birat ribon

मालीको प्रतीकमा नारी

Neuro
मालीको प्रतीकमा नारी
विवश पोखरेल

प्रकृतिको एउटा नियम छ । बिरुवा हुर्किन, फल्न, फुल्न उपयुक्त वातावरणको आवश्यकता पर्छ । र, त्यसका लागि मालीले दिनरात आफूलाई समर्पित गरेको हुन्छ ।

यो नियम वा विधि हाम्रो जीवनमा पनि लागू हुन्छ । जीवन पनि प्रकृतिकै स्वरूप हो । सम्भवतः प्रत्येक पुरुषको सफलतामा नारीको हात हुन्छ भन्ने अभिव्यक्ति त्यही पृष्ठभूमि र प्राकृतिक सत्यसँग गाँसिएको छ ।

cura insider

त्यसो त फूल आफैँ पनि हुर्किरहेको हुन्छ तर मालीको उपस्थितिले उनको जीवन अनुभवलाई सहज र विशिष्ट बनाइरहेको हुन्छ । प्रकृतिको नियमित आकस्मिकता चक्रमा मात्र होइन मालीको मायामा पनि फूलको जीवन निर्भर रहेको हुन्छ । म नारीलाई त्यस्तै एउटा मालीको प्रतीकका रूपमा स्वीकार्छु ।

हुन त प्रत्येक नारीको सफलतामा पनि पुरुषको हात हुन्छ । तर नारीमा जुन समर्पण, त्याग, संयम क्षमता हुन्छ, व्यवहारतः पुरुषमा त्यति हुँदैन । यो प्रकृतिबाट नारीले पाएको विशेष गुण हो । यदि जीवनको खास मोडमा नारीको व्यवहारतः साथ नहुँदा पुरुषले व्यक्तित्व सिर्जनाको सुन्दर अवसर गुमाउने हुन्छ ।

साहित्यकार, कलाकार, राजनीतिज्ञ, समाजशास्त्री, पत्रकार, शिक्षाविद्, वैज्ञानिक, कर्मचारी, व्यापारी आदि प्रगतिको शिखरमा पुगेका जति पनि पुरुष छन्, उनीहरूलाई घर–व्यवहारलगायत कार्यमा नबाँधी नारीले एउटा थाङ्रो भएर टेको दिइरहेका हुन्छन् । सम्भवतः नारीले उपलब्ध गराएको त्यही टेकोको सहारा लिँदै पुरुषहरू प्रतिष्ठाको आकाशमाथि पुगेर निर्बाध फलि–फुलिरहेका हुन्छन् ।

यद्यपि हाम्रो समाजमा यदि कुनै पतिसँग ‘श्रीमती के गर्छिन् ?’ भनेर सोधियो भने प्रायः पत्नीप्रति पतिको व्यङ्ग्यात्मक जवाफ हुने गरेको छ, ‘के गर्नु ? केही पनि गर्दिनन्, घरै बस्छिन्, गृहिणी हुन् ।’

हुन त प्रत्येक नारीको सफलतामा पनि पुरुषको हात हुन्छ । तर नारीमा जुन समर्पण, त्याग, संयम क्षमता हुन्छ, व्यवहारतः पुरुषमा त्यति हुँदैन ।

यसरी, हाम्रो समाजमा बिहानदेखि बेलुकासम्म एउटी नारी घरको काममा चन्दनझैँ घोटिए पनि उनको कामको उचित मूल्याङ्कन भइरहेको हुँदैन । उनले खाएको एक–पेट दाल–भातको हिसाब हुन्छ तर घर र परिवारलाई दिएको समय, वातावरण र योगदानको हिसाब हुँदैन ।

विडम्बना, दिनभरि काममा जोतिएकी एउटी नारी राति ओछ्यानमा पल्टिएर आराम गर्छुभन्दा पनि उनको काम सकिएको हुँदैन । यसमा, ‘नारी एउटा मैनबत्ती वा सलेदो हो, जो आफू जलेर अरूलाई उज्यालो दिन्छ,’ भन्नु उपयुक्त हुन्छ । सम्भवतः एउटी नारीको यस्तै योगदान बुझेपछि त्यसप्रति सम्मान गर्न समाजले भन्न थालेको होला– प्रत्येक पुरुषको सफलतामा नारीको हात हुन्छ ।

यस प्रसङ्गमा ‘स्वास्नी’ शीर्षकमा मैले लेखेको छु :
घरका ढल्न लागेका भित्ता र
उक्किएका भुइँ टालेर
जो सधैँ आफ्नो कत्र्तव्यको जगेर्ना गर्छे
ऊ सडक हो कुल्च
यातनाका अक्षम्य डामहरू सहन्छे ।
सौन्दर्य कहिले निश्चल आँसु भएर
उसका सुकिला आँखाबाट चुहिन्छ
सौन्दर्य कहिले मीठो मुस्कान भएर
उसका पल्लवित अधरबाट चुहिन्छ
ऊ सृष्टि हो/ऊभित्र सधैँ
सुख–दु:खको हुरी चलिरहेको हुन्छ
ऊ धर्ती हो/ऊभित्र सधैँ
स्नेहको पवित्र गङ्गा बगिरहेको हुन्छ ।

jackson ribon