birat ribon

एनआरएनएद्वारा १० अर्बको विकास कोष स्थापना

Neuro
एनआरएनएद्वारा १० अर्बको विकास कोष स्थापना

विराटनगर / गैरआवासीय नेपाली सङ्घले एनआरएनए नेपाल विकास कोष स्थापना गरेको छ ।

विश्वभर रहेका नेपालीहरुको पूँजीलाई नेपालमा लगानी गर्ने उद्देश्यका साथ सङ्घले कोष स्थापना गरेको हो । १० अर्ब अधिकृत पूँजी राखेर दर्ता यो कम्पनीमा पाँच प्रतिशत नेपाल सरकारको पनि लगानी रहनेछ ।

cura insider

कोष स्थापनाको औपचारिक घोषणा गर्नका लागि अर्थ मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले नेपाल सरकार गैरआवासीय नेपालीसँग सहकार्यका लागि सदैव तत्पर रहेको र आवश्यक सहयोगका लागि तयार रहेको बताए ।

गैरआवासीय नेपालीले लगानीदूतको रुपमा भूमिका निर्वाह गर्दै विदेशी लगानीकर्तालाई पनि आकर्षित गर्न मद्दत गर्न उनले आह्वान गरे । कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले छरिएर आउने गरेको लगानी सङ्गठित रुपमा नेपाल ल्याउन बाटो खुलेको बताए ।

उनले भने, ‘यसबाट पनि रोजगारी सिर्जना भइरहेको छ । केही समयअघि पनि हामीले अर्को लगानी भेन्चर सञ्चालनमा ल्याएका थियौँ । तर हाम्रा दाजुभाइहरूले बृहत लगानीको प्ल्याटफर्म खोज्नुभएको थियो । त्यही मागलाई पूरा गर्न यो कोष आएको छ ।’

कोषका अध्यक्ष डा. उपेन्द्र महतोले विश्वभरका नेपालीबाट ठूलो लगानी रकम नेपाल ल्याउँदा अन्य लगानीकर्तालाई समेत प्रोत्साहन गर्न सकिने बताए । नेपालको विकासमा पहिला नेपालीको सहभागिता आवश्यक पर्ने र त्यसपछि मात्र विदेशी पनि आकर्षित हुने उनको भनाइ थियो । विदेशबाट लगानीमात्र नभई प्रविधि, सीप, कर्पोरेट कल्चर र सुशासन पनि भित्रने उनको विश्वास थियो ।

अर्थसचिव शिशिर ढुङ्गानाले यस कोषमा सरकारको पनि पाँच प्रतिशत लगानी रहने र यस कोषलाई कोरोनापछिको अर्थतन्त्रको उत्थानका लागि प्रयोग गर्न सकिने बताए । यसअघिका परम्परागत आयोजना नवप्रबद्र्धनात्मक पूर्वाधार र आर्थिक विकासका आयोजना पहिचान गरी लगानी गर्न यो कोष सहयोगी हुने र त्यसका लागि सरकारले सहयोग गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा महाप्रसाद अधिकारीले नेपालमा लगानीका लागि प्रसस्त सम्भावना भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले नेपालको आर्थिक विकासमा सहभागिता जनाउन चाहने संसारभर छरिएर रहेका नेपालीको लागि यो कोष उपलब्धिमूलक र फाइदाजनक हुने बताए ।

jackson ribon