birat ribon

विराट गोल्डकपको तयारी सकियो, उद्घाटनमा सिक्किम र विराटनगर भिड्ने

Neuro
विराट गोल्डकपको तयारी सकियो, उद्घाटनमा सिक्किम र विराटनगर भिड्ने

विराटनगर / ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको छैठौँ संस्करण आयोजनाका लागि सबै तयारी सकिएको छ ।

औद्योगिक नगरी विराटनगर महानगरपालिकाको इज्जत, इतिहास एवं प्रतिष्ठासँग जोडिएको प्रतियोगिताका लागि मैदानको स्तरोन्नति, व्यवस्थापनदेखि लिएर सहभागी टिम यकिन गर्ने लगायतका सबै तयारी सकिएको आयोजकले जनाएको छ । यसवर्ष हुने प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने तय भएको छ । प्रदेश राजधानी विराटनगरको सहिद रङ्गशालामा भोलि (बिहीबार) देखि आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा नेपाली र विदेशी गरेर १० टिमले सहभागिता जनाउने पक्का भएको आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिए । जसमा नेपाली सात र विदेशी तीनवटा टिम छन् ।

cura insider

नेपाली टिममा विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपीएफ)का साथै विराटनगर– ११, मनाङ मस्र्याङ्दी, मछिन्द्र क्लब, गोर्खा ब्वाइज क्लब, सङ्कटा ब्वाइज स्पोर्टिङ क्लब रहेका छन् । विदेशी टिममा भारतको सिक्किम युनाइटेट फुटबल क्लब, पञ्जाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुम छन् ।

उद्घाटन खेलमा विराटनगर– ११ र सिक्किम युनाइटेट फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ । विराटनगरले घरेलु मैदानमा विदेशी टिमको सामना गर्नुपर्ने पहिलो खेल निक्कै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । विराटनगरलाई आफ्नै मैदानमा विदेशी टिमलाई पराजित गरेर प्रतियोगितामा विजयी सुरुआत गर्नैपर्ने चुनौती छ । सिक्किम पनि घरेलु टिमलाई पराजित गरेर प्रतियोगिताको आगामी यात्रा तय गर्नुुपर्ने चुनौतीमा छ ।

विराट गोल्डकप ट्रष्टको आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा भव्य रुपमा रात्रिकालीन प्रतियोगिता आयोजना हुँदै छ । रातको समयमा दर्शकको उल्लेख्य उपस्थिति रहने भएपछि आयोजकले रात्रिकालीन आयोजनाको निर्णय लिएको हो । शाहका अनुसार दर्शकका लागि दिनभरको कामको बोझ, तनाव र थकान मेट्ने आधार गोल्डकप बन्ने अपेक्षा गरिएको छ ।

ट्रष्टका अध्यक्ष सन्तोष वानियाका अनुसार यस वर्ष पुरस्कार राशि बढाएर १५ लाख १५ हजार रुपैयाँ पुर्याइएको छ । प्रतियोगिताका विजेताले १५ लाख १५ रुपैयाँ र ट्राफी तथा उपविजेताले सात लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउने जानकारी वानियाले दिए । यसअघि २०७४ सालमा सम्पन्न प्रतियोगितामा विजेतालाई १२ लाख रुपैयाँ प्रदान गरिएको थियो । तर यसवर्ष तीन लाख १५ हजार रुपैयाँ बढाइएको हो ।

प्रतियोगितामा विभिन्न सातवटा विधामध्ये उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, व्यवस्थापक, मिड फिल्डर, डिफेन्स, गोलकर्ता र टिमले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने जानकारी वानियाले दिए । त्योबाहेक प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने छ ।

प्रतियोगितामा सहभागी टिमलाई सुविधावापत प्रि–क्वाटर खेल्दै गर्दा ३० हजार, क्वाटरफाइनलमा ५० हजार र सेमिफाइनलमा ७५ हजार रुपैयाँ प्रदान गरिने संयोजक शाहले जानकारी दिए । उनका अनुसार प्रतियोगितालाई भव्य र सम्भ बनाउँदै विवादरहित ढङ्गबाट सम्पन्न गर्न सबै पक्षले साथ दिइरहेका छन् । विराटनगरकै गौरवसँग जोडिएको गोल्डकपलाई सफल बनाउन कुनै कसर बाँकी नराखिने शाहको भनाइ छ ।

ऐतिहासिक सहर विराटनगरमा २०१८ सालदेखि महेन्द्र गोल्डकपका नाममा प्रतियोगिता हुँदै आएको थियो । विवादका कारण २०५९ सालदेखि प्रतियोगिताले निरन्तरता पाउन सकेन । तर मुलुकमा भएको राजनैतिक परिवर्तनसँगै २०६७ बाट नाम फेरेर २०६९ सालदेखि विराट गोल्डकपका रुपमा प्रतियोगिता आयोजना गर्न थालियो । विराट गोल्डकप २०६८, २०६९, २०७१, २०७२ र २०७४ सालमा आयोजना गरिए ।

पछिल्लो पटक २०७४ सालमा अस्थायी फ्लडलाइट जडान गरेर डे–नाइट (दिवा तथा रात्रिकालीन) प्रतियोगिता आयोजना गरियो । २०७५ र २०७६ सालमा प्रतियोगिता भएन । २०७५ मा कसैले प्रतियोगिता सञ्चालनको जिम्मै लिएनन् भने २०७६ मा कोरोना महामारी गोल्डकप आयोजनाका लागि बाधक बन्यो ।

रात्रिकालीन प्रतियोगिता आयोजनास्थल विराटनगरको सहिद रङ्गशालामा प्रदेश १ सरकारको लगानीमा स्थायी फ्लडलाइट (बत्ती) जडान पनि सकिएको छ । लाइटका कारण रात्रिकालीन प्रतियोगिता सुखद् रुपमा सम्पन्न हुने अपेक्षा गरिएको शाहले बताए । उनका अनुसार प्रतियोगिताको प्रचारप्रसारका लागि विराटनगरमा मोटरसाइकल ¥याली आयोजना गरेर मङ्गलबार गोल्डकपको ट्रफीलाई विराटनगर परिक्रमा गराइयो ।

३५ वटा सिसी क्यामेरा जडान, कोरोनाबाट बच्न उच्च सावधानी

प्रतियोगिता अवधिमा कुनै पनि अप्रीय घटना हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको छ । गोल्डकप आयोजनास्थल सहिद मैदान वरपर ३५ वटा सिसी क्यामेरा जडान गरिएको छ । संयोजक शाहका अनुसार कुनै अप्रीय घटना नहोस् भनेर सुरक्षा निगरानी बढाउन क्यामेरा जडान गरेर सञ्चालनमा ल्याइएको हो ।

आयोजकको आग्रहमा प्रतियोगितालाई सुरक्षित र मर्यादित रुपमा सम्पन्न गर्न ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दर्शकको सुरक्षामा कुनै कमजोर हुन नदिने बताए । कुनै पनि कमजोरी र घटना हुन नदिन गोल्डकप आयोजनास्थललाई सुरक्षा निगरानीमा राखिने जानकारी उनले दिए । प्रतियोगितालाई रोमाञ्चक बनाउन रात्रिकालीन खेल आयोजना गरिएकाले सुरक्षाका लागि प्रहरी संवेदनशिल रहेको एसपी खड्काको भनाइ छ ।

आयोजकले कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धी आवश्यक मापदण्ड पालना र उच्च सावधानीमा विशेष जोड दिएको छ । संयोजक शाहले दर्शकले कोरोनाबाट बच्न अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्नुपर्ने बताए । उनका अनुसार प्रत्येक दर्शकलाई मास्क र सेनिटाइजरको व्यवस्था प्रतियोगिता आयोजनास्थलमै गरिने छ । नौ हजार दर्शक क्षमताको रङ्गशालामा कोरोनाका कारण दैनिक पाँच हजार जनालाई मात्रै प्रवेश दिइने शाहले स्पष्ट पारेका छन् ।

jackson ribon