birat ribon

कोरोना भाइरसमा भएका म्युटेसन

Neuro
कोरोना भाइरसमा भएका म्युटेसन

विराटनगर / भाइरसमा म्युटेसन हुनु एक प्राकृतिक घटना हो ।

समयसमयमा भाइरसमा हुने परिवर्तनका कारण फ्लुविरुद्धको खोपको प्रत्येक वर्ष समीक्षा गरिन्छ र आवश्यक अनुसार यसलाई अपडेट गरिन्छ । अन्य भाइरसजस्तै कोरोना भाइरस पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दा केही परिवर्तन हुँदै गएका छन् । भाइरस शरीरमा प्रवेश गर्दा यसले शरीरको कोशिकामध्ये एकलाई सङ्क्रमण गर्छ र अन्य कोशिकाहरूलाई सङ्क्रमण गर्न आफ्नो प्रतिलिपि (कपी) बनाउँछ ।

cura insider

उक्त प्रक्रियामा भाइरसले कहिलेकाहीँ साना त्रुटिहरू गर्छ जसकारण भाइरसको स्वरुपमा परिवर्तन हुने हुन्छ । यसरी भाइरसमा हुने परिवर्तनलाई ‘म्युटेसन’ भनिन्छ । भाइरसमा भएको म्युटेसनअनुसार भाइरस थप बलियो वा कमजोर हुने गर्छ । अधिकांश उत्परिवर्तन त्यति महत्वपूर्ण नहुने कारण यसबारे धेरै अनुसन्धान हुने हुँदैनन् ।

केही म्युटेसनले मानव कोषमा भाइरस प्रवेश गराउन सहयोगी भूमिका खेल्ने प्रोटिनलाई बढाउँछ, जसका कारण म्युटेट भएको भाइरस बढी सङ्क्रामक (पहिलेको तुलनामा छिटो सर्ने) हुन्छ । भाइरसले म्युटेटलाई पुनः उत्पादन गर्छ, यो भाइरसको नयाँ स्ट्रेन (भेरिएन्ट) हुन जान्छ । विश्वमा भाइरसमा भएको धेरै परिवर्तनमध्ये हालसम्म बेलायतमा भेटिएको युके भेरिएन्ट (बि.१.१.७), दक्षिण अफ्रिकामा भेटिएको दक्षिण अफ्रिकी भेरिएन्ट (बी.१.३५१) र ब्राजिलको ब्राजिली भेरिएन्ट (पी.१) पहिलेको तुलनामा धेरै सङ्क्रामक भएको पाइएको छ ।

जसकारण बालबालिका तथा कम उमेर समूहका मानिसमा समेत पहिलेको तुलनामा धेरै सङ्क्रमण देखिएको छ । साथै, भारतमा दुई पटक उत्परिवर्तित भएको (डबल म्युटेन्ट) कोरोना भाइरसको नयाँ प्रकार पत्ता लागेको छ । एउटै भाइरसमा वास्तविक स्वरुप परिवर्तन भई बनेको दुई प्रकारको स्वरुप देखिनुलाई ‘डबल म्युटेन्ट’ भनिन्छ ।

डबल म्युटेन्ट हुँदा एउटै कोरोना भाइरसमा यसअघि नै आफ्नो स्वरुप परिवर्तन गरिसकेका दुई नयाँ प्रकारको कोरोनाको केही भाग देखिन्छ । दुई पटक उत्परिवर्तित भएको भाइरसले रोगप्रतिरोधी क्षमतालाई छल्न सक्ने तथा झन् सङ्क्रामक हुन सक्ने बताइएको छ । यी उत्परिवर्तनहरू पहिलेको तुलनामा धेरै गुणा सङ्क्रामक भएको अध्ययनले देखाए पनि यसले रोगलाई गम्भीर बनाउने वा मृत्युदर बढाउने भने प्रमाण भेटिएको छैन । पहिलादेखि रोग लागेकामा वा प्रतिरोधात्मक क्षमता कमजोर भएकामा भने सङ्क्रमण गम्भीर हुनसक्छ ।

माथि उल्लेखित प्रत्येक नयाँ भेरिएन्टलाई पिसिआर स्वाब परीक्षणमार्फत् पत्ता लगाउन सकिन्छ । तर, कुन भेरिएन्टबाट सङ्क्रमण भएको पत्ता लगाउनका लागि जिन सिक्वेन्सिङ परीक्षणमार्फत् गर्नुपर्ने हुन्छ । हालसम्म विकास भएका र वितरण भइरहेका खोपहरू कोरोना भाइरसका अघिल्ला प्रकार (कम सङ्क्रामक) सँग जुझ्न बनाइएको थियो । तर यीमध्ये केही खोप नयाँ भाइरसविरूद्ध पनि कम प्रभावकारी भए पनि काम गर्ने देखिन्छ ।

नयाँ प्रकारका कोरोना भाइरसविरूद्ध फाइजर बायोएन्टेक, मोडर्ना र जोनसन एन्ड जोनसनको खोपले भाइरसविरुद्ध केही सुरक्षा प्रदान गर्ने देखिएको छ । त्यस्तै अन्य खोपले सङ्क्रमणबाट शतप्रतिशत जोगाउन नसके पनि यसले सङ्क्रमणका कारण हुने गम्भीर रोगबाट बचाउन सक्छ । विज्ञहरूले हाल उत्पादन र वितरण भइरहेको खोपमा थप परिमार्जित गर्न काम सुरू गरिरहेका छन् । समयसँगै खोपको प्रभावकारिता घट्न सक्ने हुँदा कोरोना भाइरसविरुद्धको खोपलाई अन्य रुघाखोकीका लागि प्रयोग गरिने खोपजस्तै प्रत्येक वर्ष दिनुपर्नेसमेत हुनसक्छ ।

jackson ribon