birat ribon

क्षयरोगबाहेक अन्य कारणले पनि कफमा रगत देखिने

Neuro
क्षयरोगबाहेक अन्य कारणले पनि कफमा रगत देखिने

विराटनगर / कुनै व्यक्तिले खोक्दा वा थुक्दा थुक वा कफमा रगत देखिए यसलाई प्रायः क्षयरोगको सङ्केत मानिन्छ ।

तर, कफमा रगत देखिनु केवल क्षयरोगको मात्र नभई अन्य कारणले गर्दा पनि भएको हुन सक्छ । क्षयरोगबाहेक श्वासनलीमा भएको समस्या, क्यान्सरलगायतका कारण पनि कफमा रगत देखिन सक्छ । फोक्सो तथा फोक्सोसँग सम्बन्धित अङ्गहरूमा भएको समस्याका कारण मुखबाट रगत आएमा त्यसलाई हेमोप्टाइसिस भनिन्छ ।

cura insider

लामो समयसम्म वा लगातार खोकी लागिरहेमा, क्षयरोग, ब्रोन्काइटिस, ब्रोङ्कियाक्ट्यासिस, श्वासप्रश्वासको नली फुट्दा, सिओपिडी, निमोनिया, फोक्सोमा रगत जेमेमा, घाँटीको क्यान्सर, फोक्सोको क्यान्सर भएमा, सिस्टिक फाइब्रोसिस वा फोक्सोको भित्री सतह कमजोर हुँदा, भित्री चोटपटक लागेमा खकारमा रगत देखिन सक्छ ।

कफमा रगत देखिनुका पछाडि अनेक कारण हुने हुँदा लक्षण पनि सोही कारणअनुसार देखिनसक्छ । कफमा रगत देखिनुका साथै छाती दुख्ने, कमजोरी हुने, सास फेर्न गाह्रो हुने, स्याँस्याँ हुने वा छिटोछिटो सास फेर्ने, दृष्टि तिर्मिराउने, मुटुको चाल बढ्ने जस्ता लक्षण देखिनुका साथै धेरै रगत निस्किएमा मानिस बेहोससमेत हुनसक्छ ।

खोक्दा वा थुक्दा थुक वा कफमा रगत पेट वा पाचन प्रणालीबाट पनि आउन सक्छ । पाचन प्रणालीसँग सम्बन्धित भएर रगत आउने समस्यालाई हेमाटिमेसिस भनिन्छ । यो घातक रोगको सङ्केतसमेत हुनसक्ने हुँदा खोक्दा वा थुक्दा थुक वा कफमा रगत देखिए यसलाई बेवास्ता गर्नु हुँदैन । कुनै व्यक्तिले खोक्दा वा थुक्दा थुक वा कफमा रगत देखिनासाथ डाक्टरकोमा तुरुन्त जानुपर्ने हुन्छ । यसको उपचारका लागि कफमा देखिएको रगत वा मुखबाट बगेको रगत आउने कारण पत्ता लगाउन जरुरी हुन्छ । रोगको आधारमा यसको उपचार गर्न आवश्यक हुन्छ ।

jackson ribon