birat ribon

विश्व पृथ्वी दिवस आज

Neuro
विश्व पृथ्वी दिवस आज

विराटनगर / आज (बिहीबार) विश्व पृथ्वी दिवस परेको छ । पृथ्वीलाई आमाको रूपमा मानेको सर्वव्यापी धरातलमा विश्वभरि नै महत्वकासाथ प्रत्येक वर्ष अप्रिल २२ मा यो दिवस मनाउने गरिन्छ ।

‘पृथ्वीलाई पुर्नस्थापित गरौं’ भन्ने मूल नाराका साथमा नेपालसहित विश्वका विभिन्न एक सय ९३ भन्दा बढी मुलुकले यो दिवस विविध कार्यक्रम गरेर मनाउँदै छन् । सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो । पृथ्वीको पर्यावरणका बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न यो दिवस मनाउने गरिन्छ ।

cura insider

सन् १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रुपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा भएको पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पु¥याएको थियो ।

सन् २००९ मा राष्ट्रसंघको ६३ औं महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ । पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनिकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने गरिएको हो ।

सनातन धर्म र प्राचीन विज्ञानमा पञ्च तत्वको वरिपरि मानवीय चेतनाको व्याख्या गरिएको पाइन्छ, ‘पृथ्वी, जल, अग्नि, वायु अनि आकाश ।’ यी पाँच तत्वको कारण भएको मानिसको उपस्थितिलाई सर्वमान्य रूपमा आजको विज्ञान र प्राचीन खोजहरूले धार्मिक र सांस्कृतिक रूपमा मानेको छ ।

कोरोनात्रासपछि सामान्य अवस्थामा फर्किरहेको पृथ्वीमा धेरै वस्तुस्थिति अझै पूर्ववतः अवस्थामा आइरहेका छैनन् । यस्तो बेला पृथ्वीको प्रदूषण कम गर्दै स्वच्छ अनि हराभरा पृथ्वीको महत्वकांक्षी योजना पूरा गर्न विश्व समुदाय तल्लीन छ । २० औं सताब्दीयता पृथ्वीको बढ्दो तापमान अर्को ठूलो चुनौति हो । वर्षेनी शून्य दशमलव १८ डिग्री सेन्टिग्रेटका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित वरफका चुचुराहरू पग्लिँदै गएका छन् ।

सूर्यबाट आउने परावैजनी किरण रोक्ने ओजन तहको नास, डर लाग्दा आँधी तुफान र सुनामी जस्ता प्राकृतिक विपत्का घटनामा वृद्धि भइरहेका छन् । यी सबै कुराका लागि अन्य कोही नभएर स्वयं मानिस नै जिम्मेवार छन् ।

पृथ्वी दिवसका अवसरमा नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिँदैछ । नेपालमा पर्यावरण एवं वातावरण संरक्षणका क्षेत्रमा कार्यरत सामाजिक संघ–संस्थाहरूले पृथ्वी दिवसका अवसरमा विविध कार्यक्रम गर्दै आएका छन् । पृथ्वी दिवसका दिन विभिन्न कलेज र विद्यालयका विद्यार्थीहरूले पृथ्वीमा भइरहेको बढ्दो प्रदूषणविरुद्ध चेतनामूलक र्यालीको आयोजना गर्छन् ।

प्रविधि र व्यस्तताका बाबजुद पनि प्रकृतिमा रमाउँदै रुख रोप्ने, हरियाली बढाउने, साइकल चलाउने र सकेसम्म पुर्नप्रयोग गर्न मिल्ने उर्जाको प्रयोग, प्लाष्टिकको कम प्रयोग अनि वातावरणीय संरक्षणको ज्ञान आजको आवश्यकता हो ।

jackson ribon