birat ribon

पुराना पत्रकारको सम्प्रेषण अनुभवमा नयाँ सम्भावना

Neuro
पुराना पत्रकारको सम्प्रेषण अनुभवमा नयाँ सम्भावना
लीलाराज भट्टराई

इटहरीको पहिलो पत्रिका ‘झुत्तो’ छापिएको चार दशक बित्यो । ऊ बेला पत्रिका छाप्न पनि भारत बनारस पुग्नुपथ्र्यो । रमेशकुमार विष्ट, मधु रिमाल र वसन्त सुवेदीले पहिलो पटक बनारस पुगेर साहित्यिक पत्रिका झुत्तो छापेर ल्याएका थिए ।

३७ वर्षअघि झापाको ‘आलोक’ साप्ताहिकको संवाददाताबाट पत्रकारिता सुरु गरेका सुनसरीका पत्रकार कृष्णविनोद लम्साल त्यतिबेला हातैले कागजमा समाचार लेख्थे । खाममा हालेर हुलाकबाट झापा पठाउँथे । त्यो समाचार पत्रिकाको कार्यालयमा पुग्न कहिलेकाहीँ हप्ता दिनसम्म पनि लाग्थ्यो । समाचार छापिएर पत्रिका सुनसरी आइपुग्न अर्को एक हप्ता लाग्थ्यो । दुई–तीन हप्ता बित्दा पनि छापिएर आएको त्यो पत्रिका ‘नयाँ’ र समाचार ‘ताजै’ हुन्थ्यो । अहिले मकालु टेलिभिजनमा कार्यरत लम्साल त्यो बेलाको काम गराइलाई ‘अभूतपूर्व अनुभवको सँगालो’ ठान्छन् ।

cura insider

पुराना पत्रकारहरूका अनुसार २०५१ सालसम्म पनि समाचार हुलाकबाटै काठमाडौँ पठाउने चलन थियो । टेलिभिजन पत्रकारिताका लागि भिडियो काठमाडौँ पठाउन कि विराटनगर एअरपोर्ट नै पुग्नुपर्थ्यो, कि नेता–मन्त्री जसको ‘फुटेज’ हो, उसैलाई एअरपोर्टसम्म लगिदिन अनुरोध गर्नुपर्थ्यो ।

२०५१ सालतिर फ्याक्स प्रविधि भित्रियो । त्यसले समाचार सम्प्रेषणमा निकै सजिलो बनाएको थियो । त्यो बेला समाचार पठाउन हैरानी खेपेका पत्रकारहरूले देख्दा–देख्दै समय निकै फरक भइसक्यो । अहिले त सेकेन्डभरमै संसारको कुनाकाप्चासम्म समाचार प्रत्यक्ष आदान–प्रदान गर्न सकिने प्रविधि आइसके । अग्रज पत्रकारहरू घरमै बसी–बसी एक क्लिकमै समाचार, फोटो, अडियो–भिडियो आ–आफ्ना सञ्चार–माध्यममा पठाउन थालेका छन् । वास्तवमै २१औँ शताब्दीमा सूचना प्रविधिले जति लामो फड्को मार्‍यो, त्यो कृष्णविनोद छिमलका पत्रकारहरूले पत्रकारिता सुरु गर्दा कल्पनासम्म पनि नगरेको कुरो हो ।

अग्रज पत्रकारले देख्दा–देख्दै धेरै नयाँ वर्षहरू आए, गए । पत्रकारितामा नयाँ प्रविधि पनि भित्रिँदै, पुरानिँदै गए । अहिले पहिलेजस्तो कुनै सूचना ओइलाउन पाउँदैनन् ।

यसबीच, धेरै नयाँ वर्षहरू आए, गए । सँगसँगै पत्रकारितामा धेरै नयाँ प्रविधि पनि भित्रिँदै, पुरानिँदै गए । अहिले त हातको मोबाइलमै सबै सुविधाहरू उपलब्ध छन् । छिनछिनमै संसार भरका गतिविधिहरू अपडेट भइरहन्छन् । कुनै सूचना ओइलिन पाउँदैनन् । एकपछि अर्को ताजा समाचार लक्षित वर्गको हातमा हुन्छ ।

‘अब त पत्रकारितामा मात्र होइन, कसैले पनि कम्प्युटर नसिक्ने र इमेल–इन्टरनेट चलाउन नजान्ने हो भने, शैक्षिक प्रमाणपत्र भएर पनि मान्छे निरक्षर हुने रहेछ,’ लम्साल भन्छन्, ‘म पनि अर्घसाक्षर मात्र हो, कम्प्युटर र मोबाइलका ‘एप्लिकेसन’हरू जान्ने प्रयासमा छु ।’

रमेशकुमार विष्टहरूले चार दशकअघि बनारसबाट झुत्तो छापेर ल्याउँदाको दुःख अझै भुलेका छैनन् । तर अहिले त इटहरीमै छिनको छिन् डिजिटल प्रविधिबाट पत्रिका तयार हुन्छन् । काठमाडौमा सम्पादन भएका पत्रिका इमेलबाट डाउनलोड गरी विराटनगर र इटहरीमा छापिन्छन् । तीन वर्षअघिसम्म मध्याह्नपछि मात्र दर्शन पाइने राजधानीका पत्रिका अचेल एकाबिहानै पूर्वका घर–घरमा आइपुग्छन् ।

३१ वर्षअघि सन् १९९० मा ‘वल्र्डवाइड वेभ’ अर्थात् ‘डब्लु–डब्लु–डब्लु’को विकास भयो । विकास गति पछ्याउँदै सन् १९९३ मा अमेरिकाबाट अनलाइन पत्रकारिताको सुरु भयो । नेपालमा भने २०४६ सालको परिवर्तनपछि मात्र पत्रकारितामा इमेल प्रविधिको प्रयोग गर्ने अवसर मिल्यो । नेपालमा वरिष्ठ पत्रकार भरतदत्त कोइरालाले सबैभन्दा पहिला २०४६ सालमा इमेल प्रयोग गरेको हुन् ।

नेपालमा पहिलोपल्ट व्यावसायिक रूपमा इमेल सेवा थालेको मर्कन्टाइल कम्युनिकेसनले नै २०५६ सालमा नेपाल न्युज डटकम सुरु गरेको हो । अहिले त दर्जनौँ नेपाली अनलाइन साइटहरू सञ्चालित छन् । केही नेपाली अनलाइन साइटहरूले त नेपाली पत्रकारिताको मूलधारकै हैसियत बनाइसकेका छन् । प्रायः छापा, टेलिभिजन र रेडियोले अनलाइन साइटहरू पनि सञ्चालन गरेका छन् ।

अहिले घरमै बसीबसी संसारका खबरहरू विभिन्न अनलाइन साइटमार्फत मोबाइलमै खबर पढ्न सकिन्छ । संसारभरका रेडियोहरू मोबाइलबाटै सुन्न सकिन्छ । टेलिभिजनहरू पनि मोबाइलमै हेर्न सकिन्छ । तारविहीन इन्टरनेट सेवाले सञ्चार क्षेत्रमा विशाल क्रान्ति नै ल्याइदियो । सञ्चार क्षेत्रमा भएको नयाँ–नयाँ परिवर्तनले यो क्षेत्रमा लागेकालाई त सजिलो बनाइदियो नै श्रोता पाठक र दर्शकलाई झन् धेरै फाइदा पु¥याएको देखिन्छ ।

पहिला–पहिला सञ्चारमाध्यम नै कम थिए । जति थिए, उनीहरूले जे लेख्छन्, जे भन्छन्, जे देखाउँछन्, त्यही ग्रहण गर्नुपर्ने बाध्यता थियो । पहिले पत्रकारहरूले स्रोतबाट जे प्राप्त हुन्छ, त्यही पठाउँदा हुन्थ्यो । तर अहिले त्यस्तो छैन । सञ्चारमाध्यमको प्रयोगमा धेरै छनोटको अवसर छ । अहिले सञ्चारमाध्यमले के दिन्छ त्यही ग्रहण गर्ने होइन । श्रोता, पाठक र दर्शकले जे पढ्न, सुन्न र हेर्न चाहन्छन्, त्यही दिनुपर्ने हुन्छ । जुन सञ्चारमाध्यमले त्यो दिनसक्दैन, उसको अस्तित्व लोप हुनेछ ।

यता, केही वर्षपछि नै त्यो दिन आउनेछ, रेडियोमा काम गर्ने सञ्चारकर्मीले रेडियो स्टेसन धाउनु अनिवार्य हुनेछैन । उनीहरूले घरमै बसी–बसी कार्यक्रम सञ्चालन गर्नेछन् । स्टेसनमा उसकै आवाजमा समाचार प्रसारण हुनेछ तर ऊ घरमै हुनेछ । उसले स्क्रिप्ट पढेको हुनेछैन तर उसको आवाजमा रहेको सफ्टवेयरले समाचार पढ्नेछ ।

प्रविधिमा आएको नयाँपन सँगसँगै अपडेट हुन नसक्नेले अब पत्रकारिता गर्न सक्ने अवस्था छैन । कम्प्युटर साक्षर बन्नैपर्‍यो, इमेल इन्टरनेट चलाउन जान्नैपर्‍यो । सञ्चार–संस्थाको ब्लग वा वेवसाइट बनाउनैपर्‍यो । पत्रकारिताको क्षेत्र आज यति विस्तार भइसकेको छ कि अब एउटा पत्रकारले छापासँगै इलेक्ट्रोनिक्स मिडियामार्फत पनि पत्रकारिता गर्नुपर्ने अवस्था आएको छ । अर्थात् ‘मल्टिमिडिया जर्नालिज्म’ गर्नुपर्ने अवस्था सिर्जना हुँदै छ ।

मल्टिमिडिया जर्नालिज्मको सम्भावना र बढ्दो प्रयोगले पत्रकार र पत्रकारिताका विद्यार्थीका लागि अवसरका धेरै ढोकाहरू खुल्दै छन् । नाम सँगसँगै दाम कमाउने अवसर पनि बढ्दै छ । एउटा समाचारको रिर्पोटिङमा जाँदा त्यसलाई डायरीमा टिपेर फर्कने मात्र समय रहेन । समाचार टिप्ने, फोटो र भिडियो पनि खिच्ने, अडियो रेकर्ड गर्ने उपकरणमैत्री र प्रयोगकर्ता हुनैपर्छ पत्रकार । सङ्कलित समाचार, फोटो, अडियो–भिडियो सामग्री पत्रिका, रेडियो र टिभिमा सजिलै बिक्री हुन्छन् । सङ्कलित सबै सामग्रीलाई एकै ठाउँबाट संसारभर पु¥याउन सकिन्छ ।

इन्टरनेटमा आफ्नै समाचारमूलक छुट्टै वेवसाइट सञ्चालन गरेर ती सामग्रीलाई राखेर स्वरोजगार, व्यावसायिक बन्न सकिन्छ । समाजमा इन्टरनेट प्रयोगको अवस्था दिनदिनै बढ्दै छ । इन्टरनेटमा आफ्नो साइट तथा च्यानल जति लोकप्रिय हुन्छ, त्यति नै बढी पैसा पनि कमाउन सकिन्छ ।

अहिले रिर्पोटिङ गर्ने तरिकामा पनि निकै परिवर्तन आएको छ । पहिला–पहिला चाहिएको डाटा लिन विभिन्न कार्यालय सङ्घ–संस्थातिर दौडँदा–दौडँदा हैरान भइन्थ्यो । अहिले ‘गुगल सर्च’ गरे धेरै डाटाहरू एकैछिनमा भेटिन्छन् । पत्रकार वेदराज पौडेलको अनुभवमा ‘इन्टरनेटमा उपलब्ध डाटाहरूले समाचार सम्प्रेषण–सम्पादनको कामलाई निकै सहज र पत्रकारलाई प्रविधिमैत्री हुन सचेत बनाएका छन् ।’

काठमाडौँमा त पत्रकारहरूलाई ‘न्यु मिडिया’मा अभ्यस्त बनाउन ‘मिडिया गुफा’ सञ्चालन गरिँदै आएको छ । यस अवधारणाअन्तर्गत पत्रकारहरूलाई एउटा कोठामा राखिन्छ, समाचार लेख्ने विषय दिइन्छ, इमेल इन्टरनेटको सुविधा दिइन्छ । बन्द कोठामा बसी–बसी इन्टरनेटको प्रयोगमार्फत खोजी समाचार तयार पार्नुपर्छ ।

jackson ribon