birat ribon

सिद्धिँदै छ विवाहपछिको रोमाञ्च र बाँकी अनुभव

Neuro
सिद्धिँदै छ विवाहपछिको रोमाञ्च र बाँकी अनुभव
वसन्त कुँवर

केही दिनअघिको कुरा हो, अलग थरका भए पनि मैले ‘भाइ’ भनिरहेको एक व्यक्तिसँग भेट भयो । उनी उमेरमा मभन्दा निकै कम छन् तर पनि झन्डै ३० वर्ष हाराहारीमा उनको उमेर भइसकेको छ । आमाबाबु तिनको विवाह गरिदिन चाहन्छन् तर उनले भने ‘अहिले गर्दिनँ,’ अहिले गर्दिनँ’ भन्दै उमेर बढाइरहेका छन् ।

एक दिन उनका आमाबुबाले मलाई पनि सम्झाइदिन अनुरोध गरेकाले मैले सम्झाएँ पनि तर काम बनेन । उनी आफू अझै आफ्नो खुट्टामा नउभिएको दलिल दिई उम्के । आमाबाबु भने केटीहरू छान्न व्यस्त थिए ।

cura insider

केही दिनअघि अनायासै उनीसँग मेरो भेट भयो । भेट हुनेबित्तिकै मैले उही कुरो दोहोर्‍याएँ । मैले भने, ‘ए भाइ आमाबाबुले खोजेकी केटीसँग खुरुक्क विवाह गरिदेऊ, यसो गर्दा दुवै परिवारको साथ र सहयोग मिल्छ । हामीले पनि त्यसै गर्‍यौँ र हाम्रो वैवाहिक जीवन सफलै छ ।’

मेरो कुरा सुनेर उनले सधैँझंै सुरुमा ‘हस्’ भने अनि फेरि भने, ‘दाइ, म अझै दुई वर्ष विवाह गदिनँ ।’

‘दुई वर्ष किन ?’ मैले सोधेँ ।

‘दुई वर्षसम्मलाई मेरी गर्लफ्रेन्ड छन्,’ उनले भने ।

‘दुई वर्षलाई मात्र कस्तो गर्लफ्रेन्ड त ?’ मैले आश्चार्यचकित हुँदै सोधेँ ।

‘दुई वर्षपछि उनको लोग्ने विदेशबाट नेपाल आउँदै छन्,’ उनले भने, ‘त्यसैले उनले भनेकी छिन् लोग्ने फकिर्एपछि हाम्रो प्रेम खतम ।’

मैले ती भाइको कुरा ट्वाल्ल परेर सुनेँ र उनको अनुहार हेरिरहेँ । उनी मलाई हेरी केवल मुसुमुसु हाँसे मात्र । उनले अगाडि बताए, ‘दाइ, मेरी गर्लफ्रेन्डको एक वर्षअघि विदेशमा बस्ने मान्छेसँग विवाह भएछ । विवाहलगत्तै उनका पति विदेश फर्केछन् । उनी त्यहाँ जान सकिनन् । उनी फ्ल्याट लिएर यतै काठमाडौँमा बस्छिन् । पति नफर्केसम्म म उनलाई सेवा गर्दै छु ।’

मलाई भाउन्न होला जस्तो भयो । तथापि आफूलाई सम्हाल्दै मैले भनेँ, ‘भेटौँ न त उनलाई, म पनि हेरौँ ?’

‘उनलाई त म भेट गराउँदिनँ,’ उनले हाँस्दै भने, ‘तर अर्की पुरानी पनि गर्लफ्रेन्ड छन्, तिनलाई भेटाउँला । उनीचाहिँ सेक्सको क्रेजी छन् । ब्याइफ्रेन्ड फेरिरहन्छिन् । मलाई अझै पनि फोन गरेर हैरान बनाउँछिन्, तर म आजकल यतातिर व्यस्त छु ।’

उनको थप कुरा सुनेर फेरि मेरो दिमाग चकरायो । ‘ल त भाइ जस्तो तिम्रो विचार । तिम्रो जिन्दगी, तिम्रो कुरा,’ भन्दै म उनीसँग छुट्टिएँ । त्यो भाइले बडो सहज ढङ्गसँग यी कुराहरू मलाई बताइरहँदा म भने यो समाज अचेल कतातिर जाँदै रहेछ भनेर सोच्न बाध्य भइरहेको थिएँ ।

वास्तवमै समाज यौनका दृष्टिले परिवर्तन भइरहेको छ भन्छन् । तर यो परिवर्तन यहाँसम्म पुगेको छ भन्ने चाहिँ मलाई थाहा थिएन । मलाई थाहा भएअनुसार यो समाजमा पहिला–पहिला एक पुरुषले धेरै पत्नी ल्याउन सक्ने स्थिति थियो । क्रमशः त्यो स्थिति रहेन । त्यसपछि समाजमा विवाहपश्चात् पनि गोप्य सम्बन्धहरू कायम राख्ने प्रचलन सुरु भयो । त्यस्ता गोप्य सम्बन्धहरू चाहे विवाहअघिका हुन् वा पछिका मानिसहरू त्यो कार्य लुकेर समाजसँग बचेर गर्न चाहन्थे । त्यस सम्बन्धमा परपुरुष या महिलासँग शारीरिक सम्बन्ध राखिए पनि आफ्ना परिवारप्रति उनीहरू संवेदनशील र जिम्मेवार नै देखिन्थे ।

धेरै पति–पत्नी यो समाजमा छन् जो लुकेर परपुरुष, परस्त्री वा अन्यसँग यौनसम्पर्क राख्छन् । धेरै केटाकेटी जो विदेशमा पढ्न गएको वा काम गर्न गएको केही समयमै पति–पत्नीजस्तै गरी (लिभिङ टुगेदर) साथसाथै बसिरहेका हुन्छन् ।

अब जुन सम्बन्धहरू देखिन थालेका छन्, यो सम्बन्ध विगतभन्दा एकदमै पृथक छ । अब मानिसहरू खुलमखुला ढङ्गले स्वतन्त्रपूर्वक नयाँ शारीरिक सम्बन्ध कायम राख्न र विवाहअघि नै एकै स्थानमा बसेर यौनलाई स्वीकार गर्नसमेत तयार देखिँदै छन् । यो परम्पराले निरन्तरता पाउँदै जाँदा आगामी समाजमा के–कस्ता दुस्प्रभावहरू निम्तिने छन् ? समाजशास्त्रीहरूले विशेष अध्ययन गर्ने समय आएको छ ।

मैले करिब आठ महिना पहिले एक अनौठो समस्या सामना गरेको थिएँ । मसँग परिचय राख्ने व्यक्ति केही वर्षका लागि अरब गएर दुःख–मिहिनेतका साथ नेपालमा पैसा पठाउँदै गएछन् । पठाएको पैसाबाट काठमाडौँमा सानो बास पनि जोडेछन् । तर उनकी पत्नी अरूसँग लागेकी रहिछन् । पति विदेश बसुन्जेल उनको परपुरुषसँगको सम्बन्धमा बाधा परेनछ । तर पति फर्किने भएपछि त्योभन्दा पहिल्यै उनी त्यस केटासँग भागिछन् ।

परिवारका खुसीका लागि अरबको उच्च तापक्रममा काम गर्ने पति फर्किँदा उनको सम्पत्ति केही भएनछ । किनकि उनले कमाएको सम्पूर्ण सम्पत्ति पत्नीको नाममा राखिदिएका रहेछन् । ती पति मकहाँ सके पत्नीसमेत नसके कम से कम आफ्नो घर फिर्ता पाउन सहयोग गरिमाग्न आएका थिए । पति कति सरल थिए भने अझै पनि उनले आफ्नी पत्नीलाई दोष नदिई उनलाई लैजाने त्यो ‘फटाहा’ केटोप्रति मात्र गुनासो गरिरहेका थिए ।

मैले अर्को घटना पनि देखेँ । पत्नी अमेरिका गएकी रहिछन् र पति नेपालमा । पत्नी सानो बच्चा पनि छोडेर गएकी रहिछिन् । पतिलाई त्यो बच्चाको पालनपोषण गर्ने जिम्मा दिएर उनी भने रातदिन विदेशमा परिश्रम गरिरहेकी रहिछन् । पतिले बच्चाको स्याहारसुसार र पढाइलाई भनेर प्रसस्त पैसा मगाउँदा रहेछन् र यहाँ त्यो पैसाले फेरी–फेरी केटी घुमाउने काम पनि गर्दा रहेछन् । पत्नी यति सोझी थिइन् कि केही दिन नेपाल आउँदा उनले यस्ता सम्बन्धको कुरा सुने पनि उनको रिस पतिभन्दा उनको जीवनमा फेरी–फेरी आउने महिलासँग बढी थियो ।

आज समाजमा अनैतिक सम्बन्धका अनेकौँ कारण देखिन्छन् । ती कारणहरू भएर पनि धेरै पुरुष तथा महिलाले आफ्नो नैतिकताको सीमा कोरेर त्यसभित्र आफूले आफूलाई बाँध्न सफल भएका छन् । हिजोका दिनमा यौनलाई कसरी मर्यादित रूपमा उपभोग गर्नुपर्छ भन्नेबारे सामाजिक मान्यताले पनि सीमा निर्धारण गरेको थियो । तर आजभोलि नयाँ पुस्ताले त्यो सीमा क्रमशः उल्लङ्घन गर्दै गएको छ । यो उल्लङ्घन हुनुमा हाम्रो सामाजिक मूल्य–मान्यता क्रमशः समाजबाट विस्थापित भएर जानु मात्र होइन, त्यसरी सीमा नाघ्न बाध्य बनाउने नयाँ–नयाँ कारण पनि बढ्दै छन् ।

पति वा पत्नी लामो समयका लागि विदेश जानु, अध्ययनका लागि एक्लै केटा–केटी युरोप–अमेरिकाजस्ता टाढाका मुलुकहरूमा पुग्नु, जागिर वा कामका सिलसिलामा घर छोडेर धेरै समय बाहिर बस्नु, पति–पत्नीबीच यौन सन्तुष्टि प्राप्त गर्न नसक्नु, कमाइधमाइ गर्न थालेपछि लोग्नेमान्छेजस्तै आइमाईमान्छेले पनि स्वतन्त्र जीवनयापन गर्ने चाहना राख्नु आदि यस्ता स्थितिहरू हुन् जहाँ समाजले यौन सम्बन्धमा बनाएका निश्चित बन्धनहरू तोडिन सक्छन् ।

धेरै पति–पत्नी यो समाजमा छन् जो लुकेर परपुरुष, परस्त्री वा अन्यसँग यौनसम्पर्क राख्छन् । धेरै केटाकेटी जो विदेशमा पढ्न गएको वा काम गर्न गएको केही समयमै पति–पत्नीजस्तै गरी (लिभिङ टुगेदर) साथसाथै बसिरहेका हुन्छन् । धेरै कामदार वा कर्मचारी जो सरुवा भएको ठाउँमा नै नयाँ सम्बन्ध बनाइरहेका हुन्छन् । धेरै महिला तथा पुरुष यस्ता पनि छन्, जो विवाह गर्न रुचाउँदैनन् तर यौन साथी (सेक्स पार्टनर) राख्न चाहन्छन् ।

विदेशमा अध्ययन गर्न जानेलाई कुनै न कुनै सहारा आवश्यक भयो, जसका कारण धेरैजसो ‘यौन साथी’ बनाउन बाध्य भए । यसले गर्दा विदेशमा जाने केटा–केटीलाई विवाह गर्ने रहर नै हुन छाड्यो ।

मलाई लाग्छ अवैध यौनसम्पर्कको स्थिति नेपालमा पनि दुई दशकयता बढ्दै गएको छ । त्यसो त सुरु–सुरुमा त्यो एउटा सीमाभित्र बाँधिएर रहन बाध्य थियो । तर जबदेखि पति–पत्नीमध्ये एक जना लामो समयका लागि र युवक–युवतीहरू पढाइका लागि बाहिर जाने प्रचलन सुरु भयो त्यसपछि एउटा नौलो समस्या हाम्रो समाजमा भित्रियो । विदेशमा गएका पति वा पत्नी बाध्यताबस ‘यौन साथी’ खोज्न विवश भए । जसले आफ्नो शारीरिक आवश्यकतालाई दबाउन सकेनन् ती भड्किए । विदेशमा अध्ययन गर्न जानेलाई कुनै न कुनै सहारा आवश्यक भयो, जसका कारण धेरैजसो ‘यौन साथी’ बनाउन बाध्य भए । यसले गर्दा विदेशमा जाने केटा–केटीलाई विवाह गर्ने रहर नै हुन छाड्यो । विवाहपश्चात् हुने यौनप्रतिको आकर्षण उनीहरूमा बाँकी रहेन ।

त्यसैगरी, लामो समय विदेश जाने पति वा पत्नीले अरूलाई नै जीवन सुम्पन थाले । हिजो हामी जवान हुँदा यौनको परिचय वंशको निरन्तरता र विवाहपश्चात्को नयाँ सुखद अनुभवसँग जोडिएको थियो । तर आज यो शारीरिक, जैविक आवश्यकता बढी भएको तर्क गरिँदै छ । जहाँसम्म वंश निरन्तरताको सवाल छ, महँगी र त्यसमा आउने झन्झटहरूले युवाहरूले वंश निरन्तरताप्रति अरूचि राख्दै गएका छन् । विवाहपश्चात् हुने रोमाञ्चकारी अनुभव पनि बाँकी नरहने हुँदा समाजमा विवाह नै गर्न नचाहने परम्परा पनि बढ्दै छ ।

त्यसमाथि अब त अर्को एक नयाँ अध्ययन पनि सुरु भएको रहेछ । करार वा सम्झौताको प्रेमसम्बन्ध । निश्चित अवधिका लागि प्रेमी–प्रेमिका हुने । वर्ष, महिना दिन जति होस्, यौनका क्षेत्रमा एउटा नौलो सम्बन्ध नेपाली समाजमा कसैले थाहै नपाउने गरी प्रवेश गरिसकेको रहेछ । निश्चित छ आउने दिनहरूमा यो नौलो अभ्यासले लाखौँ घरपरिवारलाई अशान्त बनाउने मात्र होइन, हजारौँ जोडी बीचमै टुट्नेछन्, भ्रुण–हत्या बढ्नेछ र लाखौँ बालबालिका आमाबाबु दुवैको समान मायाबाट वञ्चित हुनेछन् । समाजमा मानसिक रोगी, अपराध र घरायसी हिंसाका साथै आत्महत्याका घटना पनि बढ्नेछन् ।

यो त भयो आउने समाजको सम्भावित दृश्य । तर आउने दिनसँग निश्चिन्त रहेका ती भाइ र उनकी प्रेमिका भने अहिलेका लागि खुसी नै देखिन्छन्, दुईवर्षे प्रेममा नेपाली समाजमा यौन सम्बन्धको क्षेत्रमा एउटा नयाँ इतिहास बनाउँदै ।

jackson ribon