birat ribon

पुराना पाइपका कारण बनी नसक्दै भत्काइन्छ सडक

Neuro
पुराना पाइपका कारण बनी नसक्दै भत्काइन्छ सडक

मोहन ढकाल

विराटनगर / विराटनगर महानगरपालिकाभित्रका सडक निर्माण सम्पन्न भएको छोटो समयमा नै ठाउँठाउँमा भत्काउनु पर्ने अवस्था छ ।

cura insider

सडकबाट पाइप फुटेर पानी निक्लिन थालेपछि विभिन्न स्थानका सडक मर्मत गर्न सडक भत्काएर पाइप फेर्नुपर्ने अवस्था छ । कतिपय स्थानमा लामो समयदेखि पानी निक्लिएको भए पनि महानगरले मर्मतमा चासो देखाएको छैन ।

सडक निर्माण गर्दा पुराना पाइपले नै काम चलाएपछि निर्माण सम्पन्न भएको छोटो समयमा नै फुटेर सडकबाट पानी निक्लिने समस्या आएको जानकारहरू बताउँछन् । महानगरपालिका, क्षेत्रीय विकास परियोजना र खानेपानी संस्थानबीच प्रभावकारी समन्वयन हुँदा पनि यस्तो समस्या आउने गरेको छ ।

विराटनगरको तीनपैनी, जनता स्कुलअगाडि, रोडशेष, महानगरपालिकाअगाडि साथै अन्य स्थानमा पाइप फुटेर पानी निक्लिरहेको छ । कतिपय स्थानमा मर्मत कार्य हुँदै छ भने कतिपय स्थानमा लामो समयदेखि पानी निक्लिरहेको छ ।

विराटनगर धेरै पुरानो सहर भएका कारण खानेपानी संस्थानले राखेका पाइपहरू पनि पुराना भइसकेका कारण ठाउँठाउँमा यस्तो समस्या आएको क्षेत्रीय विकास परियोजनाका प्रमुख भरत न्यौपानेले बताए ।

सडक निर्माण गर्दा धेरै ठाउँमा पाइप मर्मत गरेको बताउँदै उनले भने, ‘मर्मत गरेको ठाउँमा पनि कतैकतै फुटेको छ, तर मर्मत गर्ने कार्य प्रोजेक्टले गरिरहेको छ ।’ दीर्घकालीन रुपमा सबै नयाँ सडकको दुवैतिरबाट पाइप नलगेसम्म समस्या आइरहने न्यौपानेको भनाइ छ । उनले भने, ‘पुरानो सहरमा ५० वर्षभन्दा पुराना पाइप छन्, हाम्रो कारणले नभएर पाइप पुरानो भएर समस्या आउने गरेको छ ।’

Exif_JPEG_420

‘उपभोक्तालाई पानी वितरण गर्ने र शुल्क उठाउने काम खानेपानी संस्थानले नै गर्ने भएकाले पुराना पाइप हटाएर नयाँ लगाउने कर्तव्य पनि संस्थानकै हो’, उनले भने, ‘बजेटको अभावका कारण नयाँ पाइप लगाउन सक्ने अवस्था नरहेको हुनसक्छ ।’ पाइप धेरै नै जीर्ण भएको र थोरै बजेट लाग्ने ठाउँमा नयाँ पाइप फेरेर नै सडक निर्माण गरेको उनको भनाइ छ ।

खानेपानी संस्थानले पनि ५०/६० वर्ष पुराना पाइप भएका कारण यस्तो समस्या आउने गरेको बताउने गरेको छ । खानेपानी संस्थान शाखा कार्यालय विराटनगरका प्रमुख शैलेन्द्रकुमार साहले भने, ‘पहिला साँघुरा सडक थिए, अहिले सडक पनि फराकिलो भएका छन्, पाइप पनि पुराना छन्, पाइप सडकमै परेका कारण यस्तो समस्या आएको हो ।’

नयाँ पाइप लगाउन बजेट धेरै लाग्ने भएकाले पुराना पाइप राखेर नै काम चलाइरहेको उनको भनाइ छ । सम्बन्धित निकायसँग सहकार्य गरेर मर्मतको काम गरिरहेको साहले बताए । विराटनगरको खानेपानी सुधारका लागि जाइका प्रोजेक्ट सञ्चालन भएपछि यस्तो समस्या नआउने र विराटनगरमा खानेपानीको क्षेत्रमा आमुल परिवर्तन आउने साहले बताए ।

jackson ribon