birat ribon

शरीरमा अक्सिजनको मात्रा कम हुँदा देखिने लक्षण

Neuro
शरीरमा अक्सिजनको मात्रा कम हुँदा देखिने लक्षण

विराटनगर / कोरोना भाइरसको गम्भीर सङ्क्रमण हुँदा सास फेर्न गाह्रो हुने, शरीरमा अक्सिजनको मात्रा घट्ने हुनसक्छ ।

नेपालमा पनि तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिरहँदा अस्पतालमा आइसियू र भेन्टिलेटर आवश्यक पर्ने बिरामीहरू भरिन थालेका छन् । यतिबेला अक्सिजन चाहिने बिरामीको सङ्ख्या पनि बढ्दो छ । शरीरमा कति मात्रामा अक्सिजन चाहिन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । एक व्यक्तिको रगतमा अक्सिजन स्तर भनेको शरीरमा फोक्सोबाट कोशिकामा अक्सिजन वितरण कत्तिको भइरहेको छ भन्ने सूचक हो ।

cura insider

र, अक्सिजनको मात्रा कम हुँदा शरीरलाई कोष, टिस्यु तथा अङ्गमा अक्सिजन पुर्‍याउन गाह्रो भइरहेको हुनसक्छ । प्रायः स्वस्थ व्यक्तिमा अक्सिमिटरको माध्यमबाट व्यक्तिको शरीरमा अक्सिजनको लेवल जाँच गर्दा सामान्य अक्सिजनको स्तर ९५ प्रतिशत वा सोभन्दा बढी हुन्छ । तर, अक्सिजनको मात्रा ९० प्रतिशत वा सोभन्दा तल भएको खण्डमा तुरून्त डाक्टरसँग सल्लाह लिनुपर्छ र बिरामीको अवस्थाअनुसार आवश्यक परे अक्सिजनसमेत लगाउनुपर्ने हुन्छ ।

रगतमा अक्सिजनको स्तर एक स्वस्थ व्यक्तिको औसत स्तरको तुलनामा धेरै कम हुँदा यसलाई हाइपोक्सेमिया भनिन्छ । विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टी स्पेसालिटी हस्पिटलका मेडिकल अफिसर तथा जनरल फिजिसियन डा. एमएस अन्सारीका अनुसार कोभिडका बिरामी सबैलाई अक्सिजन चाहिन्छ भन्ने पनि हुँदैन । धेरैजसो सङ्क्रमितमा निमोनिया देखिएमा, सास फेर्न गाह्रो भएमा अक्सिजको स्तर कम हुने हुन्छ ।

बिरामीमा अक्सिजनको मात्रा कम हुँदा केही न केही सङ्केत देखिन्छ । शरीरमा अक्सिजनको मात्रा कम हुँदा सास बढ्ने, सास फेर्न गाह्रो हुने, अफ्ठ्यारो हुने, स्वाँस्वाँ हुने, मुटुको चाल बढ्ने, छाती दुख्ने, कमजोरी हुने, रिँगटा लाग्नेलगायतका सङ्केत देखिन सक्छ । सङ्क्रमणका कारण सास फेर्न समस्या देखिएपछि वा माथिको कुनै लक्षण देखिए सङ्क्रमितलाई तुरुन्तै अस्पताल पुर्‍याउनु पर्ने हुन्छ ।

होम आइसोलेसन बसेका सङ्क्रमितले अक्सिजनको गति नाप्न बजारबाट सजिलै पल्स अक्सिमिटर किन्न सक्छन् । अन्यको तुलनामा वृद्ध, मधुमेह, रक्तचाप, किड्नीको समस्या, मुटुको समस्या, दम, क्षयरोग तथा पहिलादेखि नै श्वासप्रश्वासमा समस्या भएका बिरामीमा अक्सिजनको स्तर घट्ने सम्भावना धेरै रहन्छ ।

jackson ribon