काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगन थापाले सरकारले गरेका कामहरूको तथ्य र तथ्याङ्कमा टेकेर संसदभित्र बहस गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उनले मिथ्याङ्क अघि सारेर संसदबाहिर सभा–सम्मेलनमा नभई तथ्यमा संसदभित्र बहस गर्न प्रधानमन्त्रीलाई चुनौती दिएका हुन् ।
उनले कसैले प्रश्न नगर्ने सभा–सम्मेलनमा प्रधानमन्त्रीले मिथ्याङ्क प्रस्तुत गर्ने गरेको दाबी गर्दै एक–एक वटा आयोजना र कामका बारेमा संसदमा बहस गर्न चुनौती दिए । ‘प्रधानमन्त्रीज्यू तथ्य र तथ्याङ्कमा टेकेर बहस गर्नका निम्ति म तपाईलाई संसदमा निम्तो दिन चाहन्छु,’ उनले भने, ‘होइन भने तपाई बाहिरको सभा–सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्के, चिलिमे, बैठके, चौतारे राखेर तलबाट ताली बजाउने अनि माननीय सांसदहरूले संसदमा आएर बालकविता सुनाएर बस्ने होइन । म/हामी तपाईंसँग बहस गर्न तयार छौँ ।’
उनले तीन वर्षमा कहाँ–कहाँ के–के चमत्कार भएको छ ? त्यसमा बहस गर्न आफू तयार रहेको बताए । ‘तथ्य र तथ्याङ्कमा टेकेर बहस गरौँ प्रधानमन्त्रीज्यू,’ उनले भने, ‘नेपालको इतिहासमा सबैभन्दा बढी अवसर पाउनुभएको अवस्थामा काम कति भयो ? कसरी भयो ? भन्ने कुरामा बहस गर्न तपाईंलाई यो संसदमा एउटा सांसद निम्तो दिन चाहन्छ । चुनौती दिन चाहन्छ ।’ संसदलाई छलेर भागेर होइन, यहाँभित्र आएर छलफल गर्न उनले प्रधानमन्त्रीसँग आग्रह गरे ।
प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर २०७५ सालको असोजसम्म मेलम्चीको पानी आउँछ भने पनि प्रधानमन्त्री र मन्त्रीको कुरा नमिल्दा र ठेकेदारसँग कुरा नमिल्दा साढे २ बर्ष बढी समय लागेको र डेढ अर्ब रुपैयाँ अनावश्यक खर्च भएको भन्दै उनले भने, ‘अहिले यत्रो फुर्ति ?’
बूढीगण्डकी, फास्टट्रयाक, पश्चिम सेती, कर्णाली करिडोर, कोसी करिडोर, बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजनालगायत वर्षौंदेखि थला परेका राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण सम्पन्न गर्ने सम्बन्धमा भने सरकार उदासीन भएको आरोप लगाए ।
निर्माण सकिएर चालू भएको दुई वर्ष भइसकेको सिन्धुली र राप्तीको पुल उद्घाटन गरिएको, बीच बाटोमा पुगेको कामको शिलान्यास गरिएको, कसैको डिपिआर नै नभएको भन्दै उनले बालुवाटारमा नै निर्माण सम्पन्न कोठाको शिलान्यास गरेर शिलान्यास र उद्घाटन गर्ने रहर पूरा गर्न सुझाव दिए ।
दिनको तीन किलोमिटर सडक विस्तार नभएको बेला दैनिक १० किलोमिटर पिच भएको भनी झूटा प्रचार गरिएको उल्लेख गर्दै उनले क्यालकुलेटरले हिसाब गर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।