birat ribon

बीस रुपियाँको त्यो नोट

Neuro
बीस रुपियाँको त्यो नोट
सनत सापकोटा

त्यतिबेला डरको कुरा थियो, पछि लाज भयो । अहिले सम्झिँदा हाँसो लाग्छ ।

कुरा २६–२७ वर्षअघिको हो, जब म १०–११ वर्षको थिएँ ।

cura insider

श्रीराम अङ्कलको भर्खरै विवाह भएको थियो । नवविवाहित दम्पतीका लागि पहिलो वर्षका चाड कति विशेष हुन्छन् त्यो भनिरहनुपरेन । वर्षभरि नै दुलाहा–दुलही नयाँ हुन्छन् ।

अङ्कलको विवाहपछिको पहिलो दसैँ थियो । ससुराली जान घरमा अङ्कल–अन्टीको व्यापक तयारी हुँदै थियो । घरको टीकाटालो सकेपछि अङ्कल–अन्टी माइती–ससुराली जान तयार हुनुभयो ।

‘म पनि अङ्कल–अन्टीसँगै जान्छु’– मैले भनेँ । बाले हकार्नुभयो । ‘नाइँ’– मैले जिद्दी गरेँ । म परेँ घरको जेठो बालक । प्यारो थिएँ, त्यसैले मेरो जिद्दीलाई हत्पती कसैले टार्दैनथे ।

फेरि मेरो मावली र अङ्कलको ससुराली वल्लो–पल्लो गाउँ । नालावारि तमौलीपुर मेरो मावली, नालापारि गोब्रेपुर अङ्कलको ससुराली ।

‘ल ल हिँड्’– अङ्कल मलाई लैजान तयार हुनुभयो । ‘तपाईंहरु आउँदै गर्नोस्, म लिएर जान्छु’– अङ्कलले बासित भन्नुभयो ।

म भोलिपल्ट भए पनि आफ्नो मावली जान सक्थेँ । जहिले पुगे पनि मामाघरमा पाइने हाम्रो दक्षिना सुरक्षित हुन्थ्यो ।

हामी लाग्यौँ, अङ्कलको ससुरालीतर्फ । बाटोमा अङ्कल–अन्टीलाई सबैले हेर्थे । कोही सोध्थे– ‘बाबु ! ससुराली हिँडेको ?’ कोही भने जिस्क्याएझैँ भन्थे– ‘आहा ! क्या मिलेको जोडी ।’

प्रतिक्रियामा अङ्कल फिस्स हाँसिदिनुहुन्थ्यो । अन्टी भने लाजले शिर निहुराउनुहुन्थ्यो । म भने यी सबै घटनाबाट निस्पृह थिएँ ।

बाटोमा अङ्कल–अन्टी के–के कुरा गरेर जिस्किनुहुन्थ्यो, म कति बुझ्थेँ, कति बुझ्दिनथेँ ।

गोब्रेपुर पुग्दा साँझ झमक्क परिसकेको थियो । अन्टीका बाआमा नयाँ छोरीज्वाइँलाई कुरेर बसिरहेका रहेछन् ।

‘मनमनै आशिष दिएर काँ हुन्च भाउजू, मनमनै त के था आशिष दिनुहुन्च कि ‘तँ पक्लक्क भएस्’ भनेर सराप्नुहुन्च ।’

जानेबित्तिकै खाटमा काम्लो ओछ्याइदिए । ‘यता बसम् ज्वाइँ’– अन्टीका बाले भन्नुभयो ।

‘ढिलो अर्नुभओ नि ज्वाइँ’– अन्टीकी आमाले भन्नुभयो ।

‘घरको टीकोटालो भ्यार आउँदा यतिबेला भयो’– जवाफ अन्टीले दिनुभयो ।

खासमा ढिलोसिलो केही भएको थिएन । घरको टीकाटालो सकेर, दुई तीन घन्टाको पैदल बाटो हिँडेर यतिबेला आइपुग्नु ढिलो थिएन । यो अन्टीकी आमालाई पनि थाहा थियो । तर, उहाँले औपचारिकतावश ज्वाइँसँग बोल्ने निहुँमा सायद यसो भन्नुभएको थियो ।

‘घरतिर सबै आरामै हुनुहुन्छ ?’ अन्टीका बाले सोध्नुभयो ।

केहीबेरको कुशलक्षम पछि अन्टीका बाआमाले टीका लाइदिने सुरसार गर्नुभयो । ‘ल अब पहिला टीका लाम, भोक पनि लायो होला’– अन्टीकी आमाले भन्नुभयो ।

पहिला अङ्कललाई अनि अन्टीलाई, त्यसपछि मलाई पालैपालो दुवै जनाले टीका लगाइदिनुभयो । अन्टीका बा टीकासँगै भट्याउन थाल्नुभयो– ‘जयन्ती मंगलाकाली भद्रकाली, कपालिनी…… ।’

‘आफूलाई त मन्त्र भन्न नि आउँदैन, मनमनै आशिक दिन्चु’– अन्टीकी आमाले भन्नुभयो । अङ्कल मुसुमुसु हाँसिरहनुभयो । सायद ससुराली, त्यो पनि पहिलो वर्ष नभएको भए उहाँ केही न केही ठट्यौली अवश्य गर्नुहुन्थ्यो ।

अघिल्लो वर्ष दसैँमा मेरी आमाले टीका लगाइदिँदै यही कुरा भन्दा अङ्कलले ठट्टा गर्दै भन्नुभएको थियो, ‘मनमनै आशिष दिएर काँ हुन्च भाउजू, मनमनै त के था आशिष दिनुहुन्च कि ‘तँ पक्लक्क भएस्’ भनेर सराप्नुहुन्च ।’

साइँला अङ्कललाई देख्दा अहिले पनि मलाई हास्यकलाकार राजाराम पौडेलको झल्को आउँछ । उहाँ राजारामकै शैलीमा ठट्टा गर्नुहुन्छ । पछि त्यही शैलीमा उहाँले स्थानीय स्तरमा प्रदर्शन गरिएका केही नाटकमा हास्यकलाकारको भूमिका पनि गर्नुभएको थियो ।

अङ्कल कहिले के, कहिले के भनेर परिवारमा ठट्यौली गरिरहनुहुन्थ्यो । हरेक चाडबाड वा पारिवारिक भेलामा अङ्कलले गरेका ठट्यौली स्मरणीय हुन्छन् । अहिले पनि सायद यस्तै केही सोचेर हाँस्नुभएको थियो ।

अङ्कललाई दुवै जनाले पालैपालो एक–एकवटा खाम थमाउनुभयो । अन्टीलाई हातमै अलि गोप्य ढंगले दक्षिना राखिदिनुभयो ।

मतिर हेर्दै अन्टीकी आमाले भन्नुभयो– ‘ल अब बाबुले के लिनि त नि ?’ म केही बोलिनँ । दुई रुपियाँको नोट दिँदै उहाँले मलाई काखमा लिनुभयो । ‘अनि आमा आइनन्’– उहाँले सोध्नुभयो ।

पछि–पछि थाहा पाएँ, उहाँ मेरी आमालाई कति माया गर्नुहुँदो रहेछ । उहाँले आफ्नी छोरी र मेरी आमामा कहिल्यै विभेद गर्नुभएन । कहिलेकाहीँ छोरी भेट्न आउँदा आमालाई पनि उपहार र कोसेली ल्याइदिनुहुन्थ्यो । ‘छोरी तिमी साह्रै सोझी छौ’– उहाँ मेरी आमालाई पनि छोरी नै भनेर बोलाउनुहुन्थ्यो । पछि बाँसगढीतिर बसाइ सरेपछि पनि आमालाई आफ्नो घरमा आउन बारम्बार भनिरहनुहुन्थ्यो ।

‘ल अब भान्छा अरम्’– अन्टीकी आमाले भन्नुभयो ।

‘आमा हामी पल्लो घरतिर गरआउँचम्’– अन्टीले भन्नुभयो । अङ्कल, अन्टी र म टीका थाप्न पल्लो घरतिर गयौँ, अन्टीकी आमा खाना तयार गर्न भान्छातिर लाग्नुभयो ।

त्यहाँ पनि टीका थाप्न फाट्टफुट्ट एक–दुई जना आउने क्रम चलिरहेको थियो ।

छिमेकका एक दुई घरमा टीका लगाएपछि हामी फर्कियौँ । अन्टी आमासँगै भान्छातिर लाग्नुभयो । हामी पुरानै स्थानमा आएर बस्यौँ । एकछिनमा अन्टीकी आमा हातमा लोटा लिएर आउनुभयो– ‘ल ज्वाइँ भान्छा अर्न जाम् ।’

चोरले जस्तो दायाँबायाँ हेरेँ, कोही थिएन । खुसुक्क खल्तीबाट खाम निकालेर जूनको उज्यालोमा हेरेँ । खामभित्र एउटा रातो नोट रहेछ । म नोट देख्नेबित्तिकै झन् खुसी भएँ । किनकि, नोट नयाँ थियो । मलाई नोटको मूल्यले भन्दा त्यसको नयाँपनले आकर्षित ग¥यो । पाँच हो वा बीस सुरुमा ठम्याउन सकिनँ । नियालेर हेरेपछि बीसको भन्ने पक्का भयो ।

अङ्कल चौकामा खान बस्नुभयो । चरेसको थाल, थाल वरिपरि कचौरै कचौरा । मलाई तल थर्कटो ओछ्याएर स्टिलको खोपे थालमा खान दिइयो । खोपे थालमा खान पाएपछि आफू त्यसै दङ्ग ।

अन्टीका बाआमा अङ्कललाई खुब खातिरदारी गर्थे । बाहिर निस्कन परे टर्च बाल्दै बूढा अघिपछि गर्थे । त्यो समयमा बिजुली बत्ती थिएन । मैले पहिलोपल्ट अङ्कललाई यति मानमनितो गरेको देखेँ । घरमा त हजुरआमा अङ्कललाई प्रायः सधैँ भन्ने गर्नुहुन्थ्यो– ‘ओए सिरे भात खान आइजा ।’ लाग्यो, ज्वाइँ भएपछि खुब मान पाइँदो रहेछ ।

खाना खाइसकेपछि अन्टीका आमाछोरी चुलोचौकोतिरै अल्मलिए । अन्टीका बा, अङ्कल र म भने वल्लो कोठामा आएर बस्यौँ । एकछिन ज्वाइँ ससुराबीच भलाकुसारी भए । ‘ज्वाइँ यसपालि घरतिर धान कस्तो छ त नि ?’ बूढा सोध्थे । ‘ठीकै छ’– अङ्कल छोटो जवाफमै टुङ्ग्याइदिनुहुन्थ्यो । अङ्कल आफ्नो स्वभावभन्दा निकै भिन्न हुनुभएको थियो ।

अन्टीका बा बस्तुभाउलाई घाँसपराल गर्न भन्दै बाहिर निस्कनुभयो । अङ्कल पनि कुन्नि किन उहाँकै पछि–पछि लाग्नुभो । कोठामा म एक्लै भएँ । मेरा आँखा यताउता डुल्न थाले । यस्तैमा मेरा आँखा खाट तल खसेको एउटा खाममा परे ।

यसो हेरेँ खाम एकसरो पट्याइएको थियो । खाम खाली भएर फालिएजस्तो थिएन ।

खाम हातमा लिएँ । नभन्दै खाम त दामसहितको पो रहेछ । खोलेर हेर्छु भन्दाभन्दै कोठाभित्र कोही पस्न लागेको जस्तो लाग्यो । हत्तपत्त खामलाई पाइन्टको खल्तीभित्र घुसारेँ ।

चुलोचौकाको काम सकेपछि अन्टीका आमाछोरी कोठामा आए । ‘ज्वाइँलाई निद्रा लायो होला’– अन्टीकी आमाले भन्नुभयो– ‘दिनभरिको थकाइ ।’

अन्टीकी आमा विस्ताराको बन्दोबस्त गर्नतिर लाग्नुभयो । मेरो ध्यान भने एकोहोरो त्यही खामतिर थियो । मलाई के गरौँ के गरौँ भइरहेको थियो । केही सुझिरहेको थिएन ।

सुत्नेबेला अङ्कलले भन्नुभयो– ‘ओए केटा, पिसाब फेर्न जाँदैनस् ?’ मलाई गोल्डेन चान्स मिलेजस्तो भयो । ‘एक्लै जान सौचस्’– रातिमा डराउला भनेर अङ्कलले सोध्नुभएको थियो– ‘आइदिन पर्च ?’

‘सौचु’– मैले भनेँ । अघिपछि भए म एक्लै ज्यान गए बाहिर निस्कनेवाला थिइनँ तर आज मलाई साहस आइरहेको थियो । म पिसाब फेर्न कर्सा (करेसाबारी)तिर गएँ ।

बाहिर टहटह जून लागिरहेका थिए ।

चोरले जस्तो दायाँबायाँ हेरेँ, कोही थिएन । खुसुक्क खल्तीबाट खाम निकालेर जूनको उज्यालोमा हेरेँ । खामभित्र एउटा रातो नोट रहेछ । म नोट देख्नेबित्तिकै झन् खुसी भएँ । किनकि, नोट नयाँ थियो । मलाई नोटको मूल्यले भन्दा त्यसको नयाँपनले आकर्षित गर्‍यो । पाँच हो वा बीस सुरुमा ठम्याउन सकिनँ । नियालेर हेरेपछि बीसको भन्ने पक्का भयो ।

नोटलाई जतनसाथ पट्याएर पाइन्टको चोर खल्तीभित्र हालेँ.। खामलाई माटोमुनि पुरिदिएँ ।

अङ्कल, अन्टी र म एउटा कोठामा सुत्यौँ । तर, मलाई रातभरि निद्रा लागेन । नोटकै बारेमा मनमा नानाथरि कुरा खेलिरहे ।

बिहान अङ्कल र अन्टी खासखुस गरेजस्तो लाग्यो । केहीबेरपछि अङ्कलले मलाई विस्तारै सोध्नुभयो, ‘ओए, तैँले एउटा खाम देखिनस् ?’ म खङ्ग्रङ्ग भएँ । ‘नाइँ’– मैले भनेँ ।

त्यतिबेला मेरो अनुहारको रङ कस्तो भएको थियो होला, यतिबेला म अनुमान मात्र गर्न सक्छु ।

खामको कुरा एक कान दुई कान मैदान भयो । अन्टीले आमालाई भन्नुभयो, अन्टीकी आमाले अन्टीका बालाई । अङ्कलको खाम रहेछ, अन्टीकी आमाले ज्वाइँलाई दक्षिना दिएको ।

सबै मिलेर खाम खोज्न थाले । म पनि खोजेजस्तो गर्न थालेँ ।

कोठा, चोटा, पिँढी, ओछ्यान र आँगनसम्मै खामको व्यापक खोजी भयो । केको भेटियोस्, जबकि खाम मेरो पाइन्टको चोर खल्तीमा सुरक्षित थियो । कतै नभेटिएपछि अन्त्यमा अन्टीकी आमाले मतिर फर्केर हाँस्दै भन्नुभयो– ‘बाबुले त भेटेनौ ?’

शङ्काको सुई मतर्फ घुम्यो । शङ्का नहोस् पनि किन । मबाहेक अन्यत्र शङ्का गर्ने ठाउँ नै थिएन ।

मलाई पनि अब साँचो बोल्न सम्भव थिएन किनकि अङ्कललाई ‘भेटेको छैन’ भनेर भनिसकेको थिएँ ।

मैले मुटु दरो पारेर भनेँ– ‘भेटेको छैन ।’ चोर खल्तीबाहेक आफ्ना अरू खल्ती टक्टक्याउँदै भने– ‘मसँ भ’का सप्पै पैसा यिनै हुन् ।

धन्य कसैले मेरो खानतलासी लिएनन् र म बचेँ ।

अन्त्यमा अन्टीकी आमाले अङ्कलको हराएको खामको क्षति पूर्ति गरिदिनुभयो । त्यो खामको चर्चा त्यहीँ सिध्दियो ।

सायद अहिले यो घटना सबैको विस्मृतिमा गैसक्यो होला । तर, मलाई भने यतिका वर्षपछि पनि यो घटनाले घोचिरहन्छ ।

केही समय डरले सतायो र भन्न सकिनँ । पछि लाज लाग्न थाल्यो । अहिले त्यो घटना सम्झँदा हाँसो उठ्छ र एक्लै हाँस्छु । किनकि, यो घटनाको सत्यता आजका मितिसम्म म (र, छन् भने भगवान्)बाहेक कसैलाई थाहा थिएन ।

[email protected]

jackson ribon