काठमाडौँ / नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार जना मन्त्रीहरूको सांसद पद खारेज भएको छ । सङ्घीय संसद प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु शाह र कैलाली–३ का गौरीकशंकर चौधरीलाई सांसद पदबाट मुक्त गरिएको जानकारी गराएका हुन् ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेताका तर्फबाट उनीहरूले दल त्याग गरी नेकपा एमालेमा प्रवेश गरेको व्यहोरा संलग्न भई राजनीतिक दलसम्बन्धी ऐनअनुसार व्यवस्था गर्न भनी सचिवालयमा पत्र पठाएकाले सभामुख सापकोटाले सोहीअनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ को उपदफा १ र प्रतिनिधिसभा नियमावलीको २०७५ को नियम २ सय १२ को उपनियम १ बमोजिम सांसद पदबाट मुक्त भएको जानकारी प्रतिनिधिसभालाई गराएका हुन् ।
राजनीतिक दल सम्बन्धी ऐन अनुसार दल परित्याग गरेका सांसदहरू सांसद पदबाट स्वतः पदमुक्त हुन्छन् । संविधान अनुसार मन्त्री हुनका लागि प्रतिनिधिसभाका सांसद हुुनुपर्छ । उनीहरूलाई पदमै कायम राख्नका लागि ६ महिनाभित्र सांसद हुनुपर्नेछ ।