birat ribon

अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाएकामा रगत जम्ने समस्या

Neuro
अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाएकामा रगत जम्ने समस्या

विराटनगर / अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना खोप लगाएका धेरै व्यक्तिको दिमागमा असामान्य रूपमा रगत जमेको (ब्लड क्लट) फेला परेको छ ।

खोप लगाइसकेपछि धेरै व्यक्तिमा सेरेब्रल भेनस साइनस थ्रोम्बोसिस (सिबिएसटी) अर्थात् मस्तिष्कको बाहिरी सतहमा डुरामेटरको तहहरू बीचमा ब्लड क्लट देखिएको हो । जर्मनी, फ्रान्स र क्यानडामा ब्लड क्लटका समस्या देखिन थालेपछि एस्ट्रजेनेकाको कोरोना खोपमा सीमित प्रतिबन्ध लगाइएको छ ।

cura insider

हपकिन्स मेडिसिनका अनुसार सिबिएसटीले रक्तकोषहरू फुट्ने हुँदा दिमागका कोषहरूमा रगत चुहिन थाल्छ जसले दिमागमा रक्तस्राव (ब्रेन हेमोरेज) निम्त्याउन सक्छ । युरोपियन मेडिसिन एजेन्सीले अहिलेसम्म केही पनि प्रमाणित नभए पनि ब्लड क्लटका समस्या देखिनसक्ने सम्भवना रहेको जनाएको छ । एजेन्सीले दिमागमा ब्लड क्लट हुने खोपको एक साइड इफेक्ट हो वा संयोगले प्राकृतिक रूपमा आएको हो भनेर पत्ता लगाउने कोसिस गरिरहेको छ ।

जर्मनीको पल अर्लिच संस्थानका अनुसार हालसम्म २७ करोड मानिसहरूलाई दिइएको कोरोना खोपमध्ये ३१ जनामा रगत जम्ने समस्या रिपोर्ट गरिएको छ र यसका कारण नौ जनाको मृत्यु भएको छ । त्यस्तै, युकेका पछिल्ला तथ्याङ्कअनुसार खोप लिइसकेका एक सय ८० लाखमध्ये ३० जनामा रगत जम्ने समस्या भएको र ती बिरामीमा प्लेटलेटको सङ्ख्या अत्यधिक कम भएको र यसका कारण सात जनाको ज्यान गएको छ ।

अहिलेसम्म मस्तिष्कमा रगत जम्ने समस्या भेटिएका बिरामीलाई पहिले नै समस्या थियो वा थिएन भनेर पत्ता लगाउन सकिएको छैन । रगतमा प्लेटलेटको सङ्ख्या घट्न थाल्दा रगत जम्ने समस्या देखा पर्न थाल्छ । केही विज्ञका अनुसार खोप लगाएपछि देखिएको अवस्थाहरूको कारण कोभिड १९ हुनसक्छ । कोरोना भाइरस सङ्क्रमण भएमा धेरैमा रगत जम्ने समस्या पनि एक लक्षण हुनसक्छ ।

सिबिएसटीको समस्या युवा महिलाहरूमा बढी देखिन्छ, विशेषगरी गर्भनिरोधक गोली लिइरहेका महिलामा यसको जोखिम बढ्न सक्छ । यस्तो अवस्थामा खोप दिए पनि वा नदिए पनि प्राकृतिक कारणहरूले गर्दा दिमागमा रगत जम्ने जोखिम हुन सक्ने बताइएको छ ।

jackson ribon