birat ribon

विराटनगरमा १४ बालबालिकामा दोस्रो फेजको कोरोना, परीक्षा पर्खँदै महानगर

Neuro
विराटनगरमा १४ बालबालिकामा दोस्रो फेजको कोरोना, परीक्षा पर्खँदै महानगर

विराटनगर / दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएसँगै विराटनगरमा १४ जना स्कुल जाने उमेरका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ ।

विराटनगर महानगरपालिकाको तथ्याङ्कअनुसार बुधबारसम्म विराटनगरमा एक सय १६ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये १४ जना २० वर्षमुनिका हुन् ।

cura insider

महानगरपालिकाको तथ्याङ्कअनुसार नयाँ सङ्क्रमित सात वर्षदेखि २० वर्षसम्मका १४ जना छन् । तीमध्ये अधिकतर विद्यार्थी हुन् ।
विद्यार्थीमा कोरोना सङ्क्रमण देखिए पनि विराटनगर महानगरपालिकाले सतर्कता अपनाएको छैन । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली परीक्षा नजिकिएका कारण परीक्षापछि विद्यालय बन्द गर्ने तयारी रहेको बताउँछन् ।

‘परीक्षा पनि नजिकिँदै छ, वैशाख अन्तिममा हुने परीक्षालाई अगाडि सारेर परीक्षा सकेर विद्यालय गर्न सकिन्छ,’ उनले भने,‘ सरोकारवाला निकायसँग आज छलफल गर्दैछौँ ।’ सतर्कतासहित परीक्षा सञ्चालन गरेपछि विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले १४ जिल्लालाई कोरोनाको उच्च जोखिममा राखेको छ । जसमा मोरङ जिल्ला पनि छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेश १ मा एक सय ९५ जना कोरोना सङ्क्रमित छन् । तीमध्ये एक सय १६ जना विराटनगर महानगरपालिकाभित्रका हुन् ।

मन्त्रालयका अनुसार बिहीबार विराटनगरमा आठ जना कोरोना सङ्क्रमित भेटिएका थिए । बुधबार १५, मङ्गलबार १३ र सोमबार विराटनगरका ११ जन सङ्क्रमित भेटिएका थिए । कोरोना महामारीपछि तङ्ग्रिँदै गरेको विराटनगरमा पुनः दोस्रो फेज समुदायस्तरमा पुगेको पछिल्लो तथ्याङ्कले देखाउँछ ।

अस्पतालमा कोरोना जाँच गराउन जानेहरूको सङ्ख्या दैनिक बढ्दो छ । दोस्रो लहर सुरु भएसँगै कोरोना जाँच गर्न आउनेको सङ्ख्यासँगै पोजेटिभ केस पनि बढेको कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले बताए ।

सङ्क्रमण बढेपछि महानगरभित्र कन्ट्याक ट्रेसिङको काम सुरु गरिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य शाखा संयोजक रमेश कार्कीले बताए ।

jackson ribon