birat ribon

आउँछन्, जान्छन् नयाँ अवधारणा

Neuro
आउँछन्, जान्छन् नयाँ अवधारणा
प्रवीण बानियाँ

‘वादहरू मरे, यसको वास्ता कसले गर्‍यो ?’ (इजम्स् आर डेड : डज एनिबडी रियल्ली केयर ?) एज्रा पाउन्डले ४ अगस्ट २००५ को ‘न्यूजविक’मा लेखे । यो व्यङ्गात्मक लेखाइमा उनले भनेका थिए, ‘भाषा, साहित्यमा आएका नयाँ विचार, प्रयोग अथवा वादहरू कुन बेलासम्म अस्तित्वमा रहन्छन् र तिनको आयु कति हुन्छ भन्ने कुरा ती नवीन कुराहरूले समाजमा कहिलेसम्म प्रभाव राख्न सक्छन् भन्नेमा निर्भर हुन्छ ।’

२०२२ सालमा बैरागी काइँला, इन्द्रबहादुर राई, ईश्वर बल्लभले ‘आयामेली लेखन’को घोषणा गरे, दार्जिलिङबाट । ‘फूल, पात, पत्कर’ नामक पत्रिकाबाट सुरु गरिएको तेस्रो आयामसम्बन्धी अवधारणामा जीवनको लम्बाइ, चौडाइ र गहिराइ गरी ‘त्रिपक्षीय अध्ययन’ गर्ने सोच अघि सारिएको थियो । केही समय उक्त विचारले राम्रै चर्चा पायो । सरोकारवालाहरू भेट्टायो । कार्यपत्र लेखिए, बहसहरू चले । उक्त अवधारणाको अहिले खासै चर्चा छैन ।

cura insider

२०४० सालमा फविती अर्थात् फणिन्द्र नेपाल, विनय रावल, तीर्थ श्रेष्ठ मिलेर ‘तरलवाद’को घोषणा गरे । २०४६ सालको जनआन्दोलनको सेरोफेरोमा यो साहित्यिक आन्दोलनले निकै रन्को थपेको थियो । दुबसु क्षेत्री, सुविद गुरागाई आदि समर्थक कमाएको थियो । पछि रावलको अस्तुसँगै यो अवधारणा वाग्मतीको पानीमा बगेर गयो । यद्यपि गुगल सर्चमा खोज्दा यसबारे केही कुराहरू भेटिन्छन् ।

त्यसै साल झापातिर भोक कविता आन्दोलन निकै चर्चित थियो । भवानी घिमिरेको संयोजकत्वमा सुरु भएको यस अभियानमा हीरा आकाश, अमृतलाल श्रेष्ठ, केशव आचार्य, कृष्ण धरावासीहरू साथ थिए । आज भवानी घिमिरे र हीरा आकाश छैनन् र भोक कविताको चर्चा गर्नेहरू पनि भेटिँदैनन् ।

योभन्दा निकैअघि (२०१३) पूर्वमै झर्रोवादी आन्दोलनको जोरजुलुम चलेको थियो । २०२३ पछि केही वर्ष मञ्जुलहरूको राल्फाली समूहले गाउँका गाउँ ढोल पिटेको थियो । २०२६ मा अस्वीकृत जमात र अमलेख सँगसँगै देखिए । २०३१ मा ‘बुट पालिस’ दलेको पैसाले किताब छाप्ने र साङ्केतिक विरोध गर्ने कुराको विशेष अर्थ रह्यो । २०३४ मा इन्द्रबहादुर राईको ‘कठपुतलीको मन’सँगै सुरु भएको ‘लीला लेखन’मा कृष्ण धाराबासीहरू निकै समय रमाए । अहिले कोही जिज्ञासुले कृष्ण धरावासीलाई ‘लीला लेखन’को, कुन्ता शर्मालाई ‘राल्फा’को, शैलेन्द्र साकारलाई ‘बुटपालिस’को सन्दर्भ सोधे, सम्झेबाहेक चर्चा छैन । अरूको हैसियत पनि उही छ । 

६० को दशकमा नेपाली साहित्यमा युवा लेखकहरू सम्मिलित एउटा जमातले ‘रङ्गवाद’ नामको काव्यिक आन्दोलन सुरु गर्‍यो । जमातमा थिए, धर्मेन्द्रविक्रम नेम्बाङ, स्वप्निल स्मृति, चन्द्रवीर तुम्बापो आदि । खासगरी मान्छेको जीवनलाई ‘रङ’सँग तुलना गरेर ‘जीवन निराशाको पोको हैन, उज्याला रङहरूको इन्द्रेणी हो,’ भन्ने धारणासहित उक्त आन्दोलन सुरु र्भको थियो ।

‘रङ्गैरङ्गको भीर’ नामको पुस्तकमार्फत उक्त आन्दोलनको घोषणा गरिएको थियो, २०६१ मा । केही समय उक्त आन्दोलनले पनि चर्चा र बहस दुवै पायो । अरू केही स्रष्टाहरूलाई पनि आन्दोलनमा एकत्रित गर्‍यो । तर एक दशकको समय पार गर्दा–नगर्दै अहिले उक्त विषय शान्त छ, चर्चा शून्य । आन्दोलनको घोषणा गर्नेमध्येका एक युवा कवि स्वप्निल स्मृति भन्छन्, ‘रङ्गवाद अहिले छ पनि, छैन पनि । तर यसको अस्तित्व भने मरिसकेको छैन, गतिविधि शून्य छ ।’

कति नयाँ विचार र अवधारणा ठूलै होहाल्ला गर्दै आए, कतिपय सुस्तरी गतिमा । आएकामध्ये केहीले केही समयसम्म स्पेस लिए, बहस पाए । तर एक झोँकमा आएका कतिपय विचारहरू त्यही झोँकमा हराए ।

नेपाली भाषा, साहित्यमा नयाँ विचार अथवा वादका रूपमा उठेका प्रतिनिधि विषयवस्तुहरू हुन् यी, जो अहिले औचित्य मरिसनसकेको तर गतिविधिका हिसाबले शून्य अवस्थामा छन् । केही सम्बन्धित अभियन्ताहरू बेलाबेला कार्यपत्र बनाउँछन्, फुटकर लेखमार्फत् विचार सार्वजनिक गर्छन् । तर धेरैजसो चुपचाप नै छन् । मानौँ कि त्यस्तो विचार, वादहरूको समय त्यही बेला थियो, सकियो ।

२०२० को दशकयता नेपाली साहित्यमा डेढ दर्जनजति नयाँ विचार र अवधारणाहरू आए । कतिपय ठूलै होहाल्ला गर्दै आए, कतिपय सुस्तरी गतिमा । आएकामध्ये केही विषयहरूले केही समयसम्म स्पेस लिए, बहस पाए । तर एक झोँकमा आएका कतिपय विचारहरू त्यही झोँकमा हराए । ‘मधुपर्क’, २०६२ मङ्सिरको अङ्कमा लेखक/समीक्षक अमर गिरी लेख्छन्, ‘गतिशील समाजमा भाषा, साहित्यले नयाँ–नयाँ कुराको माग गरिरहन्छ, नयाँ–नयाँ विचार र वादहरू आइरहन्छन् । तिनीहरूको औचित्य कहिलेसम्म रहन्छ भन्ने कुरा यही समाजका तत्वहरूले नै फरक पार्ने हुन् ।’

अढाई सय वर्षभन्दा लामो इतिहास बोकेको नेपाली साहित्यमा भिन्नभिन्न समयमा भिन्नभिन्न विचारहरू आए । तर कुनै पनि नयाँ विचार लामो समयसम्म प्रभाव जमाएर रहन सकेन । यथार्थमा ती विचार र धारणाहरू छोटै समयमा किन अस्तित्वहीन भए ? जवाफ खोज्न अल्मलिनुपर्दैन, ती विषयहरूले त्यहाँदेखि यहाँसम्म आइपुग्दा निरन्तर समाज र आम मान्छेको जिन्दगीसँग सरोकार राखिराख्न सकेनन् । समाजका अन्तर्वस्तुहरूसँग समानान्तर संवाद गर्न सकेनन् । फलतः तिनीहरूको औचित्य कमजोर हुँदै गयो । अथवा, समाज फेरिंदै जाँदा पुराना कुराहरू काम नलाग्ने भए, तिनीहरूको आयु लगभग सकियो ।

केही दशककै बीचमा नेपाली साहित्यमा थुप्रै नयाँ विचारहरूले प्रवेश पाए । शीर्षक र आन्दोलनका नाम नै पछ्याउँदा पनि सूची निकै लामो हुन्छ । पछिल्लो छिमलमा राजन मुकारुङ, हाङयुग अज्ञातहरूको ‘सिर्जनशील अराजकता’, प्रकाश आङ्देम्बेहरूको ‘मुक्त अभियान’ जस्ता विषय एक समय, एक प्रकारको चर्चा बुटुलेर सेलाउँदै गएका विषयहरू हुन् । नेपाली साहित्यमा ‘विलयवाद’, ‘माया विधा’, ‘नव वामपन्थ’, ‘सौहाद्र लेखन’, ‘समुच्च विचार’, ‘केस्रा विधा’ पनि एकाएक चर्चामा आएर सेलाउने क्रममा रहेका नयाँ अवधारणाहरू हुन् । यीबाहेक पनि नेपाली साहित्यमा अरू केही विषय प्रवेश भए, जो आफ्नो औचित्य पुष्टि गर्न नसकी पाखा लागे । पोखरातिर सरुभक्तहरू चाहिँ संरक्षण कविता आन्दोलनमा लागिरहेकै छन् ।

‘गतिशील समाजमा भाषा, साहित्यले नयाँ–नयाँ कुराको माग गरिरहन्छ, नयाँ–नयाँ विचार र वादहरू आइरहन्छन् । तिनीहरूको औचित्य कहिलेसम्म रहन्छ भन्ने कुरा यही समाजका तत्वहरूले नै फरक पार्ने हुन् ।’

अहिले नेपाली साहित्यमा ‘भयवाद’ बहसको मञ्चमा छ । हङकङ बसोबास गर्ने नेपाली लेखक देश सुब्बाले यो अवधारणा अघि सारेका हुन्, सन् २००५ मा । सुब्बाको सम्पादनमा प्रकाशित हुने ‘टापु’ नामको पत्रिकाबाट यो अवधारणालाई अघि सारिएको हो । यसमा सघाउन दीपक सुवेदीको ‘भयवाद चिन्तन र विमर्श’, प्रकाश थाम्सुहाङको ‘वैचारिक चिन्तन’, देश सुब्बाको ‘आदिवासी’ उपन्यास गरी आधा दर्जन पुस्तक सार्वजनिक छन् । ‘भयवाद’ अहिले पनि बहसको अवस्थामा छ ।

साहित्य समाजलाई पढ्ने एउटा माध्यम हो । यो एक प्रकारले सामाजिक विश्लेषण पनि हो । समाज कहिल्यै एकै चरित्रको हुँदैन, यो विविधतामा आधारित हुन्छ । यसको संचरना पनि त्यसैअनुरुपको हुन्छ । यसका तमाम अन्तर्वस्तुहरू पनि फरक–फरक हुन्छन् । समय फेरिँदै जाँदा समाजका आवश्यकता र अन्तर्विरोधहरू पनि फेरिँदै जान्छन् । तर समयले सधैँ नयाँपनको माग गर्छ । 

राजनीति र विचार, शिक्षा, कला–संस्कृति, परम्परा, भाषा, साहित्य, खेलकुद आदि उत्पादन, सम्प्रेषण र प्रयोगका तरिका आम मानिसको जीवनशैलीमा फेरिँदै जान्छन् । यिनै सापेक्षतामा समाजमा नयाँ कुराको खोजी हुनु समीचीन मानिन्छ । अग्रगतिका लागि नयाँ–नयाँ कार्यहरू आवश्यक हुन्छन् । भाषा साहित्यमा पनि यही विज्ञान लागू हुन्छ ।

कुनै देशको भाषा, साहित्य, कला संस्कृति सधैँ एकैनाश रहिरहँदैन, गतिशील हुन्छ । अनि कुनै पनि गतिशीलको अस्तित्व लामो समयसम्म एकै चरित्रको रहन सक्दैन, परिवर्तित हुन्छ । त्यस्तो बेला त्यो देशको भूगोल, सामाजिक संरचना, राजनीतिक व्यवस्था र अन्तर्वस्तुहरू, परिवर्तनप्रतिको आम चाहना र मानवीय आवश्यकताजस्ता कुराले भाषा, साहित्यलाई पनि तीव्र प्रभाव पारिरहेका हुन्छन् । जसका कारण साहित्यमा पनि नयाँ–नयाँ सोच, अवधारणा र वादहरू आइरहन्छन् । समाज र आम जनजीवनसँग सरोकार राख्ने विषयहरू रहन्छन्, प्रभावहीन किनारा लाग्छन् ।

भाषा, साहित्यको सवालमा कुनै पनि नयाँ कुराको आयु कति हुन्छ भनेर ठ्याक्कै भन्न सकिँदैन, यो कुनै गणितिय जोड–घटाउ होइन । यद्यपि, समाजका अन्तर्वस्तु र परिवर्तित समयका आधारमा सामान्य विश्लेषण गर्न सकिन्छ, तिनीहरूको अस्तित्वको लम्बाइ भने नाप्न नसकिने रहेछ । ‘नयाँ वादहरूको अस्तित्व’को सन्दर्भमा एउटा कविताको उदाहरण दिँदै अमेरिकन कवि वाल्ट ह्विटम्यानले भनेका छन्, ‘एउटा नयाँ कविताको आयु कति हुन्छ र त्यसको अस्तित्व कति समयसम्म रहन्छ भन्ने कुरा त्यो कविताले मान्छेलाई कहिलेसम्म प्रभाव पार्न सक्छ भन्ने कुरामा भर पर्छ ।’

jackson ribon