birat ribon

टिकटकमा भाइरल मलपोखरी : ढलको फोहोरमाथि थलथल

डुबेर पहिले नै दुई जनाको मृत्यु, छैन सुरक्षा व्यवस्था

Neuro
टिकटकमा भाइरल मलपोखरी : ढलको फोहोरमाथि थलथलडुबेर पहिले नै दुई जनाको मृत्यु, छैन सुरक्षा व्यवस्था

काठमाडाैँ / नेपालमा टिकटक भित्रिएसँगै धेरै थाहा नभएका ठाउँ, कल्पनाभन्दा बाहिरका कला आममानिसले देख्न, सुन्न पाए । टिकटकले धेरै स्थानलाई भाइरल बनाइदिएको छ ।
 
त्यसैको एक उदाहरण हो, ललितपुरको मलपोखरी । अहिले ललितपुर महानगरपालिका-४ धोबीघाटस्थित मल पोखरी टिकटकमा भाइरल छ । मलपोखरीमा टिकटक बनाउनकै लागि भनेर मानिसहरूको भिड लाग्ने गरेको छ ।

पोखरी भनिए पनि सहतमा घाँसैघाँस छ । घाँसकै बीचमा कतैकतै पानी देखिन्छ, अलिअलि । तलको तहमा पानी भए पनि माथि माटो, लेउ, घाँस र बोजोले पोखरीलाई ढपक्कै ढाकेको छ । हेर्दा घाँसै मैदान जस्तो देखिने सो ठाउँमा दलदल बनेको छ । त्यहाँ मानिस गएमा थलथल भएर पिङ खेले जस्तो हुन्छ । 

cura insider

सोही ठाउँमा अहिले युवायुवतीहरू उफ्रिएर र नाचेर भिडियो बनाउँछन् । स्थानीयका अनुसार सुरुमा त्यहीँका एक व्यक्तिले भिडियो बनाएर टिकटकमा राखेपछि एकाएक भाइरल भएको हो । त्यसपछि सोध्दै, खोज्दै मानिसहरू भिडियो बनाउन आइरहेका छन् । 

कोसी अनलाइनको टोली त्यहाँ पुग्दा मानिसहरूको खासै भिड थिएन । कारण– प्रहरीले त्यहाँ गएर भिडियो बनाउन निषेध गरेको छ । आएका मानिसहरू टिकटक बनाउन नपाएर निराश देखिन्थे । 

पोखरीको बीचमा गाईबस्तु चरिरहेका थिए । गाइवस्तु भने वजनका कारण खुट्टा जमिनमुनि डुबेका थिए । तर मानिसहरू भने सतहमाथि नै अडिन्छन् । स्थानीय महिलाहरू त्यही पोखरीको बीचमा पुगेर घाँस काट्ने गरेको स्थानीय मनबहादुर तामाङले बताए । 

मलपोखरीको इतिहास

काठमाडौँ उपत्यकाका अन्य पोखरीजस्तो यो पोखरी पानी जमाउन बनाइएको होइन । न त आफैँ बनेको नै हो । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाको ढल ल्याएर प्रशोधन गरी प्रांगारिक मल बनाउन भनी तत्कालीन सरकारले सो पोखरी बनाएको हो ।

तर स्थानीय र नजिकै रहेको त्रिभुवन विश्वविद्यालयको विरोधका कारण सो योजना सफल हुन सकेन । बाक्लो बस्ती र विश्वविद्यालयको बीचमा ढल प्रशोधन केन्द्र बनाउँदा दुर्गन्ध फैलने र रोगब्याधिको सम्भावना बढी हुने भन्दै स्थानीयले विरोध गरे । फलस्वरुप योजना रोकियो ।

सो क्षेत्रमा एउटामात्रै पोखरी छैन । तीन–चारवटा पोखरी खनिएकामा अन्य पोखरीमा पानी छैनन् । कुनै पोखरी पुरिसकिए । त्यसकै छेउमा रहेको अर्को पोखरीमा पानी छैन । त्यहाँ स्थानीय युवाहरू विभिन्न खेल खेल्छन् । पोखरीको बीचमा ठूलो पाइप छ, जसबाट ढल ल्याउने व्यवस्था गरिएको छ । 

अन्य पोखरीमा ढलको पानी हालिएन । तर अहिले भाइरल भएको पोखरीमा भने केही क्षेत्रको ढल हालिएको स्थानीय तामाङले जनाए । सोही ढलको पानीका कारण सो पोखरी सुक्न पाएन र त्यहाँ घाँस र बोजो उम्रियो । सोही बोजो र घाँसको जरा जेलिएर माथि एउटा दलदले सतह बनेको उनले बताए ।

‘काठमाडौँ, भक्तपुर ललितपुरको ढल छान्न त्यो पोखरी बनाइएको थियो । तर स्थानीयले विरोध गरेपछि बन्द भएको थियो’, स्थानीय भन्छन्, ‘अहिले सरकारले चाइनिज कम्पनीलाई निर्माणको काम जिम्मा लगाएको छ । उनीहरूले काम गरिरहेका छन्, तर यो मल पोखरी भने व्यवस्थित बनाएका छैनन् ।’

पोखरीमा जम्मा भएको पानी सफा नभएर स्थानीयले फालेको ढल भएकाले त्यहाँ नजान उनले टिकटक बनाउनेलाई हरदिन सम्झाउँछन् । पक्षाघात भएर शरीरको एकपाटो चल्न नसक्ने उनी दैनिक त्यही पोखरीको डिलमा आएर बस्छन् र त्यहाँ जानेलाई नजान सुझाव दिन्छन् । 

तर उनको सुझाव मान्ने कोही छैनन् । मानिसहरू त्यही ढलको पानीमाथि उफ्रिएर भिडियो बनाउन रमाउँदै छन् । उनीहरूलाई न त फोहोरको मलतब छ, न त सतर्कता नपनाउँदा निम्तिन सक्ने जोखिमको । मानिसहरूलाई त्यहाँ खतरा छ भनेर सूचित गर्दा समेत उनीहरू अटेरी गर्ने गरेको उनले बताए । भने, ‘मैले सम्झाउँदै उल्टै मलाई गाली गर्छन् । मरे हामी मर्छौं, तपाईंलाई के मतलब भन्छन् ।’

छैन सुरक्षाको व्यवस्था

पोखरीमाथि घाँस उम्रिएर घाँसे मैदान जस्तो भए पनि तल भने पानी छ । घाँसको सतह कमजोर भई मानिस तल छिरे ठूलै दुर्घटना हुन सक्ने तामाङ बताउँछन् । ‘यो पोखरीमा धेरै पहिले दुई जना मानिस छिरेर मरिसकेका छन्’, उनले भने, ‘कहिलेकाहीँ गाईबस्तु छिरेर निकाल्नुपर्छ ।’

यस्तो दुर्घटना सम्भावित ठाउँ भए पनि सो क्षेत्रमा सुरक्षाको कुनै व्यवस्था छैन । मानिसहरू सहजै जान सक्ने अवस्था छ । वरिपर ढलका पाइप फिँजाइएको छ । पछिल्लो समय भाइरल भएर मान्छेहरू ओइरिन थालेपछि भने प्रहरीले खतराको सूचना दिनका लागि पोखरीको दुई–तीनपट्टि बोर्ड राखेको छ । दुई जना प्रहरी पनि राखेको छ निगरानीका लागि । तर त्यहाँ राखिएको बोर्ड र प्रहरीको बेवास्ता गरेर छिर्नेहरु छिरिहेकै छन् । भिडियो बनाइरहेकै छन् ।

अटेरी युवायुवती

एक त मानिस पानीभित्र छिर्दा दुर्घटनाको जोखिम हुन्छ भने अर्को फोहोर पानीका कारण घाउखटिरा तथा गम्भीर प्रकृतिका रोग लाग्ने सम्भावना पनि उत्तिकै छ । प्रहरीले भित्र नजान सूचना राखेको छ । सूचना अटेर गर्दै जालान् कि भनेर नियमित दुई जना प्रहरी पनि खटाएको छ । 

तर कतिबेला प्रहरीको आँखा छलेर जान पाइएला भनेर युवायुवती कुरिरहेका हुन्छन् । हामीले स्थानीय तामाङसँग कुरा गर्दैगर्दा दुई जना युवती छेउमै बसेर हाम्रो भलाकुसारी सुनिरहेका थिए । तामाङले यहाँ छिर्नु दुर्घटनाको सम्भावना रहेको र दुर्घटनै नभए पनि यहाँको पानी सफा नभएकाले छिर्न नहुने बताउँदै गर्दा उनीहरूले त्यसको प्रतिवाद गरे ।

‘काठमाडौंको ठाउँमा यस्तो कुरा राम्रो हो । हामीलाई मन पर्छ । तपाईंले नराम्रो भनेर हुन्छ र ?’ उनीहरूको जवाफ थियो । जब फोहोर पानी हो र दुर्घटना पनि हुन सक्छ भनेर एक स्थानीयले भन्दै गर्दा उनीहरूले उल्टै उनलाई नै नराम्रो भन्न भ्याए ।

केयुकेएललाई देखाएर पन्छियो वडा

महानगरीय प्रहरी प्रभाग बल्खुका प्रहरी नायव निरीक्षक भुवन खड्काका अनुसार प्रहरीको आँखा छलेर दिनहुँजसो मानिसहरू पोखरीमा प्रवेश गर्छन्’ रोक्न सकिएको छैन । ‘वडा कार्यालयले हाम्रो कुरा बेवास्ता गरिरहेको छ,’ खड्का भन्छन्, ‘हामीले बिहान र बेलुका गरेर चार जना प्रहरी खटाएका छौँ ।’

प्रहरीले वडा कार्यालयलाई सो क्षेत्रमा नजानू भन्ने सूचना लेखेर बोर्ड राखिदिन आग्रह गरेको थियो । प्रनानि खड्का भन्छन्, ‘त्यो पनि वास्ता नगरेपछि हामी आफैँले लगेर राख्यौँ । अब पनि मानिसहरूले टेरेनन् भने उनीहरूलाई कारबाही गर्नेभन्दा अरु उपाय हामीसँग छैन ।’

प्रहरीले वडा कार्यालयलाई देखाएको बारे जिज्ञासा राख्दा ललितपुर महानगरपालिका-४ का वडाध्यक्ष नारायण केसीले सो जग्गा काठमाडौं उपत्यका खानेपानी लिमिटेडको स्वामित्वमा भएकाले वडाले केही ठोस कदम उठाउन नसकेको जवाफ दिए । ‘हामीले बारम्बार उहाँहरूलाई झक्झक्याइरहेका छौँ,’ उनले भने, ‘तर उहाँहरूले सो क्षेत्रको सुरक्षामा केही गर्नुभएको छैन ।’

‘पोखरी भासिलो छ । त्यहाँ गएर मानिसहरूले टिकटकमा भिडियो बनाएको थाहा पायौँ । त्यस्तो ठाउँमा जाँदा दुर्घटना हुन सक्छ भनेर प्रहरीसँग समन्वय गरेर प्रहरी खटाएका छौं’, उनले भने । 


केही गर्नु त पर्छ : केयुकेएल

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले २०४२ सालमा काठमाडौं उपत्यकाको ढल छान्नका लागि त्यो पोखरी बनाइएको थियो । केही वर्ष सञ्चालन भएपछि सो काम बन्द भयो । अहिले त्यहाँ तीनवटा पोखरी छन् । दुईवटामा पानी छैन । त्यसैले त्यो खेल मैदान भएको छ । एउटामा ढल मिसाइएको भएर अहिले दलदल बनेको छ ।

केयुकेएलका चन्द्रपाल श्रेष्ठ भन्छन्, ‘हामीले अब सो पोखरीमा माटो हाल्ने भनेर छलफल गरिरहेका छौँ । कहिले हाल्छौँ त्यो टुंगो छैन ।’

जोमिखपूर्ण छ भनेर पटकपटक जानकारी आइरहेको भन्दै उनले भने, ‘तर, हामीले के गर्ने भनेर निर्णय लिन सकेका छैनौं ।’ उनका अनुसार खानेपानी लिमिटेडले अब छिट्टै यसको निर्णय लिनेछ । 

सबै निकायसँग कुरा गर्दा लाग्यो– मलपोखरीले निम्त्याउन सक्ने जोखिमबारे सबै अवगत छन् । तर, चासो कसैले दिएका छैनन् । टिकटकले भाइरल बनाएको मलपोखरीको न पानी सफा छ, न त्यहाँ भिडियो बनाउन सुरक्षित नै छ । यस विषयमा सरोकारवाला निकायको बेलैमा ध्यान नजाने हो भने भविष्यमा ठूलै दुर्घटना नहोला भन्न सकिन्न ।

jackson ribon