birat ribon

सबैका दाइ – हर्ष दाइ !

Neuro
सबैका दाइ – हर्ष दाइ !

हिक्मत थापा

उहिले धरानका बूढाहरूसँग धरानका ठिटाहरूको गुनासो हुन्थ्यो … र गुनासो गर्नेमा हुन्थे एक, जो प्रष्ट लेखनका मानक थिए । लमतन्न परेको छाताचोक पश्चिमतिर चतरालाइनको विद्रोही चेतको पुञ्ज बनेको एउटा छापाखाना थियो, जहाँ पूर्व टाइम्स पत्रिका छापिन्थ्यो, जसले पूर्व नेपालभरि लोकतन्त्रका पक्षमा क्रान्तिको धिपधिपे दियो बालिरहन्थ्यो । त्यसैका कार्यकारी सम्पादक थिए, चिम्सा आँखा भएका, शरीरले केही होचा तर विचारले अग्ला, सबैका दाइ – हर्ष सुब्बा । कविता लेखिरहन्थे, सरल । आफ्ना समाचारजस्तै सरल । तर दिव्य क्रान्ति र विशिष्ट काव्यचेत बोकेका ।
कविका दाइ । पत्रकारका दाइ । नाट्यकर्मीका दाइ । समाजसेवीका दाइ । सबैका आड–भरोसा र ठोक्किने दाइ । समय कहाँ पुग्यो, सबै कहाँ पुगे ?
धरानमा लक्ष्मीसडकका कविता, संकल्पहरू छापिने ती दिनहरू काव्यिक उत्कर्षको बेला थियो ।
उति बेला सुदूर–पूर्वबाट काठमाडौँलाई धक्का दिने कवि र पत्रकार अहिले भने पूर्व–दीप्तिमा स्थिर भएर रमिते बनेको प्रतीत हुन्छन् । लामो युग पत्रकारितासँगै माथि विजयपुरमा बूढासुब्बा एकछत्र बिसाए झैँ तल धरानको गडतीरमा एउटा अर्को बूढासुब्बा भएर त्यसरी नै बिसाएका छन्, धरानको युगिन चेतको थातथलो र डायस्पोराका मन–मुटुमा राज गरिरहेर ।
खोइ, आजकाल यी आफैँ धरानका बूढाहरूलाई गुनासो गर्छन कि गर्दैनन् ?

धरानका बूढाहरू
– हर्ष सुब्बा

cura insider

बूढाहरू
धरानका
तरुनी–तन्नेरी देख्दा
छक्क पर्छन्

चुपचाप छन्
हेर्छन्
अरू
के पो गर्न सक्छन् ?

कथा सुनाउँछन्
कथा सुनाउनमात्र सक्छन्
बूढाहरू
धरानका
आफ्नो कथा
आफैँलाई सुनाउछन्

बितेको बैँसलाई
स्यावासी दिन्छन् ।

धरानका
बूढाहरूसँग
धरानका
ठिटाहरूको गुनासो छ
कि
धरानमा
बूढाहरू छैनन्
जो छन्
रङ्ग–ढङ्गका छैनन्
बूढा भन्नु लायकका छैनन् ।

धरानको
ढङ्ग सप्रिदैन
भन्छन्,
बूढाहरू
धरानका
भन्नु मात्र सक्छन्
भन्नु त
धेरै थोक भन्छन्
तर
कसले कहाँ सुन्छन् ?
सुन्दैनन्
कसैले नसुन्दा
धरानका
बूढाहरू
धरानका बूढाहरूलाई
अर्ती–उपदेश दिन्छन् ।

जमाना खराब छ
आजकाल
ठिटाहरूले
बूढाहरूलाई सराप्छन् ।

२०४६ असार ९
‘गरिमा’मा प्रकाशित कविता

jackson ribon