birat ribon

विराटनगरमा कोरोनाको दोस्रो लहर : निजी उपचार केन्द्र पुनः सञ्चालन गरिँदै

Neuro
विराटनगरमा कोरोनाको दोस्रो लहर : निजी उपचार केन्द्र पुनः सञ्चालन गरिँदै

विराटनगर / कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि विराटनगरमा निजी अस्पतालमा पुनः कोरोना उपचार केन्द्र सञ्चालनमा ल्याउने तयारी भएको छ ।

कोरोना सङ्क्रमण नियन्त्रणमा आएपछि गत पुस अन्तिम साताबाट निजी अस्पतालले सञ्चालन गरेको कोभिड १९ उपचार केन्द्र बन्द भएको थियो । सङ्क्रमण बढेपछि निजी अस्पतालले बन्द गरेका कोरोना अस्पताल पुनः सञ्चालनको तयारी भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए ।

cura insider

निजी अस्पताललाई उपचार केन्द्र सञ्चालनका लागि तयारी अवस्थामा रहन केही दिनभित्र निर्देशन दिइने उनले बताए ।

विराटनगरमा एक सय ८० बेडको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र सञ्चालनमा छ । विराटनगरको नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र न्यूरो अस्पतालले सञ्चालन गरेको छुट्टै कोरोना अस्पताल बन्द अवस्थामा छन् ।

सङ्क्रमितको सङ्ख्यासँगै अस्पताल बस्नुपर्ने प्रकृतिका बिरामी बढ्दै गएका कारण निजी अस्पताललाई पनि तयारी गर्न निर्देशन दिइने कार्कीले बताए । ‘स्वास्थ्य विभागबाट निजी अस्पतालसँग समन्वय गर्न भनेर पत्र आएको छ,’ उनले भने, ‘हामीले एक चरण छलफल गरेका छौँ, केही दिनभित्र अस्पतालहरूलाई निर्देशन दिन्छौँ ।’

विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजले भर्ना नलिएका कारण एन्टिजेन पोजेटिभ उदयपुरको त्रियुगा नगरपालिका–६ की ३५ वर्षीय महिलाको सोमबार मृत्यु भएको थियो ।

सङ्क्रमण बढ्दै गएका कारण निजी अस्पतालहरूलाई पनि तयार रहन निर्देशन दिइने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

‘कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा अहिले बेड खाली नै छन्,’ उनले भने, ‘अस्पताल भर्ना गर्नुपर्ने बिरामी बढ्दै गएकाले निजी अस्पताललाई अस्पताल सञ्चालन गर्न लगाउँछौँ ।’

jackson ribon