birat ribon

विराट गोल्डकप : उपाधि उचाल्ने एपीएफ र पञ्जावकाे दाउ

Neuro
विराट गोल्डकप : उपाधि उचाल्ने एपीएफ र पञ्जावकाे दाउ

विराटनगर । विराटनगरमा जारी छैटौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताकोे उपाधिका लागि सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पञ्जाव पुलिस क्लब भिड्ने भएका छन् । उपाधि भिडन्त शनिबार बेलुका हुनेछ ।

विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगिताको अन्तिम स्पर्धामा नेपाली र विदेशी विभागीय टिम आम्नेसाम्ने हुन लागेका हुन् । दुवै टिम नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन् ।

cura insider

गोल्डकप आयोजक समितिले शुक्रबार विराटनगरमा ‘प्री–म्याच कन्फरेन्स’ गर्दै फाइनल प्रतिस्पर्धा शनिबारसाँझ ६ बजेबाट सुरु हुने बताएको छ ।

एपीएफले उपाधिनजिक पुग्ने क्रममा अर्को विभागीय टिम नेपाल पुलिस क्लब र घरेलु टिम विराटनगर महानगरपालिका–११ लाई हराएको थियो ।

पञ्जाव भने गोर्खा ब्वाइज रुपन्देही, मच्छिन्द्र क्लब काठमाडौं र आहा–रारा गोल्डकप विजेता संकटालाई पराजित गर्दै फाइनल पुगेको हो ।

विराट गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको पञ्जावले यसअघिका तीनवटा खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

एपीएफका कप्तान सुदीप शिख्राकारले मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि रक्षा गर्ने बताए । एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले पुराना खेलाडी सम्मिलित टिमले मैदानमा विगतकै शैली अपनाउँदै खेल पस्किने बताए ।

एपीएफको फाइनल यात्राका लागि महत्वपूर्ण भूमिका खेलेका ‘लेफ्ट डिफेन्स’ मानबहादुर राना पञ्जावसँगको खेलमा मैदानमा देखिने छैनन् । दोहोरो पहेंलो कार्डका कारण बाहिरै रहनुपर्ने भएपछि एपीएफले उनको स्थानमा सन्तोष कटुवाल मैदान उत्रनेछन् ।

पञ्जावका डिफेन्डर सर्वजीत सिंह र कप्तान जगदीप सिंह पनि मैदानमा ओर्लने छैनन् । गोली गाँठोमा लागेको चोटका कारण खेल्न नसक्दा सर्वजीत मैदान बाहिरै रहने छन् । सेमिफाइनल खेलमा रातो कार्ड पाएका जगदीप फाइलन खेल्ने छैनन् ।

पञ्जाव हरजिन्दर सिंहको कप्तानीमा मैदानमा रहने छ । पञ्जावका प्रशिक्षक हरनेक सिंहले नेपालकै प्रतिष्ठित गोल्डकपको उपाधि उचाल्न आफ्नो टिम आतुर रहेको बताए ।

आयोजक समितिका संयोजक मनोजविक्रम शाहका अनुसार विजेता टिमले ट्रफीसहित नगद १५ लाख १५ हजार रुपैयाँ पाउने छ ।

उपविजेताले सात लाख ५१ हजार रुपैयाँमा चित्त बुझाउनु पर्ने जानकारी उनले दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने छ । उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिडफिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापकसमेतलाई जनही २५÷२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने शाहले बताए ।

jackson ribon