birat ribon

मुनामदन खण्डकाव्यमा पूर्णोपमा र लुप्तोपमा अलङ्कार

Neuro
मुनामदन खण्डकाव्यमा पूर्णोपमा र लुप्तोपमा अलङ्कार

खेचबहादुर खडका

१.विषयप्रवेश

cura insider

महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘मुनामदन’ (१९९२) खण्डकाव्य नेपाली खण्डकाव्य परम्पराको एक समृद्ध काव्यचेत भएको र पर्याप्त लोकप्रसिद्धि पाएको काव्यकृतिका रूपमा चिनिन्छ । काठमाडौँको नेवारी समाजमा प्रचलित लोक आख्यान ‘जी वया ल लछी मडुनी’को आख्यानलाई मूल आधार बनाएर यस काव्यको रचना गरिएको उक्त नेवारी आख्यानबाट स्पष्टिन्छ । यो कुरालाई ‘प्रसिद्ध विषयवस्तुमा मौलिक कल्पनाको समेत मिश्रण गरेर त्यसलाई लोकलयमा बाँधी व्यक्त गर्ने आख्यानकला’ (अवस्थी, २०६४ः७७) भन्ने भनाइले पनि पुष्टि गर्दछ । ‘मुनामदन’लाई नेपाली खण्डकाव्यको परम्परामा स्वच्छन्दतावादलाई आमन्त्रण गर्ने पहिलो खण्डकाव्यको ऐतिहासिक श्रेय पनि प्राप्त छ ।

यसप्रकार नेपाली खण्डकाव्य परम्पराको एउटा कोशेढुङ्गोका रूपमा रहेको यो खण्डकाव्य साहित्यका अन्य विविध तŒवहरूका साथै विभिन्न शब्दालङ्कार र अर्थालङ्कारको दृष्टिले पनि निकै समृद्ध छ । यस लेखोटमा महाकवि देवकोटाको सिर्जनायात्राको उच्च उपलब्धिका साथै नेपाली खण्डकाव्य परम्पराको समेत उच्च प्राप्तिका रूपमा चिनिएको ‘मुनामदन’ खण्डकाव्यमा साहित्यिक अलङ्कारका विविध प्रकारमध्ये उपमाअन्तर्गतका पूर्णोपमा र लुप्तोपमा अलङ्कारको के कस्तो प्रयोग भएको छ, सोही कुराको खोजी गर्ने प्रयास गरिएको छ ।

२.उपमा अलङ्कारको सैद्धान्तिक चिनारी

संस्कृत काव्य परम्परामा अलङ्कारवादी सम्प्रदाय एक समृद्ध सम्प्रदायका रूपमा रहेको छ । वैदिक संहितादेखि नै प्रयोग हुँदै आएका विविध अलङ्कारका बारेमा पहिलो सामान्य उल्लेख आचार्य भरतले गरेको भेटिन्छ । भरतले ‘उपमा, दीपकं चैव रूपकं यमकं तथा, काव्यस्यैते ह्यलङ्काराश्चत्वारः परिकीर्तिताः ।’ (ना.शा.१६ः४०) भनेर यी चार अलङ्कारको अस्तित्वलाई नाटकको सैद्धान्तिक चर्चाका सन्दर्भमा उल्लेख गरेका छन् । अलङ्कारका बारेमा विशद सैद्धान्तिक लेखाजोखा गरेर यसलाई व्यवस्थित रूपमा चिनाउने काम भने आचार्य भामहबाट भएको पाइन्छ । भामहपछिका दण्डी, वामन, रूद्रट, उद्भट आदि उत्तरवर्ती धेरै विद्वानहरूले यसबारे सैद्धान्तिक बहस र चर्चा गर्दै आएको परम्परा छँदैछ । यसबाट अलङ्कार सिद्धान्त एउटा सिद्धान्त मात्र नभई संस्कृत साहित्यशास्त्रको समृद्ध सम्प्रदायकै रूपमा रहेको कुरा सिद्ध हुन्छ ।

‘अलम्+कृ+घञ्’बाट निर्मित यस शब्दलाई शोभाकारक वा शोभावर्धक तŒवका रूपमा अथ्र्याउने गरिन्छ । अलङ्कारलाई अथ्र्याउने मनीषीहरूले ‘अलङ्कृयते अनेन भनेर साधनका रूपमा र कसैले अलङ्करोतीति अलङ्कारः भनेर प्रमुख सौन्दर्याधायक तत्त्वका रूपमा समेत अथ्र्याएको पाइन्छ । यसबाट आचार्यहरूमा धेरै मतभेदहरू पनि रहेको देखिन्छ तर पनि अलङ्कारको अस्तित्वलाई भने सबै विद्वानहरूले स्वीकारेकै छन् र यसका विविध भेदबारे चर्चा गरेका छन् ।

काव्यमा शब्दका माध्यमबाट सौन्दर्यको सृष्टि गर्ने शब्दालङ्कार र अर्थका माध्यमबाट सौन्दर्य सृष्टि गर्ने अर्थालङ्कार गरी अलङ्कारका प्रमुख दुई भेद गरिएको छ । यी दुई प्रमुख भेदमध्ये अर्थालङ्कारका पनि विभिन्न भेदमध्येको एउटा भेद उपमा हो । उपमालाई आचार्य विश्वनाथले “साम्यं वाच्यमवैधम्र्यं वाक्यैके उपमाद्वयोः (साहित्यदर्पण, १० : १२) अर्थात् एक वाक्यमा उपमान र उपमेय दुवै पदार्थको वैधम्र्यरहित वाच्यसादृश्य नै उपमा हो भनेर परिभाषित गरेका छन् । उपमाको व्युत्पत्तिगत अर्थ हुन्छ उप≠समीपे मीयते≠परिच्छदते अनया इति उपमा अर्थात् जसबाट नजिककोे सम्बन्ध स्थापित गरिन्छ त्याृे उपमा हो । यसका उपमेय (जसलाई उपमा दिइन्छ), उपमान (जसद्वारा उपमित गरिन्छ) सामान्य धर्म (उपमान र उपमेयको साझा गुण) र उपमान उपमेयबीच तुल्यता जनाउनेझैँ, सरी, जस्तै आदि वाचक शब्द गरी चार उपकरण हुन्छन् (सहाय, ई.१९७४ : ९१) यसमा उपमेयभन्दा उपमान विशिष्ट गुणयुक्त हुन्छ ।

उपमेय साध्य हो भने उपमान साधन । अतः उपमामा उपमानमा रहने विशिष्ट गुणलाई उपमेयसँग दाँजेर उपमेयलाई पनि उपमानजस्तै विशिष्ट तुल्याइन्छ । जस्तै : जूनजस्तै उज्यालो अनुहार । यहाँ उपमाका चारै उपकरण आएका छन् । यहाँ ‘अनुहार’ उपमेय, ‘जून’ उपमान, ‘उज्यालो’ साझा धर्म वा गुण र ‘जस्तै’ वाचक शब्द हुन् । अनुहारभन्दा जून विशिष्ट छ । जून र अनुहारमा हुने कान्ति वा दीप्तिरूपी उज्यालो समान धर्म छ तर त्यो उज्यालो अनुहारमा भन्दा कैयौँ गुणा बढी उज्यालो छ जूनमा । किनभने उज्यालो अनुहारले अँध्यारामा साँच्चैको उज्यालो दिन सक्दैन तर जूनको उज्यालो साँच्चैको प्रकाश हो । अतः यहाँ उपमेयभन्दा विशिष्ट गुणयुक्त वस्तु (उपमान) द्वारा उपमेयलाई समेत विशिष्ट तुल्याइएको हुनाले यहाँ उपमा अलङ्कार छ ।

विद्वानहरूले उपमा अलङ्कारका विविध सूक्ष्मातिसूक्ष्म भेदहरूको चर्चा गरेका छन् । यसका पूर्णाेपमा, लुप्तोपमा, मालोपमा र रसनोपमा यी मुख्य चारवटा भेद र तिनका विविध उपभेदसमेत गरी यी भेदोपभेदको सङ्ख्या ‘तेनोपमाया भेदाः स्युः सप्तविंशति सङ्ख्यकाः’ (साहित्य दर्पण, १० : २३) भनेर २७ सम्म बताइएको छ । उपमाका ती चार मुख्य भेदमध्ये पनि नेपाली साहित्यका सन्दर्भमा पूर्णोपमा र लुप्तोपमाको मात्र स्पष्ट रूपमा प्रयोग भएको देखिन्छ । ‘मुनामदन’ खण्डकाव्यका सन्दर्भमा पनि पूर्णोपमा र लुप्तोपमाको मात्र प्रयोग स्पष्ट रूपमा देखिएको हुनाले तिनै दुई भेदका आधारमा मात्र यस खण्डकाव्यको अध्ययन गरिएको छ ।

३. मुनामदन खण्डकाव्यमा पूर्णोपमा र लुप्तोपमा

‘मुनामदन’ खण्डकाव्य उपमा अलङ्कारको प्रयोगका दृष्टिले निकै समृद्ध कृति मानिन्छ । चन्द्रमाको उपमानद्वारा यस काव्यकी नायिका मुनाको मुखको सौन्दर्य वर्णन नेपाली साहित्यकै अद्वितीय रही आएको छ । नेपाली काव्यका सन्दर्भमा यस उपमाको प्रयोगको सन्दर्भ ‘दीपशिखा कालीदास’ तुल्य देखिन्छ । यहाँ प्रस्तुत खण्डकाव्यमा पूर्णोपमा र लुप्तोपमाको प्रयोग के कस्तो रूपमा भएको छ, त्यसैको खोजी गर्ने प्रयास गरिएको छ ।

क) पूर्णोपमा : उपमा अलङ्कारका लागि आवश्यक मानिएका उपमान, उपमेय, वाचक शब्द र साधारण धर्म यी चारै उपकरणहकरूको स्पष्ट प्रयोग देखिने उपमा नै पूर्णोपमा हो । (सा पूर्णाः यदि सामान्यधर्म औपम्यवाचि च । उपमेयम् चोपमानम् भवेद्वाच्यम् …(साहित्यदर्पण, १० : १५) माथि शीर्षक २ मा दिइएको ‘जून जस्तै उज्यालो अनुहार’ भन्ने उदाहरण पूर्णोपमा हो । किनभने यसमा अनुहार उपमेय, जून उपमान, उज्यालो साधारण धर्म र जस्तै सादृश्यवाचक शब्दको प्रत्यक्ष प्रयोग छ । यस आधारमा ‘मुनामदन’ खण्डकाव्यभित्र पस्दा त्यहाँ पूर्णोपमाको थुप्रै ठाउँमा प्रयोग भएको पाइन्छ । त्यसका केही नमूनाहरू निम्नानुसार छन् :
‘सिम्सिमे पानी बतास चिसो बरफझैँ डुलेको’ (मुनामदन, ६)
‘आकाश छुने पहाडजस्तो सुनबुट्टे तामाको,
सुनको छाना दर्बार अजङ्ग त्यो दले लामाको’ (उही, पृ.६)

यी उदाहरणमध्ये पहिलोमा ‘बरफझैँ चिसो बतास’ यहाँ उपमाको प्रयोग भएको छ । यसमा उपमान बरफ, उपमेय बतास, चिसो समान धर्म र झैँ सादृश्यवाचक शब्दको प्रयोगद्वारा उपमान र उपमेयबीच सादृश्य स्थापित भएको छ । यसरी उपमाका चारै उपकरणको प्रत्यक्ष प्रयोग देखिएकाले यहाँ पूर्णोपमा छ र बतासको चिसोपनका लागि बरफको बिम्ब प्रयोग गरेर यहाँ आलङ्कारिक सौन्दर्य सृष्टि गरिएको छ । त्यसैगरी, दोस्रो उदाहरणमा पहाड र दरबार क्रमशः उपमान र उपमेय छन् भने ‘जस्तो’ सादृश्यवाचक शब्द र ‘अजङ्ग’ (विशाल) उपमान र उपमेयको साधारण धर्म रहेकाले यहाँ पनि पूर्णोपमाको स्थिति रहेको छ । खण्डकाव्यभरि यस्ता थुप्रै उदाहरण पाउन सकिन्छ ।

ख) लुप्तोपमा : उपमा अलङ्कारका चारै उपकरणमध्ये एक वा दुई वा तीन उपकरण लुप्त भएको अवस्थालाई लुप्तोपमा भनिएको छ । ‘लुप्ता सामान्यधर्मादेरेकस्य यदि वा द्वयोः । त्रयाणां तामुपादाने…’(साहित्य दर्पण, १० : १७) जस्तै : प्रिये ! तिम्रो मुख चन्द्रजस्तो, हातहरू पाउलाजस्ता, कुरा अमृतजस्ता, ओठ बिमिरोजस्ता तर मन भने ढुङ्गाजस्तो ! (मुखमिन्दुर्यथा पाणिः पल्लवेन समः प्रिये ! वाचः सुधा इवोष्ठस्ते बिम्बतुल्यो मनोद्रश्मवत्) यी सबै उदाहरणमा क्रमशः उज्यालो, कोमल, मीठो, सुन्दर र कठोर यी साधारण धर्म लोप भएको छ । त्यसैले यो लुप्तोपमा हो । त्यस्तै ‘मृगलोचना शोभित हुन्छे’ यहाँ वाचक शब्द, सामान्य धर्म र उपमेय यी तीनैको लोप छ । ‘मुनामदन’ खण्डकाव्यमा लुप्तोपमाका पनि थुप्रै उदाहरण पाइन्छन् ।

४. निष्कर्ष

महाकवि देवकोटारचित ‘मुनामदन’ खण्डकाव्य आलङ्कारिक सौन्दर्यसृष्टिका दृष्टिले निकै समृद्ध रहेको छ । उपमा अलङ्कारका चार प्रमुख भेदमध्ये पूर्णोपमा र लुप्तोपमाको प्रयोगका थुप्रै उदाहरण यसमा पाउन सकिन्छ । काव्यमा सौन्दर्यसृष्टिको प्रमुख कारकमध्येको एक मानिने अलङ्कारको सहज र स्वाभाविक प्रयोगले यस काव्यको सहज सौन्दर्यलाई उत्कर्षमा पु¥याएको देखिन्छ । उपमा अलङ्कारका यी प्रमुख प्रकारहरूको स्वतःस्फूर्त उपस्थितिले काव्यमा सिर्जना गरेको अभिव्यक्ति चमत्कार यस काव्यको अपूर्व उपलब्धि हो । कुनै आयोजना नगरीकनै कविताको स्वतःस्फूर्त बेगसँगै बेगिएर अथवा कविताको मूल भावसँग एकाकार भएर यी अलङ्कारहरू उपस्थित भएका छन् । अतः ‘मुनामदन’ खण्डकाव्यको आलङ्कारिक सौन्दर्य अकृत्रिम, सहज र प्राकृत पनि बन्न पुगेको छ ।

सन्दर्भ ग्रन्थसूची
अवस्थी, महादेव, २०६४, आधुनिक नेपाली महाकाव्य र खण्डकाव्यको विमर्श, काठमाडौँ :
इन्टेलेक्च्युअल बुक प्यालेस
देवकोटा, लक्ष्मीप्रसाद, २०६५, मुनामदन पच्चीसौँ संस्करण, ललितपुर : साझा प्रकाशन
विश्वनाथ, २०५३, साहित्य दर्पण, वाराणसी : कृष्णदास अकादमी
सहाय, राजवंश ‘हीरा’, ई.१९७४, अलङ्कारोँका ऐतिहासिक विकास, पटना : बिहार हिन्दी ग्रन्थ अकादमी

jackson ribon