birat ribon

पहिलो पटक ग्यास्ट्रिकको लक्षण देखिएमा रोकथाम गर्ने केही औषधि

Neuro
पहिलो पटक ग्यास्ट्रिकको लक्षण देखिएमा रोकथाम गर्ने केही औषधि

विराटनगर / ग्यास्ट्रिकको समस्याले सताएमा सामान्यता औषधि पसलमा गएर ग्यास्ट्रिको औषधि मागेर सेवन गर्ने चलन छ ।

यस्ता औषधिले पेटमा भएको एसिडको मात्रा घटाउने हुँदा तत्काल ग्यास्ट्रिक निको भएकोजस्तो महसुस हुनसक्छ । तर, एकपटक औषधि खान छोडेपछि पुनः समस्या दोहोरिएर बल्झिने हुनसक्छ । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका ग्यास्ट्रिक तथा कलेजो रोग विशेषज्ञ डा. मोहन खड्का ग्यास्ट्रिक व्याक्टेरिया (हेलिकोब्याक्टर पाइलर) वा अन्य कुन कारणले गर्दा भएको हो भनेर पत्ता लगाउनका लागि अस्पताल आएर जँचाउन जरुरी हुने बताउँछन् ।

cura insider

धेरैजसो ग्यास्ट्रिक भएका मानिसले घरेलु उपचारको पनि प्रयोग गरिरहेको पाइन्छ । तर, खानपानबाहेक ब्याक्टेरिया वा अन्य रोगका कारण भएको ग्यास्ट्रिकलाई घरेलु उपचारले निको पार्न सकिँदैन । अन्तर्राष्ट्रिय नियमअनुसार डाक्टरहरूलाई ग्यास्ट्राइटिसको उपचारका लागि गाइडलाइन बनाइएको छ । जसमा १५ वर्षदेखि ५० वर्षसम्मका मानिस तथा युवा उमेर समूहमा पहिलो पटक ग्यास्ट्रिकको लक्षण देखिएमा तुरुन्त अस्पातल आउन जरुरी पर्दैन ।

यिनीहरूको रोग प्रतिरोधात्मक क्षमता बलियो हुने भएकाले ग्यास्ट्रिक भएमा डाइजिन, एन्टाजिनलगायतका औषधि तीनदेखि चार दिन खाएर हेर्न सकिन्छ । यसले पनि ठिक नगरेमा डाक्टरको सल्लाहमा पाँचदेखि सात दिन एसिलग, रेनिटिटिनलगायत कम पावरका औषधिको सेवन गर्न सकिन्छ । त्यसपछि पनि ग्यास्ट्रिकले सताइरहेमा एसिडलाई तत्काल नियन्त्रणमा ल्याउनसक्ने अलिक धेरै पावर वा कडाखालका औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । यस अवस्थामा प्यान्ट्रोप्राजोल, र्‍याभिप्राजोल, एसिमाप्राजोललगायतका औषधि दिनको एउटा वा ग्यास्ट्रिकले धेरै सताएका मानिसले दिनको दुईटा सातदेखि दस दिनका लागि खाएर हेर्न सकिन्छ ।

यसले पनि ठिक नभएको वा केही समय ठिक भएर समस्या पुनः दोहोरिएमा के कारणले ग्यास्ट्रिक भएको पत्ता लगाउन तुरुन्त अस्पताल गई जाँच गराउन जरुरी हुन्छ । तर, ५० वर्षभन्दा माथिका मानिसमा पहिलो पटक ग्यास्ट्रिकको लक्षण देखिएमा कुनै पनि औषधिको सेवन गर्नुभन्दा पनि तुरुन्त अस्पाताल गई इन्डोस्कपी गराउन जरुरी हुन्छ ।

उमेर पुगेका मानिसमा रोग प्रतिरोधात्मक क्षमता पनि कम हुने र क्यान्सरका कारण ग्यास्ट्रिक हुने सम्भावना अधिक हुने हुँदा औषधिको सेवन गर्नु उचित नहुन सक्छ । ग्यास्ट्रिकको समस्या भइरहे यसले अल्सर निम्त्याउने हुन्छ । र, लामो समयसम्म यसको उपचार नगरेको खण्डमा सामान्य सोचिएको ग्यास्ट्रिकले पेटको, सानो आन्द्रा वा ठूलो आन्द्राको क्यान्सरसमेत निम्त्याउन सक्ने हुँदा समयमा यसको उपचार गर्नु जरुरी हुन्छ ।

jackson ribon