birat ribon

थारू संस्कृतिमा सिरुवा शिक्षा

Neuro
थारू संस्कृतिमा सिरुवा शिक्षा

कृष्णराज सर्वहारी

जुनसुकै समुदायको मौलिक संस्कृतिभित्र ज्ञान लुकेको हुन्छ, जसले तत्–तत् समुदायका बालबालिका तथा किशोरकिशोरीलाई प्रत्यक्ष–अप्रत्यक्ष दीक्षित गरिरहेको हुन्छ ।

cura insider

नयाँ वर्ष २०७८ ले आँगन टेकेको छ । नयाँ वर्षको पहिलो दिन थारू समुदयाले सिरुवा पर्व मनाउँछ, जसलाई जुरशीतल पनि भनिन्छ । जुरशीतलमा आफूभन्दा ठूलाले सानालाई टाउकोमा पानी छम्किएर आशीर्वाद दिन्छन्, सानाले भने ठूलाको खुट्टामा पानी हाली आशीर्वाद लिन्छन् ।

सिरुवाको अर्थ हुन्छ, शीर्षस्थ अर्थात् वर्षको सबैभन्दा पहिलो पर्व । थारू समुदायमा एउटा भनाइ छ, ‘फगुवा उसारे आ सिरुवा पसारे’ अर्थात् पर्वको सुरुवात सिरुवाबाट हुन्छ र पर्वको अन्त्य फगुवा (फागु÷होली) बाट हुन्छ ।

सिरुवाको तयारी पर्व आउनु करिब साता दिन पहिलेदेखि हुन थाल्छ । थारूहरू आफ्नो घर–आँगन लिपपोत, सफा–सुग्घर गर्छन् । सिरुवाको अघिल्लो दिन अर्थात् चैत मसान्तको दिन आँपको टिकला, सातु र गुड कुल देवतालाई चढाउँछन् । साँझ पुरी, वरी, खवौनी, डवौवा, सोहारी, कचौरी तथा अन्य तरुवा–भुजुवाका परिकारहरू बनाएर पनि खाने गर्छन् । चैत मसान्तको दिन वैशाख १ गतेलाई पनि पुग्ने परिकार बनाइएको हुन्छ ।

चैतके रान्हल, वैशाख मे खाना भन्ने भनाइ अनुसार परिकार तयारी अघिल्लै दिन गरिन्छ । यसबारेको जिज्ञासामा बिहान पत्रिकाका सम्पादक दाङदेउखुरीका शत्रुघन चौधरी भन्छन्, ‘पुस पकावा, माघ खावा, भनेर पुसमा पकाई माघ १ गते माघीमा खाने चलन पश्चिमा थारू समाजमा हुन्छ । जाडोयाममा परिकार पनि खास बिग्रिंँदैन तर पूर्वीया थारूहरूको चैतके रान्हल, वैशाखमे खाना भन्ने लोकोक्ति सुधारयोग्य लाग्यो । गर्मी याममा परिकार चाँडै बिग्रिएर स्वास्थ्यलाई असर पार्छ, यस्तो चलनमा पुनर्विचार गरिनुपर्छ ।’

विगतमा धामीले उच्चारण गर्ने मन्त्र गोप्य राखिनुपर्छ भन्ने भनाइले यसमा निहित मार्मिक ज्ञान नयाँ पुस्ताले पाएन ।

वैशाख १ गतेको दिन बिहानै अभिभावकले गृह तथा ग्राम देवतामा जल चढाई सकेपछि अन्य इष्टमित्रलाई पनि जलले टाउकोमा थप्थपाई आशीर्वाद दिन्छन् । सानाले भने ठूलालाई खुट्टामा जल चढाई ढोग्ने चलन छ । सँगै, देउतालाई जल चढाएर वर्ष राम्रो होस् भन्ने कामना गर्दैै आशीर्वाद मागिन्छ ।

सिरुवाको दिन ठाउँ–ठाउँमा भव्य मेलाको आयोजना पनि हुन्छ । मेलामा इष्टमित्र, भाइबन्धुको धेरै दिनपछि एकआपसमा भेटघाट हुन्छ । दिउँसो विभिन्न देवस्थलमा भाकलअनुसार बलि दिइन्छ । धामीले त्यसबेला देवता जिउमा चढाउने खेल पनि खेल्छन् । यो सिरुवाभन्दा अघिल्लो रात पनि खेलिन्छ । गाउँलेहरू जाग्राम बसी थारू भाषामै हरिनाम कीर्तन पनि गर्छन् । पूजा, मेला गरी झन्डै एक महिनासम्म सिरुवा पर्व चल्छ । थारू भाषामै हरिनाम कीर्तन गरिनु यसको सुन्दर पक्ष हो ।

विगतमा धामीले उच्चारण गर्ने मन्त्र गोप्य राखिनुपर्छ भन्ने भनाइले यसमा निहित मार्मिक ज्ञान नयाँ पुस्ताले पाएन । त्यसैले, धामी संस्कृति पनि लोप हुने अवस्थामा पुग्यो भने यसबाट पाउने ज्ञानबाट भावी पुस्ता वञ्चित भयो ।

सिरुवाले फगुवाको आभास पनि दिन्छ । कारण मन मिल्ने साथीभाइहरू, आपसमा अबिर, रङ दलेर मनोरञ्जन गर्छन् । कोही–कोही हिलो–गोबर छ्यापाछ्याप गरेर पनि मनोरञ्जन लिन्छन् । थारू कल्याणकारिणी सभाका पूर्व महामन्त्री भुलाइ चौधरी भन्छन्, ‘होलीको फ्युजनजस्तो सिरुवामा हुनु यसको अर्को विशेषता मान्नुपर्छ । होली मनाउन घर आउन नसकेकाहरूलाई सिरुवाले दोहोरो मनोरञ्जन दिन्छ ।’

धामी पुरोहितहरूलाई गुरु मानी यिनको सही उपदेशमात्रै सुन्ने चलनको विकास गर्न सकिए थारू समुदायले शिक्षामा अझ फड्को मार्न सक्छ ।

सिरुवाका नायक बिच्छु धामी नामक ‘देवता’ हुन् । लेखक फनिश्याम थारूले आफ्ना आलेखहरूमा यो परम्परालाई नेवार जातिको बिस्केट जात्रासँग मिल्दोजुल्दो भनी उल्लेख गरेका छ । थारूका अनुसार डोटी, बैतडीको बिसु पर्व र अछामको बिहु पर्व पनि सिरुवासँगै मिल्दाजुल्दा सांस्कृतिक उत्सवहरू हुन् ।

नेपालमा सिरुवा अथवा बिच्छु महोत्सव भन्नासाथ थारू समुदायमा अति प्रचलित धामीवादको पूर्वाभास गराउँछ । थारूका धामी पुरोहितहरूलाई गुरु मानी यिनको सही उपदेशमात्रै सुन्ने चलनको विकास गर्न सकिए थारू समुदायले शिक्षामा अझ फड्को मार्न सक्छ ।

सिरुवा अर्थात् जुरशीतलमा जुरको अर्थ हुन्छ चिसो । टाउकोमा चिसो पानी खन्याए, त्यसले शीतलता प्रदान गर्छ । सामान्य अर्थमा यसले गर्मी मौसममा शीतलताको अनुभव गराउँछ । तर लाक्षणिक अर्थमा शीतल, शान्त भएर बस्नु, उग्र नहुनु भन्ने शिक्षा दिन्छ ।

कान्तिपुर सिटी कलेजका प्रिन्सिपल लक्ष्मीनारायण चौधरीका अनुसार जीउ शीतल पार्नेजस्ता मौलिक संस्कृतिलाई अन्य समुदायले पनि अङ्गिकार गर्नु जरुरी छ । यस्ता सामग्रीलाई विद्यालय तहको पाठ्यक्रममा राख्न सकिए बालबालिकालाई शान्त रहन, चरित्र सुधार गर्न मद्दत पुग्नेछ ।

jackson ribon