्दै दैनिक आवतजावत गर्नेको भिड रोकिन सकेको छैन ।

यसैगरी सरकारले सार्वजनिक यातायातमा अनिवार्य मास्कको प्रयोग गर्ने र क्षमताभन्दा बढी यात्रु नचढाउने भन्ने निर्देशन दिए पनि लागू भने भएको छैन । विराटनगर बसपार्कबाट चल्ने सार्वजनिक यातायातका चालक, सह–चालकले मास्कको प्रयोग नै गरेको पाइँदैन । यस्तै यात्रुलाई पनि मास्कको प्रयोग अनिवार्य गरिएको छैन । मास्कबिना नै यात्रुलाई गाडीमा प्रवेश दिएको छ । विराटनगर बसपार्कमा भएको हात धुने ठाउँमा साबुनको व्यवस्था छैन । गाडीमा सेनिटाइजरको प्रयोग गरेको देखिँदैन ।

सरकारले विराटनगर महानगरपालिकालाई पनि कोरोना सङ्क्रमणको उच्च जोखिममा राखेको छ । भारतसँग सीमा जोडिएको विराटनगरको रानीबाट खुला सिमानाको प्रयोग गर्दै दैनिक आवतजावत गर्नेको भिड रोकिन सकेको छैन ।

विराटनगर बसपार्कमा लामो समयदेखि हात हुने स्थानमा साबुनको व्यवस्था नभएको गुनासो यात्रुले पनि गर्ने गरेका छन् । यस्तै नाम नखुलाउने सर्तमा एक जना चालकले पनि धेरै पहिलादेखि नै साबुन नभएको बताए । तर बसपार्क व्यवस्थापन समितिका अध्यक्ष पदमकुमार श्रेष्ठले भने साबुनपानीको व्यवस्था भएको बताए । उनले भने, ‘अहिले सेनिटाइजरको व्यवस्था गरेको छैन, तर यात्रुका लागि हात धुन साबुनपानीको व्यवस्था गरेका छौँ, कहिलेकाहीँ साबुन नभएको हुनसक्छ, हामीले साबुन उपलब्ध गराएका छौँ ।’ यात्रुलाई अनिवार्य मास्क लगाउन माइकिङ गरिरहेको बताउँदै उनले भने, ‘सङ्क्रमणको जोखिम थप बढेको अवस्थामा गाडीमा सेनिटाइजरको व्यवस्था पनि गछौँ ।’

विराटनगरका सरकारी कार्यालयदेखि अस्पतालसम्म अत्यधिक भिडभाड हुने गरेको छ । तर, स्वास्थ्य सावधानीमा ध्यान दिएको पाइँदैन । विराटनगरको कोसी अस्पतालमा उपचार गराउन आउने मानिसहरूको भिड अत्यधिक भए पनि स्वास्थ्य सावधानीमा ध्यान दिएको पाइँदैन । कोसी अस्पतालका अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले कोरोनाको जोखिमलाई मध्यनजर गरेर टोकनको व्यवस्था मिलाएको बताए । उनले भने, ‘टोकन प्रणाली लागू गरेर हामीले जोखिमलाई कम गर्न खाजेका छौँ, तर सेवाग्राही खचाखच लाइनमा बसेकै हुन्छन् ।’

उनले हरेक व्यक्तिले मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने सोचेर जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताए । उनले भने, ‘मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, साबुनपानीले बारम्बार हात धुने प्रत्येक व्यक्तिको जिम्मेवारी हो ।’

‘सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना नगरी सभासम्मेलन, मेला र भिडभाड बढिरहेको छ,’ दासले भने, ‘यसबाट थप जोखिम बढेको छ, सरकारले जारी गरेको मापदण्ड सबैले पालना गर्न आवश्यक छ, लापरवाही गरेको खण्डमा अवस्था नियन्त्रणभन्दा बाहिर जान सक्छ ।’ कोसी अस्पतालले परीक्षण गरेको एक हजार एक सय ७५ नमुनामा चैतदेखि वैशाख ८ गते बुधबारसम्म एक सय ३६ जनामा सङ्क्रमण देखिएको दासले बताए । उनले भने, ‘चैतमा जम्मा ४२ जनामा सङ्क्रमण देखिएको थियो । तर, अहिले आठ दिनमा ९४ जनामा सङ्क्रमण देखिएको छ ।’

सरकारले जारी गरेको मापदण्ड सबैले पालना गर्न आवश्यक छ, लापरवाही गरेको खण्डमा अवस्था नियन्त्रणभन्दा बाहिर जान सक्छ ।

उनले भारतबाट आएका नागरिकहरूले अनिवार्य होम क्वारेन्टाइनमा १० दिन बस्नुपर्ने बताए । जसबाट घरपरिवार र समाजमा सङ्क्रमण फैलने सम्भावना कम हुने उनको भनाइ छ । यस्तै स्वाब दिएपछि रिपोर्ट नआएसम्म घरबाट बाहिर ननिक्लनसमेत उनले सुझाव दिएका छन् ।

विराटनगरमा धेरै भिडभाड हुने स्थानमा स्वास्थ्य सावधानीमा कडाइ गर्न प्रशासन कार्यालयले पनि चासो देखाएको छैन् । विराटनगरमा बुधबार मात्रै ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै मङ्गलबार विराटनगरमा १६ महिला र ३१ पुरुषसहित ४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यता जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सरकारले तोकेको मापदण्ड पालना भइरहेको बताएका छन् । उनले भने, ‘सरकारले भनेअनुसार नै शैक्षिक संस्था बन्द गरिएको छ, विराटनगरमा शैक्षिक संस्था खुलेका छैनन्, भिडभाड हुने स्थानमा कडाइ गरिएको छ ।’ तर सम्बन्धित व्यक्तिहरू र सर्वसाधरणलाई सु–सूचित गराउने व्यक्तिहरूले नै सरकारले जारी गरेको मापदण्डको पालना नगरेको उनले बताए । उनले भने, ‘हामीले जोखिमलाई मध्यनजर गरेर कडाइ गर्दैछौँ ।’

jackson ribon