birat ribon

कोरोना कहर : भ्याक्सिन भित्रियो, मास्क र स्यानिटाइजर हरायो ?

Neuro
कोरोना कहर : भ्याक्सिन भित्रियो, मास्क र स्यानिटाइजर हरायो ?

काठमाडौँ / कोभिड–१९ संक्रमण फैलिएसँगै मास्क मानिसको दैनिकी बनिसकेको थियो । हाम्रो वरिपरि मास्कबिनाको मुहार बिरलै देखिन्थ्यो । कहिल्यै मास्क नलगाउने अझ भनौँ मास्कको बारेमा थाहा नै नभएका वृद्धवृद्धा, साना बालबालिकाले समेत कोरोनाबाट मृत्यु हुने डरले मास्क लगाए ।

पसलहरूमा दूरी कायम गर्नका लागि डोरी टाँगिएको थियो । धेरै भिडभाड नहोस् भन्ने हेतुले लाइन बसेर सामान किन्नुपर्ने, बस चढ्दा लाइन बस्नुपर्ने अवस्था थियो । पसलेले हातमा पन्जा, स्यानिटाइजर लगाएर सामान दिने, पैसा लिने गर्थे ।

cura insider

तर, केही समयअघि नेपालमा कोभिड–१९ विरुद्धको भ्याक्सिन भित्रियो । भ्याक्सिन भित्रिएसँगै मानिसको मुखबाट मास्क भने बाहिरिन थालेको छ । पसलमा मास्कबिनै सामान बेच्न थालेका छन्, व्यापारी । सामान किन्न मास्कबिनै जान थालेका छन्, ग्राहक ।

विस्तारै चोक, गल्ली, सपिङ मल, होटल, रेस्टुरेन्ट जताततै मास्क लगाउनेको संख्या पातलिन थालेको छ । मास्कको बेवास्ता बढ्दै छ । सधैजसो भिड हुने न्युरोड र असनका गल्लीहरूमा भएका व्यापारीसँगै ग्राहकहरू पनि मास्कबिना आनन्दले किनबेच गरिरहेका छन् । भ्याक्सिन भित्रिएसँगै मानिसहरूमा त्रास निकै कम भएको देखिन्छ ।

कोरोना संक्रमण र मृत्यु दर घट्ने क्रममा रहेकाले मानिसहरूले मास्क बेवास्ता गर्न थालेको विज्ञहरू बताउँछन् । मास्क नलगाउँदा एकबाट पाँच, पाँचबाट १५ हुँदै फेरि पनि संक्रमण फैलिन सक्छ ।

तर, अहिले मानिसमा किन मास्क लगाउनुपर्‍यो ? कोरोना लागे पनि मरिँदैन भन्ने मनस्थितिको विकास भइरहेको छ । असन बजारको भिड देख्दा लाग्छ, मानिसमा कोभिड नियन्त्रणमा आए पनि फेरि फैलिन सक्ने सम्भावना रहिरहन्छ भन्ने ज्ञानको कमी भएकै छ ।

जनसंख्याको ६० प्रतिशत जोखिम समूहका व्यक्तिहरूले खोप लगाएपछि मात्रै हामी हाम्रो पुरानो जीवनशैलीमा फर्किन सक्ने विज्ञहरू बताउँछन् । उनीहरू अहिले नै मनलाग्दो तरिकाले हिँड्ने अवस्था नभएको बताउँछन् ।

उनीहरूका अनुसार तीन करोड जनसंख्यामा पाँच लाख भ्याक्सिन भनेको केही पनि होइन । भ्याक्सिन आउनु मात्रै ठूलो कुरा होइन । अहिले छिमेकी देश भारतमा संक्रमण दर र मृत्यृ दर बढ्दै गएको अवस्था छ ।

खुला सिमाना भएकै कारण नेपालमा पनि कोरोनाको दोस्रो लहर नआउला भन्न सकिँदैन । अहिलकोे लापरबाहीले गर्दा फेरि पनि कोरोना नियन्त्रण बाहिर हुन सक्छ ।

न्युरोडमा मास्कबिनै हिँडिरहेकी कमला थापालाई कोरोना लागेर मरिन्छ जस्तो नलाग्ने बताइन् । उनी भन्छिन्, ‘मास्क लगाउँदा लगाउँदा कान दुख्ने समस्या भइसक्यो, त्यसैले लगाउन मन लाग्दैन ।’ उनलाई अब भ्याक्सिन आएपछि कोरोनासँग डराउन पर्छ जस्तो लाग्दैन ।

इन्द्रचोकमा व्यापार गरिरहेका सुमन श्रेष्ठको मुखमा मास्क थिएन । उनको पसलमा लुगा हेर्नेको भिड देखिन्थ्यो । पसलमा भिड गरिरहेका मान्छेहरू पनि कतिको मुखमा मास्क थिएन । त्यही पसलमा सामान किनिरहेकी सञ्जिता सिलवालले पसलेलाई भनिन्, ‘दाइ मास्क लगाउनु न ।’

‘कोरोना हराइसक्यो, किन मास्क लगाउनुपर्‍यो’, उनले जवाफ दिए, ‘मास्क लगाउँदा झिँझो लागिसक्यो । अब त भ्याक्सिन पनि आइसक्यो डराउनु पर्ने के छ र ?’

अहिले असन बजारमा भिडले हिँडिसाध्य छैन । सबै व्यापार व्यवसाय पछिल्लो समयभन्दा फस्टाएको सुमनले बताए । उनका अनुसार अहिले व्यापार राम्रो छ । कोरोनाको त्रास कम हुँदै गएपछि ग्राहकहरू बढिरहेका छन् ।

इन्द्र चोकनजिकै सुरज आर्केडको तेस्रो तल्लामा कपडा पसल सञ्चालन गरिरहेका मिलन खड्काले अहिले व्यापार राम्रोसँग भइरहेको बताए । उनका अनुसार नेपालमा कोरोनाको भ्याक्सिन आयो भन्ने खबरले धेरै मानिसको त्रास हटाएको छ । त्यसैले पनि उनीहरू ढुक्कले मास्कबिनै हिँडडुल गरिरहेका छन् ।

केही भने अझै कोरोनाको त्रासमै छन् । घरका लागि सामान किन्न असन बजार आएकी सञ्जिता सिलवाल ब्यागमा स्यानिटाइटर, मास्क बोकेर हिँडिरहेकी छिन् । उनी भन्छिन्, ‘नेपालमा बर्सेनि हजारौँ मानिस निमोनियाबाट मर्छन् । श्वासप्रश्वासका कारण निस्किने ब्याक्टेरियालाई मास्कले रोकेको हुन सक्छ ।’

त्यस्तै, मास्क प्रदूषणसँग पनि जोडिएको हुनाले यसले सिधै प्रदूषित हावा खानबाट समेत बचाउने उनी बताउँछिन् । विश्वकै प्रदूषित सहरमा बस्ने हामीले मास्क त नलगाई सुखै छैन’, उनी भन्छिन् ।

ब्यागमा बोकेको स्यानिटाइजर देखाउँदै उनी भन्छिन्, ‘यस्तो भिडभाडमा हात कता धुने ? हामी जहाँ जान्छाैँ, त्यहाँ हात धुन सम्भव नहुन सक्छ । त्यो बेलामा हामीले स्यानिटाइजरको प्रयोग गर्छौँ । हामीले हात कोभिडबाट बच्नका लागि मात्रै धुने होइन । हात धुने बानीले झाडापखालादेखि टाइफाइड, जन्डिसजस्ता सरुवा रोगहरूबाट बच्नसमेत सहयोग पुर्‍याउँछ ।

कोरोनापछि बजार विस्तारै फस्टाउँदै गए पनि अधिकांशले मास्क, स्यानिटाइजरलाई बिर्सेको अवस्था छ । असन बजार अवलोकन गर्दा लाग्छ, भ्याक्सिन आएपछि मास्क किन लगाउनुपर्‍यो भन्ने मनस्थितिको विकास भइरहेको छ ? अब फेरि यही लापरबाहीले कोरोना फैलिएर भयावह स्थिति सिर्जना भयो भन्ने जिम्मेवार को हुन्छ ?

jackson ribon