birat ribon

सडक नै छेकेर थुपारिन्छ निर्माण सामग्री, स्थानीय निकाय मूकदर्शक

Neuro
सडक नै छेकेर थुपारिन्छ निर्माण सामग्री, स्थानीय निकाय मूकदर्शक

मेनुका काेइराला

काठमाडौँ/ काठमाडौँको साँखुबाट सुन्धारा आउने सडकको अवस्था भद्रगोल छ । वर्षौंअघि सुरु भएको चाबहिल–जोरपाटी सडकखण्ड विस्तार अझै सकिएको छैन । सडक विस्तार आयोजना र निर्माण कम्पनीबीच भएको सम्झौताअनुसार सो सडकखण्ड २०७४ फागुनसम्ममा विस्तार भइसक्नुपर्ने हो । 

cura insider

निर्माण गर्नुपर्ने म्याद कटेको पनि वर्षौं भइसक्यो । कतैकतै सडक बने पनि धेरैजसो स्थानमा सडकको अवस्था नाजुक छ । एक वर्षअगाडि कालोपत्रे गरिएको सडकमा खाडल परिसकेका छन् ।

बर्खामा हिलाम्य र गर्मीमा धुलाम्य हुने यो सडक हुँदै आवतजावत गर्नेहरूको एउटै बोली हुन्छ– खै यो बाटो पनि कहिल्यै नबन्ने भो । सडकमा गुड्ने सवारीसाधानले मात्र नभई पैदलयात्री र स्थानीयबासीले समेत समस्या झेलिरहेका छन् । 

नबनेको सडकमा त बिजोग थियो नै, बनेको बाटो पनि मेलम्चीको पानी वितरणको नाममा भत्काइयो । मेलम्चीको पानी वितरण गर्ने भनेर बाटो खने पनि स्थानीयका घरमा हप्तामा एकपटक पनि पानी आउँदैन ।

सो सडकखण्डमा सडक खनेर तुरुन्तै कालोपत्रे पनि गरिँदै छ । तर कालोपत्रे गर्दा पूरा गर्नुपर्ने मापदण्ड भने पुर्‍याएको देखिँदैन । खनेको माटोमाथि रातारात गरिएको कालोपत्रे एक महिना पनि नपुग्दै उप्किन्छ । जनताले तिरेको करको पैसा यसरी रातारात सडकमा खन्याएर बनाइएको कालोपत्रे कति दिन टिक्छ, त्यसको जवाफ कसैसँग छैन । यो समस्याबारे न सङ्घीय सरकार बोल्छ, न त सम्बन्धित स्थानीय सरकार नै ।

सडक नबन्ने, बनेको पनि गुणस्तरहीन हुने समस्या त छँदै छ । सँगै सडक किनारका घरधनीले सडक नै थुनेर निर्माण सामग्री राख्ने क्रम पनि बढ्दो छ । सडक अव्यवस्थित देखिएकै कारण स्थानीइ निकायले निर्माण सामग्री ओसारपसार गर्न र सडकबाट हटाउन बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म समय तोकेको छ ।

कतै बाटोमा निर्माण सामग्री भद्रगोल तरिकाले राखिएको पाइएमा सम्बन्धित नगर अथवा वडाले कारबाही गर्ने प्रावधान पनि छ ।

तर, काठमाडौँका सडकको अवस्था हेर्दा कानुन जति सबै कागजमै सीमित भइरहेको भान हुन्छ । न त निमय मिच्नेहरू कारबाहीमा परेका छन्, न त यस विषयमा अनुगमन नै गरिएको छ । 

गोकर्णेश्वर नगरपालिकाको मुख्य बाटोमा प्राय निर्माण सामग्री बाटोमै राखिएको हुन्छ । यसै पनि यहाँको सडकको अवस्था नाजुक छ, सँगै बाटोमा निर्माण सामग्री थुपारिएपछि सडकयात्री र सडकमा गुड्ने सवारी साधनले पनि सास्ती खेप्नुपरेको छ ।

माकलबारीस्थित सडकपेटीमै निर्माण सामग्री राखिएका कारण सवारी जाम दिनानुदिन बढ्दो छ । सडकमा हिँड्नै पनि असहज हुन्छ । कतै इट्टा फालिएको छ त कतै बालुवा थुपारिएको छ । त्यही बाटोमा दर्जनौँ निर्माण सामग्री बोकेका गाडीहरू दिनकै समयमा गुडिरहेका छन् ।

तर, यसको निगरानी न ट्राफिक प्रहरीले गर्छ, न त नगरपालिकाले । बाटोमा निर्माण सामग्री नराख भन्ने जिम्मा आफ्नो नभएको ट्राफिक प्रहरीको भनाइ छ । सडकमा खटिएका ट्राफिक प्रहरीहरू भन्छन्, ‘यो सबै नगरपालिकाले हेर्नुपर्ने हो, तर उनीहरूले नै बेवास्ता गरिरहेका छन् ।’

दिउँसोकै समयमा सडकमा निर्माणका सामान झारिरहँदा पनि बाटोमा खटिएका ट्राफिक प्रहरी निरीह भएर हेरिरहेका छन् । यस विषयमा सम्बन्धित नगरपालिकाले अनुगमन गरेर नियन्त्रण गर्नुपर्नेमा मौनता साँधिरहेको छ । यसको प्रत्यक्ष मार सडक प्रयोग गर्ने र स्थानीयबासीमा परिरहेको छ ।  

बाटोमा सामान राखेकै कारण सवारी जाम भएर समयमा गन्तव्यमा पुग्दैनन्– जनता । समस्या सुल्झाउनुको साटो यस्ता समस्याहरू झिनामसिना भएको बताउँछ नगरपालिका । 
नगर प्रमुख सन्तोष चालिसे भन्छन्, ‘हामीले अनुगमन नगरेका होइनौँ । कतिपय स्थानमा घरधनीले सामान राख्ने स्थान भएन भनेर हामीसँग गुनासो गर्छन् । त्यसैले सडक अगाडि सामान राखिएको हामीले देखे पनि बेवास्ता गर्नुपरेको छ ।’

सडक अवरुद्ध हुने गरी सामान राख्नु नहुने कुरामा आफूहरू सचेत भएको बताउँदै उनी भन्छन्, ‘हामी पनि बाध्य छौँ । नियम मिचिएको देखे पनि बेवास्ता गर्नुको विकल्प छैन ।’

चालिसेका अनुसार नगरपालिकाले निर्माण सामग्री बोकेका ठूला सवारीलाई पनि रोक लगाउन सकेको छैन । ‘हामीले रोक्न खोज्दा उनीहरू मान्दैनन्’, उनी भन्छन्, ‘जनता आफैँ सचेत छैनन्, जसका कारण यस्ता क्रियाकलापमा रोक लगाउन सकिएको छैन ।’

यो समस्या गोकर्णेश्वर नगरपालिकाको मात्रै होइन । काठमाडौँ महानगरपालिकाभित्र पनि यस्ता घटना यत्रतत्र देखिन्छन् ।

यस्तै क्षेत्रमा पर्छ काठमाडौँको बौद्ध क्षेत्र । यसै पनि सधैँजसो अस्तव्यस्त देखिने बौद्ध सडकमा पैदलयात्रीदेखि गाडीको चाप पनि उत्तिकै हुने गर्छ । यही सडकको छेउमा घर पुनर्निर्माणका लागि निर्माण सामग्री राखिएको छ । जसले गर्दा पैदलयात्री र सवारी चालकलाई असहज भएको छ ।

यसरी सडक छेउमा निर्माण सामग्री राखिएको करिब २ महिना बितिसकेको स्थानीयबासी लाक्पा शेर्पाले बताए । उनी भन्छन्, ‘महानगरले वेवास्ता गरिरहेको छ । पावर र पहँुचवालाहरूले जे गर्दा पनि सरकारले हो मा हो मिलाउँछ । कारबाही गर्दैन ।’ 

काठमाडौँ महानगरपालिकाका सहरी पूर्वाधार विकास प्रमुख रामबहादुर थापा भन्छन्, ‘यो समस्या सहरभरि उत्तिकै छ । हामीले अनुगमन र कारबाही नगरेका होइनौँ । तर मानिसहरू अटेरी गरिरहेका छन् ।’

उनका अनुसार सडक अवरुद्ध गरेर निर्माण सामग्री राखिएको थाहा भएमा महानगरले गाडी लगेर निर्माण सामग्री उठाएर ल्याउने गरेको छ । ‘महानगरसँग सडकका सबै सामान उठाएर ल्याएर राख्ने ठाउँ पनि छैन’, उनी भन्छन्, ‘उठाएर ल्याएका सामान यसै खेर जान्छ । त्यसैले हामी सकेसम्म घरधनीलाई सम्झाउने कोसिस गर्छौँ । तर, उनीहरूले नियम पालना गरेको देखिँदैन ।’

कानुन नै फितलो

सार्वजनिक सडकमा निर्माण सामग्री राखेर अवरोध पुर्‍याउने व्यक्तिलाई कारबाही गर्ने कानुनको अभावमा सडक अवरोधको क्रम बढेको देखिएको छ । 

सार्वजनिक सडक ऐन २०३१ मा सडकको आवागमनमा बाधा पुर्‍याउने माल वस्तु हटाउने अधिकार उल्लेख गरिएको छ, जहाँ– सडक अवरोध गर्ने सामान हटाउन समय तोकी आदेश गर्ने भनिएको छ । यसबाहेक नियमविपरीत सामान राख्नेलाई कुनै कारबाहीको प्रावधान राखेको पाइँदैन ।

‘कसैले सार्वजनिक सडकमा कुनै माल वस्तु छोडेको, राखेको वा फालेको कारणबाट त्यस्तो सडकको आवागमनलाई कुनै किसिमले बाधा पुर्‍याएको भए’, ऐनमा भनिएको छ, ‘त्यस्तो माल वस्तु हटाउनको निमित्त मुनासिव माफिकको अवधि तोकी सरोकारवाला व्यक्तिको नाउँमा सट्टा ‘सडक विभाग, सम्बन्धित प्रदेश सरकार, गाउँपालिका वा नगरपालिका’ आदेश जारी गर्न सक्ने छ ।’

साथै सोही ऐनको अर्को उपदफामा भनिएको छ, ‘जारी भएको आदेशको अवधिभित्र नहटाएको वा धनी पत्ता नलागेको माल वस्तुलाई सट्टा ‘सडक विभाग, सम्बन्धित प्रदेश सरकार, गाउँपालिका वा नगरपालिका’ सडकको छेउ लगाई राख्न वा आफ्ना कब्जामा राख्ने गरी अन्यत्र लैजान सक्ने छ ।’

ऐनमा भएको यही कमजोर कारबाहीको व्यवस्थाका कारण पनि सडकमा निर्माण सामग्री राखेर अवरोध गर्ने क्रम बढिरहेको देखिन्छ । यसका लागि सार्वजनिक सडकको आवागमनमा अवरोध पुग्ने गरी गरिएका कुनै पनि क्रियाकलापमाथि कडा कारबाही गर्ने प्रावधान राख्नु अत्यावश्यक छ । 

jackson ribon