birat ribon

स्कुप मारेर अल्छी गर्नेहरूलाई नयाँ सन्दर्भको चुनौती

Neuro
स्कुप मारेर अल्छी गर्नेहरूलाई नयाँ सन्दर्भको चुनौती
विजयप्रसाद मिश्र

नयाँ वर्ष २०७८ ले नयाँ–नयाँ प्रगति र अवसर ल्याओस् भन्ने चाहना सबैको छ । मिडियाकर्मीहरू पनि नयाँ वर्षमा नयाँ–नयाँ समाचारको प्रतीक्षामा छन् । यो वर्ष राजनीतिक अन्योलता र कोरोनाको मारबाट जनजीवन थिलथिलो भइरहेको बेला सञ्चारकर्मीहरू झन् नयाँ (ब्रेकिङ) समाचार लेख्न पाइयोस् भन्ने चाहन्छन् । समाचारका लागि नयाँ वर्षले नयाँ स्कुपहरू सतहमा आउने आशा छ ।

अरूभन्दा बढी नयाँ कुरा जान्ने रहर सञ्चारकर्मीलाई हुन्छ । त्यसैले त समाचारलाई नयाँ कुराको जानकारी भनिन्छ । अङ्ग्रेजीमा ‘न्युज’ भनिने समाचारमा ‘न्यु’ (नयाँ)को प्रधानता हुन्छ । सञ्चारकर्मीहरू नयाँ वर्षलाई एउटा समाचारकै रूपमा पनि लिन्छन् । किनकि नयाँ वर्षको सन्दर्भ जहिल्यै ताजा हुन्छ । समाचार भनेको ताजा घटना वा विषयको जानकारी हो, जसबारे जान्न–बुझ्न सबै उत्सुक हुन्छन् । त्यसैले नयाँ ताजा कुरा जुन धेरै मानिसको मन छुने हुन्छन्, सबै समाचार हुन् ।

cura insider

नयाँ कामको सुरुवात गर्न धेरै मानिसहरू नयाँ वर्ष कुरेर बसेका हुन्छन्, किनकि नयाँ वर्षबाट नयाँ कुराको थालनी गर्नुको मजा बेग्लै हुन्छ । माया–पिरती गर्नेदेखि व्यापार–बिजनेस गर्नेहरूसम्म नयाँ वर्षको ‘साइत’ कुरेर बस्ने गर्छन् ।

नयाँ वर्षमा अस्वाभाविक, अपत्यारिला र असामान्य घटना पनि भइरहेका हुन्छन् । त्यसैले नयाँ वर्ष र समाचारको दोस्ती गजबको हुन्छ । हामी भन्छौँ, ताजा घटना, सामयिक अभिरुचिका जानकारी, भोलि इतिहास बन्ने समसामयिक सूचना समाचार हुन् ।

हुन पनि प्रायः वैशाख १ गते सिरहाको सहलेश फूलबारीमा एउटा फूल फुल्छ, जुन सोही दिन मात्र फुल्छ भन्ने विश्वास गरिन्छ । अनि भएन त मानिसलाई प्रभावित पार्ने कुरा । योसँगै नयाँ वर्षले नयाँ–नयाँ उत्सवहरू थप्ने गरेको छ । सुनसरीमा वैशाख १ गतेदेखि १५ दिनसम्म लगातार मेला लाग्ने गर्छ । ती सबै मेला एकै ठाउँमा लाग्ने होइनन् । ठाउँ फेरी–फेरी लाग्छन् ।

नयाँ वर्षमा कहिलेकाहीँ अस्वाभाविक, अपत्यारिला र असामान्य घटना भइरहेका हुन्छन् । त्यसैले नयाँ वर्ष र समाचारको दोस्ती गजबको हुन्छ ।

कहिले नयाँ वर्ष भन्यो, कहिले जुडसितल भन्यो । राजा सलहेशको पुराना गाथाहरूसँग जोडिएको प्रसङ्गमा विभिन्न थरीका उत्सव र विभिन्न थरीका परिकारहरू खाने र खुवाउने चलन पूर्वी तराईमा छ । अनि सबै कुरा नयाँ भए पछि ती सबै समाचार भएनन् त ? झन् यस वर्ष गत वर्षझैँ हाम्रा नियमित मेला–पर्वहरू कोरोनाका कारण कुन स्तरमा प्रभावित भए त्यसबारे जनजीवनमा खोजी र समाचारका रूपमा अभिलेखीकरण हुनु स्वाभाविक छ ।

यसरी नयाँ वर्षले सनातनदेखि समाचार उत्पादन गर्दै आएको छ । नयाँ वर्ष समाचार उत्पादन गर्ने उद्योग नै भएर आउँछ । प्राकृतिक रूपमा हावाहुरी चल्ने यो बेलामा समाचारका लागि चाहिने सूचनाको आँधी–बेहरी नै आउँछ । समाचारको खेती गर्नेहरूले नयाँ वर्षलाई सिजनको रूपमा स्वीकार्दै आएका छन् ।

तर, नयाँ वर्षको सेरोफेरोमा हुने समाचारका नयाँ विषयवस्तुहरू निकै समयसम्म नयाँ भइरहन सक्तैनन् । नयाँ वर्ष पत्रकारहरूका लागि समाचारको सिजन हो भनेर नयाँ वर्षभरि मोजमस्तीमै चुर्लुम्म भयो भने समय खेर जान बेर लाग्दैन । पछि ‘ए के गर्नु, म यो नयाँ एङ्गलबाट समाचार लेखौँला भन्दै थिएँ तर समय बितिहाल्यो,’ भनेर गफ गर्नुको कुनै तुक हुन्न ।

ताजा कुरालाई साँची राख्दा सूचनाको हविगत गर्मीमा साग सडेर खानै नहुने भए जस्तो हुनसक्छ । कुनै पनि ताजा घटना वा सन्दर्भलाई भोलि लेखौँला, पर्सि लेखौँला भनेर बासी बनाउनुहुन्न । बासी खानेकुराजस्तै समाचार पनि बासी भए कसैले मन पराउँदैनन् । वा अरूले नै स्कुप मारेर अल्छी गर्नेहरूलाई प्रतिस्पर्धाको लिगलिगे दौडबाट हुत्याइदिन्छन् ।

पत्रकार हार्पर लीच र जोन सी कैरोलले समाचारको परिभाषा दिने क्रममा समाचार अति गतिशील साहित्य हो, भनेका छन् । त्यसैले हामी समाचारलाई हतारमा लेखिने साहित्य पनि भन्ने गर्छौं । हामीले सूचनालाई बासी पार्नै हुन्न । जसरी नयाँ वर्ष ताजा रूपमा आउँछ, त्यसरी नै समाचार पनि ताजा हुँदै फटाफट लेखिहाल्नुपर्छ । सिद्धान्ततः प्रायः समाचारको प्रकृति सागजस्तै हुन्छ । ताजा छँदै प्रयोग गर्नुपर्छ । बासी हुँदै जाँदा कुहिन्छ ।

ब्रिटेनको प्रसिद्ध पत्रिका ‘मानचेस्टर गार्डियन’ले समाचारको परिभाषाका लागि प्रतियोगिता गराएको थियो । सो प्रतियोगितामा उत्कृष्ट भएको परिभाषाअनुसार, ‘समाचार कुनै अनौठो वा असाधारण घटनाको तत्काल सूचना दिनुलाई भनिन्छ, जसको बारेमा मानिस प्रायः पहिले केही जान्दैनन् तर त्यसलाई तुरुन्त जान्न धेरैभन्दा धेरै मानिसलाई रुचि हुन्छ ।’ यसर्थ, पत्रकारले समाचारको विषयको चाङबाट महत्वपूर्ण विशिष्ट विषय छनोट गरेर तत्काल समाचार लेख्नुपर्छ, जसरी मौरी तोरी फुलेको बेला एकपछि अर्को गर्दै पालैसँग फूलका रसलाई मह बनाउने अभियानमा तत्काल जुट्नेगर्छ ।

यो नयाँ वर्षबाट जो–जहाँ छौँ, त्यहीँबाट जे–जसमा सकिन्छ त्यसमै नयाँ सूचनाहरू सार्वजनिक गरौँ । उपलब्ध आम सञ्चार–माध्यमको सदुपयोग गरौँ र सूचनाको हक प्राप्त गर्ने कुरालाई व्यवहारमा उतारौँ । जय नयाँ वर्ष । जय सूचनाको अधिकार ।

सञ्चारकर्मीले नयाँ वर्षलाई सिजनको रूपमा मानेर उपलब्ध धेरै विकल्पमध्ये जुन नयाँ (अरूभन्दा फरक) एङ्गलको हुन्छ, जसले मानिसको मन छुन्छ, त्यसलाई समाचार बनाइहाल्नुपर्छ । स्मरणीय छ, जसरी समयले कसैलाई पर्खिँदैन, त्यसैगरी मिडिया हाउसका समाचार बुलेटिनहरूले पनि कसैलाई ‘विचरा ढिलो भएछ’ एक छिन पर्खौं न त भन्दैनन् । अविरल आफ्नै समयमा प्रसारण र प्रकाशन भइरहन्छन् । सञ्चारकर्मीले त्यसलाई पच्छाएर समयको सदुपयोग गर्दै नयाँ–नयाँ कुरालाई समाचार बनाउन सक्नुपर्छ

यदि यो वर्ष व्यस्त भइयो अर्को वर्ष समयमै लेख्छु भन्ने सोच्नुभएको छ भने त्यो सोच समसामयिक हुन्न । अर्को वर्ष अर्कै नयाँ प्रसङ्गहरू आउँछन् र त्यो बेला अहिलेका कुरा इतिहासका रूपमा मात्र लेख्नुपर्ने बाध्यता हुन्छ । कुनै पनि विषयलाई इतिहासको रूपमा आउन दिनुअघि समाचारको रूपमा पस्किने दायित्व भएकाले ख्याल गर्नुहोला ।

अहिले त नागरिकहरू पनि पत्रकारसरह बनेका छन्, जसले सामाजिक सञ्जालहरूमार्फत नयाँ जानकारीहरू तत्काल सार्वजनिक गरिरहेका हुन्छन् । सबै नागरिकको सूचनाको अधिकार छ । सूचनाको अधिकारको सदुपयोग गर्न पनि नयाँ वर्षबाट जो–जहाँ छौँ, त्यहीँबाट जे–जसमा सकिन्छ, त्यसमै नयाँ सूचनाहरू सार्वजनिक गरौँ । उपलब्ध आम सञ्चार–माध्यमको सदुपयोग गरौँ र सूचनाको हक प्राप्त गर्ने कुरालाई व्यवहारमा उतारौँ । जय नयाँ वर्ष । जय सूचनाको अधिकार । ह्याप्पी न्यु इयर ।

jackson ribon