birat ribon

इन्सपेक्टर ढकालको नेतृत्वमा सफल बन्यो बेलबारी प्रहरी

Neuro
इन्सपेक्टर ढकालको नेतृत्वमा सफल बन्यो बेलबारी प्रहरी

विराटनगर / प्रहरी निरीक्षक (इन्सपेक्टर) ऋषिराज ढकालको नेतृत्वमा रहेको मोरङको इलाका प्रहरी कार्यालय बेलबारी अपराध नियन्त्रण र अनुसन्धानमा सफल बनेको छ ।

मोरङमा अपराधिक गतिविधी धेरै हुने इलाकाभित्र पर्ने बेलबारी पूर्व–पश्चिम लोकमार्गसँग जोडिएको छ । लगभग एक वर्ष अधि बेलबारी प्रहरी प्रमुखको जिम्मेवारी पाएका ढकालकै नेतृत्वमा प्रहरीले सफलता प्राप्त गरेको हो । समाजमा व्याप्त गुण्डागर्दी, चोरी तस्करी, अवैध उत्खनन्, बालविवाह, बहुविवाह, लागुऔषधको ओसारपसार, अवैध गतिविधी लगायत जघन्य प्रकृतिका विभिन्न अपराध नियन्त्रणमा चलाइएका अभियानले सार्थकता पाउँदा उनी अब्बल दरिएका हुन् ।

cura insider

आफ्नै नेतृत्वमा प्रहरी लिएर फिल्डमा खट्ने र विशेष सर्च अभियान चलाउने गरेका ढकाल आफ्नो कार्यकालमा कुनै पनि विवादमा तानिएनन् । आर्थिकदेखि लिएर अन्य कुनै लोचलालच एवं प्रलोभनमा नफसिकन कानुन कार्यान्वयनमा प्रतिवद्ध बनेर अपराध नियन्त्रण तथा अनुसन्धानमा सम्झौता नगर्ने कार्यशैलीले उनलाई सफल बनाएको हो ।

एक वर्षको अवधिमा बेलबारी प्रहरीले उल्लेख्य सफलता हात पारेको तथ्याङ्ले पनि देखाएको छ । २०७७ वैशाखबाट हालसम्म बेलबारी प्रहरीले विभिन्न अपराधसँग सम्बन्धित तीन सयभन्दा बढी मुद्दा दर्ता गरेको छ । तत्कालीन इन्सपेक्टर गुणराज बुढाथोकी अनेक विवादमा मुछिएपछि कारबाहीका लागि तानेर उनको ठाउँमा प्रमुखको जिम्मेवारी दिएर २०७७ वैशाख १४ गतेबाट ढकाललाई बेलबारी खटाइएको थियो ।

मोरङमा रहेका प्रहरीका युनिटहरुमध्ये अपराधिक घटना र मुद्दाको चाप अत्याधिक हुने इलाका प्रहरी कार्यालय बेलबारी ।

केही दिनअघि मात्रै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा सरुवा भएका ढकालको ठाउँमा प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर सरोज खनाललाई पठाएको छ । स्थानीय नागरिक अगुवा बेलबारीमा ढकालले बसाएको थीतिलाई आगामी दिनमा आउने प्रहरी अधिकृतले निरन्तरता दिनुपर्नेमा जोड दिन्छन् । प्रहरीका उच्च अधिकारी पनि ढकालको नेतृत्वमा बेलबारीमा महत्वपूर्ण उपलब्धी प्रहरीले हाँसिल गरेर सफलता प्राप्त गरेको विश्लेषण गर्छन् ।

समुदाय–प्रहरी साझेदारीअन्तर्गत ४५ वटा विभिन्न सचेतनामुलक कार्यक्रम एक वर्षको अवधिमा बेलबारी प्रहरीले गरेको छ । जनसम्पर्क बढाउने तथा जनचेतना फैल्याउने उदेश्यले समुदायसम्म पुगेर प्रहरीले सचेतनामुलक सन्देश प्रवाह गर्ने खालका कार्यक्रम सञ्चालन गरेको हो । ढकालले शान्ति सुरक्षामा चुनौतीका रुपमा देखा परेका लागुऔषधको ओसारपसार एवं कारोबार, जातीय छुवाछूत, बालविवाह, बहुविवाह, आत्महत्या, अवैध मदिराको ओसारपसार तथा किनबेच, साइबर अपराध लगायत विभिन्न जघन्य प्रकृतिका अपराध नियन्त्रणमा विशेष अभियान चलाए । जसका कारण प्रहरीले सफलता हात पारेको विश्लेषण गरिएको छ ।

शान्ति सुरक्षाको अवस्था मजवुत बनाएर समाजलाई सुरक्षित राख्न र अपराध नियन्त्रणमा सफलता प्राप्त गर्न विभिन्न सचेतनामुलक कार्यक्रम फलदायी बनिरहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । ‘अपराध नियन्त्रण प्रहरी एक्लैबाट सम्भव हुँदैन,’ उनले भने, ‘विभिन्न कार्यक्रममार्फत प्रहरी–नागरिक सम्बन्ध सुधार र अपराध नियन्त्रण सहज बन्दै गइरहेको छ ।’ समुदाय–प्रहरी साझेदारीमार्फत जनसम्पर्क बढ्दा प्रहरीलाई चाँडो सूचना प्राप्त भएर विभिन्न सम्भावित अपराध नियन्त्रणमा पनि सजिलो भएको एसपी खड्काको भनाइ छ ।

बेलबारी प्रहरीले एक वर्षको अवधिमा तीन हजार ६० लिटर अवैध घरेलु मदिरा तथा ठूलो परिणाममा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरेको छ । यसको कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउँदै ओसारपसारमा प्रयोग गरिएकामध्ये एउटा बस, दुईवटा मारुती भेन, दुईवटा अटो टेम्पो, एउटा स्कुटर र चारवटा साइकल प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध मदिरा नियन्त्रणमा क्रममा सात लाख ८१ हजार रुपैयाँ राजस्व पनि संकलन भएको ढकालले बताए ।

नदीजन्य पदार्थको अवैध उत्खनन्मा प्रयोग गरिएकामध्ये ७७ वटा ट्याक्टर, १० वटा टिपर, तीनवटा जेसीबीसहित त्यसमा संलग्न छ जनालाई नियन्त्रणमा लिएर ढकाल नेतृत्वकै टोलीले कारबाहीको दायरामा ल्याएको छ । जसबाट नौ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यहि अवधिमा तस्करीका ६७ वटा गोरु, तीनवटा ट्रक र त्यसमा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

संयुक्त ट्राफिक चेकजाँचबाट एक करोड २६ लाख ४४ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको जानकारी ढकालले दिए । विभिन्न अपराधमा संलग्न भएर अदालतबाट दोषी ठहर भइसके पनि फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेर प्रहरीले २५ दिन कैद र दुई लाख छ हजार रुपैयाँ जरिवाना असुल गरेको छ । हराएकामध्ये ५५ वटा मोबाइल र ११ वटा मोटरसाइकल फेला पारेर ढकाल नेतृत्वकै टोलीले सम्बन्धित धनीलाई बुझाएको छ । प्रहरीले ५१ वटा क्यूफिट अवैध काठ बरामद गरेर दुई लाख १० हजार रुपैयाँ राजस्व उठाउँदै काठ तस्करीमा संलग्नलाई कारबाहीको दायरामा ल्याएको छ ।

बेलबारी प्रहरीले वर्ष दिनभित्र विभिन्न अपराधमध्ये सार्वजनिक शान्तिविरुद्धको कसूरमा एउटा, कर्तव्य ज्यान दुई, ज्यान मार्ने उद्योग ११, भवितव्य ज्यान ४०, सवारीबाट भवितव्य नौ, चोरी १३ र जातीय भेदभाव तथा छुवाछूत कसूरमा एउटावटा मुद्दा दर्ता गरेको छ । त्यस्तै अपहरण तथा शरीर बन्धक एक, जुवा ऐन दुई, बैंकिङ कसूर दुई, जबरजस्ती करणी सम्बन्धी २३, करणी उद्योगका १९, अप्राकृतिक मैथुन एउटा, बोक्सी आरोप एक, अभद्र व्यवहार ४९, बहुविवाह १३, सवारी ज्यान ४१, सवारी अंगभंग पाँच, कुटपिट अंगभंग पाँच, लागुऔषध २४, आगो लगाएको कसूरमा एउटा र पशुपक्षी सम्बन्धी एउटा मुद्दा प्रहरीले चलाएको छ । बेलबारी इलाकामा एक वर्षको अवधिमा आत्महत्याका ४५ र विष सेवन गरेर आत्महत्या गरिएका नौवटा घटना भएका छन् ।

jackson ribon