birat ribon

नाम स्मार्ट पार्किङ : सुरक्षा र व्यवस्थापन ‘जिरो’

Neuro
नाम स्मार्ट पार्किङ : सुरक्षा र व्यवस्थापन ‘जिरो’

मेनुका काेइराला

काठमाडौँ/ काठमाडौँ उपत्यकामा ट्राफिक जामको समस्या भनिरहनु पर्दैन । हामी सबैले भोग्दै र झेल्दै आएका समस्यामा ट्राफिक जाम सायद मुख्य समस्याभित्रै पर्छ । त्यसको मुख्य कारण सवारी साधनको थेगिनसक्नु चाप हो भने अर्को कारण त्यही सवारी साधन पार्किङ गर्ने स्थानको अभाव ।

cura insider

केही वर्षपहिले त्यही अस्तव्यस्त पार्किङलाई व्यवस्थित गर्न भन्दै  काठमाडौँका धेरै भिडभाड हुने ठाउँमा सामाजिक अभियानकै रूपमा समान्य शुल्क लिएर पार्किङको व्यवस्था गरिएको थियो । त्यसबेला सडकको किनार वा खाली रहेको कुनै सार्वजनिक स्थानको प्रयोग गरिएको थियो । 

काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रमा पार्किङ अस्तव्यस्त भएको भन्दै त्यसलाई व्यवस्थित गर्न स्मार्ट पार्किङको अवधारणा ल्यायो । सोहीअनुसार २०७६ असार १ गतेदेखि महानगरले स्मार्ट पार्किङ सुरु गर्‍यो ।

न्युरोड र आसपासका ठाउँमा भइरहेको अव्यवस्थित पार्किङसँगै जामको समस्या हुने भएकाले नगरपालिकाले स्मार्ट पार्किङ सञ्चालन गरेको थियो । न्युरोड आसपास धर्मपथ, शुक्रपथ, खिचापोखरी, प्युखा र पाकोमा स्मार्ट पार्किङ लागू गरिएको थियो । 

सामान्य बुझाइमा असन एरियामा सञ्चालनमा ल्याइएको स्मार्ट पार्किङ भन्नाले केवल अव्यवस्थित पार्किङस्थललाई सेन्सर र विद्युतीय मेसिनको सहयोगले थप व्यवस्थित बनाउने प्रयास मात्र हो ।

तर, काठमाडौँ महानगरले सुरु गरेको स्मार्ट पार्किङले केही हदसम्म समस्या समाधान भए पनि अवैज्ञानिक चर्को शुल्क र व्यवस्थापनको फितलोपनले यो योजना सफल हुन सकेको छैन । 

कोसी अनलाइनको टोली धर्मपथ र प्युखास्थित स्मार्ट पार्किङमा पुग्दा त्यहाँ काम गरिरहेका आठ–१० जना कर्मचारी सवारी व्यवस्थापनमा सक्रिय थिए । उनीहरू पार्किङको रसिद काट्नमै व्यस्त थिए ।

यत्तिकैमा एक बाइक चालक प्युखामा आइपुगे । बाइक साइडमा राखेर पैसा झिक्न नजिकै रहेको एटिएम बुथ छिरे । उनी फर्किएर तुरुन्तै बाइक स्टार्ट गर्दै हिँड्न खोजे । तर पार्किङका कर्मचारीले उनलाई रोके । कर्मचारी बाइकवालाको हातमा रसिद राख्न खोज्दै पार्किङ शुल्क तिर्न आग्रह गर्दै थिए ।

बाइक चालक भन्दै थिए, ‘मैले एकैछिन त रोकेको हुँ, किन पैसा तिर्नु ?’

केहीबेर कर्मचारी र बाइकवालाबीच वादविवादको अवस्था सिर्जना भयो । स्मार्ट पार्किङ लागू भएसँगै दुई पाङ्ग्रे सवारी साधनको प्रतिघन्टा २५ रुपैयाँ र चार पाङ्ग्रे साधनको ८० रुपैयाँ शुल्क तोकिएको छ । आधा घन्टाभन्दा कमको दुई पाङ्ग्रे साधन पार्क गरेको भने १५ रुपैयाँ मात्र तिरे हुन्छ ।

बाइकवाला भन्दै थिए, ‘कुरा यति उति पैसाको हैन । मैले धेरै रोकेको भए एक मिनेट रोकेँ होला । तपाईंहरू देख्दादेख्दै कसरी यत्रो पैसा लिनुहुन्छ ?’ 

पार्किङका कर्मचारी भन्दै थिए, ‘मैले रसिद काटिसकेँ, कार्यालमा बुझाउनुपर्छ, तपाईंले नदिने हो भने मैले आफ्नै गोजीको पैसा तिर्नुपर्छ ।’ 

चर्काचर्की साम्य पार्न पार्किङका अर्का कर्मचारी आइपुगे । उनले एक पटकलाई पैसा नदिए पनि अर्को पटकदेखि आउँदा जति समय भए पनि पैसा दिनुपर्ने भनेर बाइकवालालाई सम्झाए । 

त्यहाँ केही मिनेटको सवारीधनी र पार्किङ स्टाफबीचको कुरा सुन्दा लाग्थ्यो– त्यहाँका कर्मचारीको काम खाली पैसा उठाउने हो र साहुलाई बुझाउने । स्मार्ट पार्किङको अवधारणा किन ल्याइएको हो  र यसलाई कसरी व्यवस्थित गर्ने भन्नेबारेमा उनीहरू बेखबर छन् । 

यो घटना एउटा उदाहरण मात्र हो । न्युरोड एरियामा सवारी पार्क गर्ने जोकोहीले भोग्ने समस्या हो यो । 

पार्किङ शुल्क नै अवैज्ञानिक

न्युरोडमा काम परेर आएका एक सवारीधनीका अनुसार स्मार्ट पार्किङका नाममा लिइएको शुल्क नै अवैज्ञानिक छ । खिचापोखरीमा पाँच मिनेटको काम सकेर इन्द्रचोकमा अर्को काम गर्न जानु छ भने दोहोरो शुल्क तिर्नुपर्ने समस्या रहेको उनको गुनासो छ । 

‘मैले खिचापोखरीमा पाँच मिनेट पार्क गरेर १५ रुपैयाँ तिरेँ भने फेरि मैले इन्द्रचोक साइड जानुपर्‍यो भने अर्को शुल्क तिर्नुपर्छ’, उनले भने, ‘मैले एक घन्टाको शुल्क तिरेपछि त्यो अवधिभित्र जहाँ पार्किङ गर्दा पनि शुल्क नलाग्नुपर्ने हो, तर यहाँ त ब्रह्मलुट छ ।’

छैन सवारीसाधनको सुरक्षा

स्मार्ट पार्किङको अवधारणा ल्याइएकै अव्यवस्थित र असुरक्षित तरिकाले भइरहेको पार्किङलाई व्यवस्थित र सुरक्षित बनाउनु हो । पहिलेको पार्किङमा शुल्क पनि सस्तो थियो । तर सुरक्षा थिएन ।

तर स्मार्ट पार्किङका नाममा शुल्क बढाइए पनि अन्य सुविधा भने केही पनि थपिएको छैन । पहिले हाते रसिद पाइन्थ्यो भने अहिले डिजिटल रसिद पाइन्छ । बाँकी सुविधा पहिलेकै जस्तो छ । 

भक्तपुरको सूर्यविनायक नगरपालिकाबाट आएका सुरज कार्कीको हेल्मेट बाइक पार्क गरिएकै ठाउँबाट हरायो । उनले भने, ‘स्मार्ट भनेर २५ रुपैयाँ तिरेपछि सामानको सुरक्षा त हुनुपर्‍यो नि ! सामानकै सुरक्षा नहुने हो भने किन हामीले पैसा तिर्ने ?’

यसैगरी कपनकी सुनिता राई खिचापोखरीमा स्कुटी पार्किङ गरेर नजिकैको कम्प्युटर पसलमा छिरिन् । करिब १५ मिनेटमा निस्किँदा उनको स्कुटीसँगै टाँसेर अर्को बाइक राखिएको थियो । त्यो बाइकको लेगगार्डले उनको स्कुटी स्क्र्याच भएको थियो । 

उनको स्कुटी कोर्ने बाइक कसको थियो, उनलाई थाहा छैन । उनले पार्किङका कर्मचारीलाई आफ्नो स्कुटी कोरिएको बताइन् । कर्मचारीले जवाफ दिए– सामानको जिम्मा हाम्रो होइन । यसो भन्दै उनले अगाडि राखिएको बोर्ड देखाए, जहाँ लेखिएको थियो– पार्क अन योर वन रिस्क ।

के हो ‘स्मार्ट पार्किङ’

सामान्यतया स्मार्ट पार्किङ भन्नाले व्यवस्थित र सुरक्षित भन्ने बुझिन्छ । यस्तो पार्किङस्थलमा सिसिटिभी क्यामेरा तथा सेन्सर जोडिएको हुन्छ भने सवारी साधन राख्ने क्षेत्रफल चिह्न लगाएर छुट्याइएको हुन्छ । त्यस्तो पार्किङमा राखिएको सवारी साधनलाई अर्को साधनले ठक्कर दिने, कोर्ने हुँदैन । यसैगरी कुनै पनि सवारीसाधन पार्कबाट सजिलै निकाल्न सकिने हुन्छ ।

तर काठमाडौँमा स्मार्ट भनिएको पार्किङमा भनै यी कुनै पनि सुविधा छैनन् । यहाँ पार्क गरेर राखिएको बाइक निकाल्न कहिलेकाहीँ अन्य तीन–चार जनाको सहयोग लिनुपर्ने हुन्छ । बाइक निकाल्दा अन्य कतिपय बाइकमा ठोक्किने, लड्ने समस्या भोग्नुपर्ने अवस्था छ ।

कसले गर्छ पार्किङ व्यवस्थापन ?

काठमाडौँ महानगरपालिकाको सहकार्यमा ह्विल्स ट्रुली योर्स नामक कम्पनीले धर्मपथ लगायत पाँच ठाउँमा २०७६ असार १ देखि स्मार्ट पार्किङ सुरु गरेको हो । उसले दुई पाङ्ग्रे सवारीको  एक घण्टामा २५ रुपैयाँ र चार पांगे्रलाई एक घण्टामा ८० रुपैयाँका दरले शुल्क असुल्न थालियो ।

यसरी पैसा असुल्ने काम यथावत नै छ । न्युरोड एरियामा पार्किङ गर्ने कैयौँ छन्, कोही व्यापार व्यवसाय गर्ने व्यक्तिहरू छन् । उनीहरूको दैनिकी न्युरोडमै बित्छ । तर, उनीहरूलाई पार्किङ स्थल भनेको स्मार्ट पार्किङ नै हो । कतिले घण्टाको २५ रुपैयाँका दरले पैसा तिरिरहेका छन् त कतिले मासिकरुपमा हिसाब गरेर पैसा तिरिरहेका छन् ।

कहिलेकाहीँ काम पर्दा असन पुग्नेहरू स्मार्ट पार्किङ पाएको ठानेर दंग पर्छन् । तर, धेरै सर्वसाधारणको भने स्मार्ट पार्किङप्रति तीव्र गुनासो छ ।

‘नाम मात्र स्मार्ट छ, पार्किङ भने उस्तै अस्तव्यस्त छ’, न्युरोडमा पसल व्यवसाय गरिरहेका धादिङका शम्भुप्रसाद अर्याल भन्छन्, ‘पार्किङ शुल्क नै चर्को भएकाले धेरैले यहाँ बाइक वा गाडी अड्याउने आँट गर्दैनन्, त्यसैले अरूले राख्न पाउँछन् । नत्र भने न्युरोडमै पसल भएकाहरूको साधनले भरिन्छ पार्किङ एरिया ।’ 

उनका अनुसार यसको असर भने अन्यन्त्र पर्न गएको देखिन्छ । भन्छन्, ‘यहाँ चर्को शुल्कले गर्दा राख्न आँट नगर्नेहरू कि न्युरोडमा सवारी ल्याउँदैनन् कि अन्य स्थान खोला या सडक छेउ वा खुला ठाउँमा लगेर गाडी राखिदिन्छन्, जसले गर्दा पैदलयात्रीलाई बाटो हिँड्नै मुस्किल पर्छ ।’

चल्दैन एप 

एपबाट पनि सजिलै बुकिङ गर्न सकिने भनिए पनि कहिले एप नै नचल्ने र ठाउँ प्याक भइसक्ने समस्या सवारीधनीले भोगिरहेका छन् । न्युरोडमा सपिङ गर्न आएका कविराज घिमिरेले घरबाटै पार्किङ स्थल बुक गर्ने कोसिस गरेका थिए । तर, बुक भएन । उनले भने, ‘एप छ भनेर देखाउन मात्र राखिएको जस्तो लाग्छ । मैले घरदेखि एप चलाउँदै न्युरोडसम्म आइपुगेँ । तर, पार्किङ बुक भएन ।’

‘अहिले यहाँ आएपछि कर्मचारीले जसोतसो मिलाएर सवारीसाधन राखिदिएका छन् । स्मार्ट पार्किङ भनिएपछि सबैकुरा व्यवस्थित हुनुपर्ने हो’, उनले भने, ‘तर यहाँ सबै सवारी साधनहरू भद्रगोल तरिकाले रोडमै राखिएको छ । व्यवस्थितभन्दा बढी भद्रगोल भएजस्तो देखिन्छ ।’ 

पार्किङ व्यवस्थापकबारे महानगर र स्वयं कर्मचारी अनभिज्ञ

महानगरको सहकार्यमा ह्विल्स ट्रुलि योर्स संस्थाले स्मार्ट पार्किङको जिम्मा लिएको छ । जसबाट उठेको रकमको २० प्रतिशत संस्थाले महानगरलाई बुझाउनुपर्ने शर्त छ । महानगरपलिकाले ३ महिनाको रकम एकैचोटि लिने गरेको छ ।

सो संस्थाको कार्यालयबारे जानकारी लिन खोज्दा नगरपालिका नै टकटकिन खोज्यो । महानगरपालिकाको सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले संस्थाको कार्यालयबारे आफूलाई थाहा नभएको बताए । 

‘भ्याट बिल छ, प्यान नम्बर छ । कार्यालय स्थान सोधेर हामीले के गर्ने हो र ?’, उनले भने ।

आफूले सम्झौता गरेको संस्थाको कार्यालयबारे महानगरपालिकालाई त जानकारी छैन नै । तर पार्किङ शुल्क उठाउन बसेका कर्मचारीहरूलाई नै थाहा छैन– उनीहरूको कार्यालय कहाँ छ र कार्यालयको हाकिम को हो भनेर ।

उनीहरू बिहान ८ बजे आउँछन्, बेलुका ७ बजेसम्म बस्छन् । दिनभरि उठेको पैसा कसैलाई बुझाउँछन् र घर फर्किन्छन् । 

उठेको पैसा कसलाई बुझाउनुहुन्छ ? भन्ने प्रश्नमा उनीहरू भन्छन्, ‘अफिसका हाकिमहरू भन्ने सुनेका छौँ, समय भएपछि लिन आउँछन् । हामी दिएर घर जान्छौँ ।’

उनीहरूले काम गरेबापतको पारिश्रमिक पनि सडकमै पाउँछन् । सुन्दर तामाङ विगत डेढ वर्षदेखि पार्किङ शुल्क उठाउने काम गरिरहेका छन् । तर, उनलाई अफिस कता छ भन्ने थाहा छैन । उनी भन्छन्, ‘अफिस जानु पर्दैन, तलब पनि रोडबाटै लिन्छु । त्यसैले अफिस कता छ भन्ने नै थाहा छैन ।’ 

गुनासोपछि घटाइयो शुल्क

एक घण्टाभन्दा थोरै समय पार्क गर्ने प्रायः सवारीधनीको गुनासो शुल्कमै छ । केही समयपहिले पाँच मिनेट मात्र सवारी पार्क गर्दा पनि २५ रुपैँया, एक घण्टा गरे पनि २५ रुपैँया तिर्नुपर्ने अवस्था थियो ।

शुल्क चर्को भएको भनेर गुनासो बढ्न थालेपछि महानगरले पैसा घटाएर आधा घण्टा पार्किङ गर्नेलाई १५ रुपैयाँ तोकेको छ । सहरी पूर्वाधार विकास विभाग प्रमुख थापाका अनुसार दुई पाङ्ग्रे सवारीको हकमा आधा घण्टाको पार्किङ शुल्क १५ रुपैयाँ निर्धारण गरिएको छ भने चार पाङ्ग्रेको हकमा भने आधा घण्टाको ५० रुपैयाँ छ ।

यति हुँदा पनि सर्वसाधारणको गुनासो कम भएको छैन । एक मिनेटको कामका लागि असन आएकाहरूलाई १५ रुपैँया तिर्नुपर्ने अवस्था यथावत नै छ । थापा भन्छन्, ‘हामीले सवारीधनीलाई सहज वातावरण होस् भनेर यस्तो गरेका हौँ । १५ रुपैँया सहजताका हिसाबले महँगो पनि हैन ।’

आधा घण्टाका लागि शुल्क घटे पनि प्रयोगकर्ताहरू अझै ढुक्क बन्न सकेका छैनन् । चार पाङ्ग्रे सवारी चलाउनेभन्दा दुई पाङ्ग्रे सवारी चलाउनेका गुनासा अनगन्ती छन् । 

छैन उठेको पैसाको पारदर्शिता

प्रत्येक पार्किङ स्थलमा पैसा उठाउन निश्चित व्यक्ति र उनीहरूलाई सहयोग गर्न सहयोगी खटाइएको छ । हामीले बुझ्दा प्रत्येक पार्किङस्थलबाट दिनमा ३० हजारदेखि ५० हजार रुपैयाँसम्म रकम उठ्ने गरेको छ । प्रत्येक व्यक्तिले दिनमा ६ देखि ७ हजार रुपैयाँसम्म उठाउने रहेछन् ।

पर्किङमा खटिएका कर्मचारी सबैसँग इलेक्ट्रोनिक डिभाइस छैन । कोही कर्मचारीहरू हातमा बिल बोकेरै भागदौड गरिरहेका देखिन्छन् । यस्तो अवस्थामा पार्किङबाट कति पैसा उठ्यो भन्ने तथ्यांक आउने देखिँदैन ।

यसबारेमा महानगरसँग जिज्ञासा राख्दा पार्किङबाट कति पैसा उठ्छ भनेर अहिलेसम्म अनुगमन नगरेको थापा बताउँछन् । ‘हामीलाई उठेको पैसाको २० प्रतिशत बुझाउने सम्झौता हो’, उनले भने, ‘हामीले ३ महिनाका डिजिटल बिल एकमुष्ट हेरेर पैसा लिने गरेका छौँ ।’

ह्विल्स ट्रुली योर्स कम्पनीले दैनिक उठाउने पैसा र महानगरमा ३ महिनामा पुग्ने पैसाको अनुगमन कसैले गरेको छैन । कम्पनीले बिल सिस्टममा उठेको पैसाको २० प्रतिशत महानगरलाई बुझाउने नियम छ । तर, सिस्टममा नदेखिएको पैसाको अनुगमन महानगरले गरेको छैन ।

डिजिटल प्रणाली बाहिर गएर यसरी पैसा उठाइरहेकोबारे महानगरपालिका अनविज्ञ रहेको थापा बताउँछन् । ‘हामी अब कडाइका साथ अनुगमन गर्छौँ’, उनी भन्छन्, ‘कानुन सबैका लागि समान हो । अब यो गल्ती दाहोरिँदैन ।’

उनका अनुसार महानगरले दुई वर्ष अघिदेखि सुरु गरेको स्मार्ट पार्किङबाट उठेको पैसाले अघिलेसम्म केही उपलब्धिको काम गरेको छैन । उनी भन्छन्, ‘हामी पार्किङबाट उठेको पैसाले नयाँ पार्किङ स्थल बनाउने विषयमा होमवर्क गर्दै छौँ ।’ 

jackson ribon