birat ribon

मेलम्चीकाे पानी सडकमा छताछुल्ल, फेरि भत्काइँदै छ सडक

Neuro
मेलम्चीकाे पानी सडकमा छताछुल्ल, फेरि भत्काइँदै छ सडक

काठमाडौँ / काठमाडौँमा मेलम्चीको पानी भित्रिएसँगै चुहावटको समस्या पनि उत्तिकै देखिन थालेको छ ।

उपत्यकाका कतिपय सडकखण्डमा पानी ‘लिक’ भएर आहाल भएको छ । लाजिम्पाट, बालाजु, सोह्रखुट्टे, पानीपोखरी, बानेश्वर चोक, रत्नपार्कलगायत क्षेत्रका सडकमा यस्तो समस्या बढी देखिएको छ ।

cura insider

केही दिनअघि त्यागलबाट ग्वार्कोतर्फ झर्ने सडकमा कोही सडकमै गलैंचा पखालिरहेका, कोही सडकमै राखेर कपडा धुन व्यस्त भएका तस्बिरहरू समाजिक सञ्जालमा भाइरल समेत भए । उनीहरूलाई त्यसरी सडकमै लुगा र गलैंचा धुने अवसर पाइप फुटेर सडकभरि बगिरहेको मेलम्चीको पानीले जुराइदिएको थियो ।

यसरी सडकमा बगिरहेको पानीले वर्षौंदेखि काकाकुल भएको काठमाडौँलाई त रमाइलो नै लाग्दो हो । तर, सर्वसाधारण जनताले भने सास्ती नै खेप्नु परेको छ । सडकमा पानी बगेकै कारण सडक जाम हुने समस्या बढ्दै गएको छ ।

रत्नपार्क र नजिकैका स्थानमा सडकभरि पानी देखिन्छ । गाडीहरू त्यही पानीका छिटा उडाउँदै गुडिरहेका छन् । सडक हिलाम्मे छ । मेलम्चीको पानी आएपछि काठमाडौँका धेरै स्थानमा पाइप फुटेको छ । केही स्थानबाहेक कताकता पाइप फुटेको छ र कति पानी यसै खेर गइरहेको छ भन्ने कुराको एकिन तथ्यांक केयुकेएलसँग पनि छैन ।

जताततै समस्या

मेलम्चीको पानी भित्रिएसँगै जहीँतहीँ खानेपानी र पाइपलाइनमा समस्या देखिएको छ । सुरुवातका दिनदेखि नै पाइपलाइन फुट्ने कतै चुहिने समस्या देखिएको केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए । उनका अनुसार प्रायजसो स्थानमा ढलको पनि समस्या देखिएको छ ।

मेन रोडभन्दा पनि मुख्य गरेर भित्री सकडमा पाइप फुट्ने समस्या देखिएको केयुकेएल बताएको छ । त्रिपुरेश्वर, न्युरोड, टेबहाल जस्ता भित्री सहरी क्षेत्रमा पाइपबाट पानी चुहिनेलगायतका समस्या धेरै देखिएको छ । उनी भन्छन्, ‘फाट्टफुट्ट रूपमा अन्य सहरी क्षेत्रभित्र ढल र पाइपलाइनबाट पानी बाहिर निस्किएको छ ।’

लाजिम्पाट, बालाजु, सोह्रखुट्टे, पानीपोखरी, बानेश्वर चोक, रत्नपार्कलगायत क्षेत्रका सडकमा पनि यस्तो समस्या बढी देखिएको छ । उनका अनुसार पहिलादेखि ढलको समस्या भएका क्षेत्रका पाइपमा समस्या देखिएको छ ।

समाधान गर्दैछौँ

उनी भन्छन्, ‘पानी वितरण गर्दा समस्या देखिएका स्थानमा सम्बन्धित वितरण केन्द्रबाट टिम खटाएर समाधान गरेका छौं । कतिपय ठाउँमा तुरुन्तै मर्मतको काम भएको छ, कति ठाउँमा मर्मत नभए पनि पानी बन्द गरेर लिकेज रोकिएको छ ।’

केयुकेएलका अनुसार अहिलेसम्म तीन सय स्थानमा पाइप लिकेजको समस्या देखिएको छ । त्यसमध्ये दुई सय स्थानमा मर्मत भइसकेको छ भने सय स्थानमा तीव्र गतिमा ममर्त कार्य भइरहेको छ ।
‘कतिपय क्षेत्रमा लामो समयदेखि पानी नआएकाले हाउस कनेक्सनमा समस्या देखिन्छ’, उनले भने, ‘अहिले त्यस्ता क्षेत्रमा समस्या पहिचान गरेर समाधान गरिरहेका छौँ ।’

मेलम्ची मात्र नभएर अरु निकायले पनि सडकमा विभिन्न काम गर्दा पाइपलाइन र ढल प्रणालीमा क्षति भएकाले लिकेजको समस्या बढी देखिएको उनको भनाइ छ ।
सुरुमा महांकाल चौर, अनामनगर, मीनभवन र खुमलटारबाट पानी वितरण थालेको केयुकेएलले पानीपोखेरी र बालाजु क्षेत्रमा पनि मेलम्चीको पानी वितरण थालिसकेको छ । अब बाँसबारी हुँदै अन्य क्षेत्रबाट पनि पानी वितरण थाल्ने योजना छ ।

अहिलेसम्म मेलम्चीको करिब दैनिक साढे ८ करोड र केयुकेएलको पुरानो स्रोतबाट प्राप्त करिब ६ देखि ७ करोड लिटर पानी वितरण भइरहेको छ । अब क्रमैसँग १५ दिनभित्र मेलम्चीबाट आउने दैनिक करिब १७ करोड लिटर पानी वितरण थालिसक्ने योजना रहेको उनले बताए ।

सडक डिभिजन कार्यालयका प्रवक्ता कैलाशकुमार श्रेष्ठका अनुसार पाइप लिकेजका कारण बल्लबल्ल बनाइएका सडकहरू भत्काउने क्रम बढ्दो छ । यसरी नै पानी लिकेज भइरहने हो भने सडकको अवस्था नाजुक हुन्छ ।

‘केयुकेएलले सकेसम्म छिट्टै यो समस्याको समाधान खोज्न जरुरी छ । उहाँहरूले सडक खनेर पुर्दा जथाभावी ढंगले काम भयो भने फेरि सडक बिग्रन्छ, हामीसँग सडकको विज्ञता छ, उहाँहरूसँग पाइपको’, उनले भने, ‘हामी दुवै सरकारी निकाय भएकाले समस्याको समाधान छिटो र व्यवस्थित तरिकाले गरौं भन्ने हाम्रो प्रस्ताव हो ।’

तस्बिर स्राेतः समाजिक सञ्जाल

jackson ribon