birat ribon

गुजुल्टो परेको सम्बन्धमा आफन्त–पराइको खोजी

Neuro
गुजुल्टो परेको सम्बन्धमा आफन्त–पराइको खोजी
रमेशकुमार सुवेदी

जो दुःख–सुख बाँड्ने सहयात्री थियो, त्यो आज पराइ हुँदै छ, बाङ्गिँदै छ । किन–किन मलाई त्यसको प्रत्येक चाल बाङ्गो लाग्दै छ । भनिन्छ, जब आफन्तले साथ छोडिदिन्छन्, सबै थोक पराइ हुँदै जान्छ । यस्तोमा कसलाई आफन्त मान्ने, कसलाई पराइ ठान्ने ? खुट्याउन नसकिने रहेछ । 

सम्बन्धहरू टाढिँदै गएको राम्रो होइन, जति सकिन्छ गाँसिएको राम्रो हुन्छ । चाहे तपाईको होस्, चाहे मेरो, नातागोता आफन्त भएको असल हुन्छ । पराइपनले सबैलाई खान्छ, सिध्याइदिन्छ ।

cura insider

यस बेला यस्तै तीता सम्बन्धले मेरो मस्तिष्कलाई कता–कता हिर्काएको अनुभूति हुँदै छ । मनमा अनेक तरङ्ग ल्याइदिएको छ । यस्तै कुरा सोचेर त्यसै–त्यसै हराइरहेको बेला डाइनिङ टेबुलमा राखेको भोजनमा आँखा पर्‍यो । मन्सुली चामलको भात, मुसुरो र कालोदाल मिसाएको दाल, भुटेको आलु, लौकाको लेदो, टमाटरको अचार र छेउमा मोहीको गिलाससहितको परिकार तयार थियो । 

अरू बेला हो भने मेरालागि यो भोजन सर्वाेत्कृष्ट हुनेथियो । तर त्यो दिन मलाई यसले कता–कता ङिच्च हाँसेर जिस्क्याएको भान भइरहेको थियो । मेरो प्रिय भोजनप्रति नै मनमा अरूचि उत्पन्न भएको थियो । एकपछि अर्को शङ्का–उपशङ्काको लहड चलेको थियो । 

खाना खानलाई भातमाथि दाल खन्याएको त भातको थुप्रोमा कालोदालमात्र देखियो, मुसुरो भेटिएन । कालोदाल भातको टुप्पोमा गुजुल्टिएर एकै ठाउँमा सानो थुप्रो भएर बसेको थियो, अलग्गै समूहमा । कुनै पाकेका, कुनै आधा पाकेका, कुनै काँचै । पाकेको बाहेक बाँकी कालोदाल र मुसुरो आपसमा मेल खाइरहेका थिएनन् । कालोदालले मुसुरोसँग समन्वय गर्न सकिरहेको थिएन । सायद मुसुरोको घुलन सिद्धान्तसँग कालोदाललाई मिलन हुन गाह्रो परेको थियो । त्यसैले रालघोल अर्थात् एकै ठाउँमा मुछिने भएर बस्न सकेको थिएन । 

दासहरूबाट के आस गर्न सकिछ र ! मालिकको होमा हो मिलाउँदै समर्थन गर्नुबाहेक दासलाई के नै आउँछ ?

कालोदाल कता–कता मसँग चिढिएको, केही रिसाएको जस्तो भान परिरहेको थियो । त्यसलाई मुसुरोसँग मैले नै घालघुल पार्न खोजेको हो भन्ने शङ्का लागेको हुनसक्छ । त्यसकारण त्यो मेरो भातमाथि थुप्रिएर बसेको होला भन्ने मनमा परिस्थितिजन्य तर्कना आयो । 

लाग्यो, कालोदालको नियत ठिक छैन । त्यो ‘मलाई नचला, चलाइस् भने ठिक हुँदैन,’ भन्ने मुडमा थियो । भातमा मजाले मुछेर खाने मेरो योजना बिगार्न चाहन्थ्यो त्यो । कालोदालले ‘मलाई जबरजस्ती मुछेमा ठिक हुँदैन, भातमा मुछेर मुखमा हाल्ने हो भने ढुङ्गासरह भइदिन्छु, दाँतलाई सिरिङ्ङ बनाइदिन्छु, पखाला चलाइदिन्छु, फुड–पोइजन उत्पन्न गराइदिन्छु, बिरामी बनाइदिन्छु,’ भन्न खोजे जस्तो लाग्यो । 
 
कालोदालको थुप्रोबाट बाफ निस्किरहेको थियो । एकनासले हेरेको त दालबाट निस्किएको बाफ हेर्दाहेर्दै आगोको मुस्लोजस्तो भयो । ‘कसैसँग आनीबानी, बोली–व्यवहार मिलेन भने साथी बनाइँदैन । त्यस्तो सम्बन्ध केवल औपचारिकतामा सीमित हुन्छ,’ त्यो आगोको मुस्लोबाट कालोदालले भने जस्तो लाग्ने शब्दहरू मेरो कानमा ठोक्किरहेका थिए, ‘मेरो हालत यस्तै छ । न त म मुसुरोसँग मिल्न सक्छु, न सँगै पाक्न नै । म ढिलो भिज्छु, ढिलै पाक्छु । मलाई बेग्लै पकाउनू । मुसुरोसँग पकाउने काम नगर्नू । ’

उता मुसुरो आफ्नै तालमा थियो । कालोदाललाई देख्न चाहँदैन थियो, मुसुरोका लागि कालोदाल बिरानो भएको थियो । ‘यसलाई हटाऊ, हामी योसँग मिल्दैनौँ । यसले हाम्रो अस्तित्व सखाप पारिदिन्छ,’ भन्दै मुसुरोले भातभित्रबाट बोले जस्तो लाग्यो । ‘हामीसँग मिल्न आउने हो भने पहिले आफ्नो घमण्ड छोड्नुपर्छ, गल्तीहरू सच्याउनुपर्छ । नत्र हामी यसलाई सहदैनौँ,’ भन्दै मुसुरोले कालोदालविरुद्ध बोलेको टड्कारै सुनियो ।

मुसुरोले कालोदालको विद्रोहमा नुनचुक थपिरहेको थियो । कालोदाल पनि के कम ! ‘मुसुरोजति सबै दास हुन् । दासहरूबाट के आस गर्न सकिछ र ! मालिकको होमा हो मिलाउँदै समर्थन गर्नुबाहेक दासलाई के नै आउँछ ?’ मुसुरोविरुद्धको आवेगसहित कालोदालले यस्तै भनेर भित्री कुण्ठा बाहिर निकाले जस्तो लाग्यो । 

हुन त, व्यवस्थापन पक्ष कमजोर हुँदा विद्रोहको स्वर सुनिनु कुनै नौलो होइन । सम्भवतः त्यसैले दुवै मलाई चुनौती दिइरहेका थिए । यहाँसम्म कि दुवै आफूले गर्नसक्ने हदसम्मको प्रयोग गर्न समेत तयार थिए, दृढ थिए । सोचेँ– कतै मेरो अस्तित्व समाप्त पार्ने ग्राइन्ड डिजाइन त भइराखेको छैन ? मनमा चस्का पर्नासाथ दुवैप्रति शङ्का लाग्न थाल्यो । 

उहिले कोइरालो र टमाटरको यस्तैखाले बेमेलले मलाई धेरै वर्षसम्म बिरामी बनाएको थियो । यिनको बेमेलको असरले मैले आदिम युगको भोजनको स्वाद लिनुपरेको थियो । त्यसको प्रभावले अहिलेसम्म छाडेको छैन । कता–कता मलाई अहिले पनि त्यही प्रकारको खल्लो लागिरहेको थियो । यी दुई जे परे पनि भिड्ने मुडमा थिए । चेत भन्ने कुरो पनि हुन्छ नि ! यिनलाई थाहै छैन कि बुझ पचाएका हुन् ? 

दुवै आपसमा आफन्त (साथी) भएर बस्न नसक्ने हुँदै गएका थिए । एकलाई अर्काको अस्तित्व स्वीकार्ने सवालमा ऐँठन भइरहेको थियो । स्वादिलो भोजन गर्ने मेरो योजनामा कुठाराघात हुँदै थियो । 

दुवैले मलाई गन्नै छाडेको अनुभव हुनथाल्यो । सोचेँ– यिनीहरूले सखाप पार्ने भए । मलाई बर्बाद बनाइछाड्ने भए । मनमा चस्का पसेसँगैे मैले उनीहरूका प्रत्येक गतिविधि सम्झिन थालेँ । दुवैको व्यवहार जताततै शङ्कास्पद हुँदै जान थाल्यो । उनीहरू दुवै मेरालागि उपयुक्त हुँदैनन् भन्ने लाग्न थाल्यो । म एकोहोरो हुँदै टोलाएँछु ।

आफूले आफैँलाई ‘झोँज’ सम्झिनेलाई अँगालो मारेर राख्न सकिँदैन । यी मिले मिलुन्, नमिले नमिलुन् ! मलाई त के छ र ! जे आउँछ, आरामले पचाइन्छ ।

‘भात खान छोडेर के एकोहोरो भइराखेको ?’ बीचमा श्रीमतीजीको प्रश्नले झसङ्ङ बनायो । लगत्तै म उही तर्कना र तरङ्गमा हराएँ ।

अधिल्लो वर्ष यी दुवै निकै नरम र लतक्क पर्दै मेरो भुँडीभित्र आउँदा म निकै उत्साहित थिएँ । कालोदाललाई मुखमार्ग हुँदै पेटमा स्वागत गर्न पाउँदा कम्ती खुसी थिइनँ । भात पनि उनीहरूसँग भनेपछि धेरै आकर्षित हुन थालेका थिए । तर यस बेला भने दुवै कक्रक्क परेर, अरठ्ठ भएर निहुँ खोजिरहेका थिए । 

मैले निकैबेर सोचेँ तर दुवै मसँग रिसाउने कुनै कारण फेला पार्न सकिनँ । मेरो मुख फराकिलै थियो, पेटमा सजिलै बस्नसक्ने अवस्था पनि थियो । बिसन्चो भएको पनि थाहा थिएन । तर पनि यिनीहरू एकाअर्कालाई देखेर ङ्यार–ङ्यार, ङुर–ङुर किन गरिरहेछन् ? मैले बुझ्न सकिनँ । 
 
मैले यिनीहरूका लागि गरेको त्याग, मिहिनेत खेर गएजस्तो लाग्यो । खडेरीले भेटेको बेला मलजल गरेर झन्डै दुई–तिहाइ अंश फलाएको व्यर्थ भएको अनुभव हुन थाल्यो । यिनीहरूको विद्रोही सोचले मेरो सञ्चित शक्ति पुनः तहसनहस हुने भयो । मैले चाहेर पनि दुवैको मिथ्या दृष्टिलाई मित्यारी लगाउने प्रयास सफल नहुने भयो । 

अन्ततः यिनको वैमनस्यता र ढर्राले यिनलाई नै खान्छ होला भन्ने सोचेर मनमा वैराग्य उत्पन्न भयो । मनमनै प्रश्न गरेँ– आखिर कहिलेसम्म यी रिसाएर बस्ने होलान् ? जबाफ केही आइरहेको थिएन । सोचेँ– कतै यिनलाई पनि ‘लघुवाद’को सिद्धान्तले भेटेको पो हो कि ?

यो ‘लघुवाद’को सिद्धान्त पनि अचम्मको हुन्छ । सानातिना कुरामा झगडा गर्नु यसको मुख्य एजेन्डा हो । दुई जना सँगै बस्नै हुँदैन, खोइरो खन्न सुरु भइहाल्छ । सहीलाई गलत र गलतलाई सही भन्नेहरू यसका मुख्य मित्र हुन् । यसको मुख्य विशेषता भनेको भद्र, भलादमीजस्ता देखिने विद्वानलाई खुराफाती, सकेसम्म अरूको कुरा बङ्ग्याउन दक्ष बनाउने हो । एकमुष्ठ रूपमा, थोरै शब्दमा भन्दा यसले आफ्नालाई सर्वज्ञलोजिस्ट, अरूभन्दा आफूमात्र सबै कुरामा विशेषज्ञता पाएको आदि पगरी थमाइदिने हो । ‘लघुवाद’ले आफूलाई मात्र हेर्छ, अरूको प्रगति देखियो भने फुटाऊ र आफैँ खाऊ भन्ने मान्यतालाई जोड दिन्छ ।

हिजो कोइरालो र टमाटर, आज मुसुरो र कालोदालले यही लघुवादको सिद्धान्तलाई कस्सेर समातेका कारण एकाअर्कालाई देखी नसहेका हुन् । यिनको व्यवहारबारे सोच्दा–सोच्दै मलाई रिङ्गटा लाग्न थाल्यो । म को आफ्नो, को पराइ छुट्याउन नसक्ने अवस्थामा पुगेँ । यिनीहरूको फुटाऊ र राज गर नीतिका कारणले मेरो नयाँ तरिकाले भोजनको स्वाद लिने योजना असफल हुन लागेको थियो । मैले सतर्क हुनुपर्ने भयो ।

त्यसो त म खानेकुरासँग कहिल्यै रिसाएको थिइनँ । म यिनीहरूजस्तो रिसाउन थाले भने कहाँ जालान् यी ? यिनको अस्तित्व त बालुवामाथिको पानीजस्तो हुन्छ होला भन्ने सोच्दै मैले आजसम्म जो–जो आए, सहर्ष स्वीकार्दै आएको थिएँ । मेरो भागमा को–को आउँछन्, को–को जान्छन्, कहिले पनि चासो राखेको थिइनँ ।

मेरो हाजमोलाजस्तो आफ्नैखाले सिद्धान्त छ– जे–जे आउँछ आरामले पचाइन्छ । मलाई गुन्द्रुकको झोल, फर्सीको लेदो, बैगुनको रस, भिन्डीको भुटुवा, टमाटरको अचार, मिसाएर स्वाद दिँदा पनि ठिक, केही नदिँदा पनि ठिक । मैले केही बोलेको थिइनँ, सबै सहिदिएको थिएँ । सहनशीलता आम नेपालीको जस्तै मेरो पनि विशेषता हो । पन्था भात अर्थात् बासीभात पानीमा डुबाएर, नुन–खोर्सानी र काँचो तोरीको तेल मिसाएर बनाएको भोजन पनि सहेकै हो, लेदो, भुटुवा र झोलवाला मासुभातको अनुभव पनि लिएकै हो ।

तर मुसुरो र कालोदालको बेमेल अति भएको अनुभव हुँदै थियो । लाग्यो, यस बेला चुपचाप बस्नुहुँदैन । पहिले पनि कोइरालो र टमाटरले दिएको तनावका कारण थुप्रै वर्ष भात नमिठो भएर अन्यायमा परेको घटना बिर्सेको थिइनँ । सायद अनुभवले व्यवहारलाई खारिदिने भएर होला, यो पटक मलाई चुप लाग्न मन लागेन । 

त्यसो त म हत्तपत्त रन्थनिन्न, रन्थनिएँ भने थन्किन गाह्रो पर्छ । जब मेरो रन्थनाइ गहिरिँदै जान थाल्यो, सोचेँ– यिनीहरूलाई मैले हर्कका साथ स्वागत गरेकै थिएँ । त्यसैले यिनीहरू सप्रेका थिए । तर अब यिनीहरूलाई मेरो साथमा राख्दिनँ । यिनको लदाइ कहिलेसम्म सहने, अब म सहदिनँ, सहदै–सहदिनँ । मेरो मायाको यत्रो अपमान गर्ने ? कसैलाई माया त्यति बेलासम्म गर्नुपर्छ, जति बेलासम्म उसले त्यसको सम्मान गर्न सक्छ । सम्मान बेगरको एकोहोरो मायाले कतिन्जेल थेगिन्छ ! अब म थेग्न सक्दिनँ, सक्दै–सक्दिनँ । भो, अब त अति भो !

अब लघुवादको अन्त्य हुनैपर्छ । जसलाई लघुवादले खाइरहेको छ, उनीहरू लघुताले ग्रस्त भएर आफैँ नासिँदै जानेछन् । अहिले तेरो–मेरो नभनी सबैको इला अर्थात् मूल–खम्बा भएर बस्ने मौका पाउँदा–पाउँदै, एक–अर्कालाई पराइ बनाउन जोड गरिरहेका छन् । आफूले आफैँलाई ‘झोँज’ सम्झिनेलाई अँगालो मारेर राख्न सकिँदैन । यी मिले मिलुन्, नमिले नमिलुन् ! मलाई त के छ र ! जे आउँछ, आरामले पचाइन्छ ।

jackson ribon