काठमाडौँ / काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई नागरिक अभिनन्दन गरिएको छ । मङ्गलबार बसन्तपुर डबलीमा एक सांस्कृतिक झाँकीका साथ उनीहरूलाई नागरिक अभिनन्दन गरिएको हो ।
स्थानीय भाषाको पाठ्यक्रम लागू गरेर कामपाले काठमाडौँको भाषा, लिपि, कला, संस्कार, संस्कृतिलाई जीवन्त राखेको भन्दै नेवाः पत्रकार राष्ट्रिय दबुले आज यहाँ सांस्कृतिक बाजागाजासहित शहरको विभिन्न स्थानको परिक्रमा गरी नागरिक अभिनन्दन गरेको हो ।
नागरिक अभिनन्दन कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा बाेल्दै उपप्रधानमन्त्री पोखरेलले नेपालमा रहेका सबै भाषाको जगेर्ना हुन आवश्यक भएको बताए ।
काठमाडौं उपत्यकामा नेपालभाषा (नेवारी)मा पढाउने कार्य काठमाडौं महानगरपालिकाले ढिलै भए पनि सुरु गरेको बताउँदै उहाँले नेपाली भाषामाध्यम भाषा भए पनि स्थानीय भाषा पनि कामकाजको भाषाको रूपमा प्रयोग गर्न पाउने संविधानमा उल्लेख भएको बताए ।
सामुदायिक तथा संस्थागत विद्यालयमा नेपालभाषाको पाठ्यपुस्तक ‘येँ देय् म्हसिके’ अनिवार्य गरेको भन्दै नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं शाखाको आयोजनामा गरिएको थियो । उक्त कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको पनि विशेष उपस्थिति रहेको थियो ।