विराटनगर / विराटनगरमा आजबाट सुरु भएको छैटौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विराटनगर–११ ले भारतको युनाइटेड सिक्किम फुटबल क्लबमाथि जित निकालेको छ । बिहीबार भएको उद्घाटन खेलमा विराटनगरले सिक्किममाथि २–१ गोलको जित निकालेको हो ।
विराटनगरस्थित सहिद रङ्गशालामा भएको खेलमा विराटनगरलाई जिताउन प्रकाश बुढाथोकीले दुई गोल गरे ।
खेलकाे दसाैँ मिनेटमा प्रकाशले गोल गर्दै विराटनगरलाई सुरुआती अग्रता दिलाएका थिए । खेलकाे १७औँ मिनेटमा सिक्किमले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा विराटनगरले एक गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो । ४९औँ मिनेटमा प्रकाशले पुनः दोस्रो गोल गर्दै विराटनगरलाई जिताए ।
खेलमा दुई गोल गरेका विराटनगरका खेलाडी प्रकाश बुढाथोकी म्यान अफ द म्याच बने ।

जितसँगै विराटनगरले क्वार्टरफाइनमा स्थान पक्का गरेको छ भने सिक्किम पहिलो खेलबाटै बाहिरिएको छ । अब विराटनगरले क्वार्टरफाइनलमा मनाङ मर्स्याङ्दी क्बलसँग सेमिफाइनलका लागि खेल्नेछ । यो खेल २८ चैतमा हुने छ ।
प्रतियोगिताअन्तर्गत शुक्रबार हुने खेलमा गोरखा ब्वाइज क्लब रुपन्देहीले भारतको पञ्जाब पुलिससँग खेल्नेछ ।
आजबाट सुरु भएको प्रतियोगितामा नेपाली र विदेशी गरेर १० टिमको सहभागिता छ । आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा नेपाली सात र विदेशी तीनवटा टिम छन् । नेपाली टिममा विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपीएफ)का साथै विराटनगर– ११, मनाङ मर्स्याङ्दी, मछिन्द्र क्लब, गोर्खा ब्वाइज क्लब, सङ्कटा ब्वाइज स्पोर्टिङ क्लब रहेका छन् ।
विदेशी टिममा भारतको सिक्किम युनाइटेट फुटबल क्लब, पञ्जाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुम छन् ।