birat ribon

यसरी हुन्छ पित्तथैलीमा पत्थरी

Neuro
यसरी हुन्छ पित्तथैलीमा पत्थरी

विराटनगर / पित्तथैली कलेजोको तल हुने नासपती आकारको एउटा सानो थैली हो । कलेजोमा बनेको पित्त (पाचन प्रणालीमा सहयोग पुर्याउने तरल) जम्मा गर्ने र यसलाई बाक्लो पार्नु नै पित्तथैलीको मुख्य काम हो । पित्तको उत्पादन कलेजोमा निरन्तररूपमा भइरहेको हुन्छ । पित्तथैलीले सानो आन्द्रामा आएका चिल्लो पदार्थयुक्त खानालाई पचाउन तथा अम्लिय पदार्थलाई निष्क्रिय पार्ने उद्देश्यले पित्त पठाउने गर्छ ।

पित्तमा लवण, कोलेस्ट्रोल र बिलिरुबिन पाइन्छ । पित्ताशयमा यी तत्वहरू बिस्तारै जम्मा हुँदै जाँदापछि साना केराउका दाना वा सोभम्दा ठूलो आकारको ढुङ्गा बन्दै जान्छन् जसले पत्थरीको रूप लिन्छ । पित्तथैलीमा देखापर्ने पत्थरी दुई किसिमका हुन्छन् । हलुका हरियो वा पहेलो रङ्गका पत्थर जसमा धेरैजसो कोलेस्ट्रोल हुन्छ । झन्डै ७० प्रतिशत पित्तथैलीका पत्थर यस प्रकारका हुन्छन् ।

cura insider

साना र गाढा रङ्गका पत्थर भने धेरै बिलिरुबिन तथा क्याल्सियमले बनेका हुन्छन्, जुन कलेजोमा सङ्क्रमण भएका बिरामीमा देखिनेगर्छ । यो रोग हरेक उमेर समूहमा हुनेगर्छ । तर, ३० वर्षदेखि ४० वर्षको उमेरका मानिसमा पित्तथैलीको पत्थरी हुने धेरै पाइएको छ । साथै, पुरुषहरूको तुलनामा महिलाहरूमा पित्तथैलीको पत्थरी हुने वा यसको जोखिम बढी हुने विभिन्न अध्ययन र अनुसन्धानले देखाएको छ ।

पित्तको संरचनामा परिवर्तन आएमा, चिल्लो बोसोयुक्त खानाको अत्यधिक सेवन मधुमेह, राता रक्तकोष नष्ट हुने रोग आदिका कारण पित्ताशयमा पत्थरी हुनेगर्छ । वंशाणुगत, शरीरको तौल (अत्यधिक मोटो वा दुब्लो भएमा), धेरै व्रत वा धेरै समय भोकै बस्नाले, कोलेस्ट्रोलको औषधि सेवन गरिरहेका, लामो समयदेखि शरीरमा रगतको कमी भएमा, गर्भनिरोधक चक्कीको धेरै सेवन गरेमा पनि पित्तथैलीको पत्थरी हुने जोखिम हुन्छ ।

सामान्यतः पित्तथैलीमा पत्थरी हुदा वर्षौंसम्म लक्षण नदेखिन पनि सक्छ । तर, पित्तथैलीमा पत्थरी हुँदा माथिल्लो पेटको दाहिने कोखा दुखेमा, दुखाइ कहिलेकाहीँ दाहिने पाखुरा वा ढाडतिर सर्न गएमा, चिल्लो खानेकुरा खाएपछि दुखाइ बढ्ने, दुखाइसँगै ज्वरो आउने, खान मन नलाग्ने, वाकवाकी, पेट ढुस्स हुने, पेट फुल्ने, अपच हुन्छ, डकार आउने तथा पिसाबमा रगत देखिनेजस्ता लक्षण देखिन सक्छ ।

पित्तथैलीमा पत्थरी भएको पुष्टि भएपछि अप्रेसन गर्नुपर्ने हुन्छ । औषधिको सहयोगले पित्तथैलीको पत्थरी हटाउन सकिँदैन । तर, सबै प्रकारको पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्नुपर्छ भन्ने हँुदैन । डाक्टरको सल्लाहअनुसार शल्यक्रिया गर्ने वा नगर्ने परामर्श लिनुपर्ने हुन्छ । पत्थरी हुन नदिन प्रशस्त मात्रामा पानी पिउने, मासु, चिल्लो वा बोसोयुक्त पदार्थ कम खाने, सागसब्जी धेरै खाने, धेरै तथा लामो समयसम्म भोको पेट नबस्ने, जङ्क फुड, प्रशोधित खाने कुरा, फास्ट फुडको सेवन नगर्ने तथा एकैचोटि धेरै खानुभन्दा धेरैपटक थोरै–थोरै खाने बानी बसाउनुपर्छ ।

jackson ribon