birat ribon

चलचित्र क्षेत्रमा औद्योगिक चरित्र नहुँदा समस्या : नीर शाह

Neuro
चलचित्र क्षेत्रमा औद्योगिक चरित्र नहुँदा समस्या : नीर शाह

काठमाडौँ / वरिष्ठ कलाकार नीर शाहले औद्योगिक चरित्र हासिल गर्न नसकेका कारण चलचित्र क्षेत्र उद्योगको रुपमा स्थापित हुन नसकेको बताएका छन् ।

नेपाल चलचित्र निर्देशक समाजको १३ औँ वार्षिक साधारणसभामा बोल्दै वरिष्ठ कलाकार शाहले चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीति नियम बनाए पनि औद्योगिक चरित्र हासिल नभएसम्म उद्योगको रुपमा स्थापित हुन नसक्ने बताए । यस्तै चलचित्र क्षेत्र आफैँ राष्ट्रियस्तरको बन्न नसकेको पनि शाहले बताए ।

cura insider

जुन भाषालाई मात्र लिएर दशकौँदेखि सिनेमा बनेका छन्, त्यसकै आधारमा राष्ट्रिय भइसक्नुपर्ने तर त्यसो हुन नसक्नुको मुख्य कारण सबैले जान्ने र माया गर्ने भाषामा चलचित्रलाई प्रस्तुत गर्न नसक्नु नै रहेको बताए । जबसम्म देशभरका सम्पूर्ण भाषा, संस्कृति, संस्कारलाई सन्तुलित ढङ्गबाट अगाडि बढाउन सकिन्न तबसम्म चलचित्र उद्योगले राष्ट्रिय स्वरुप हासिल गर्न नसक्ने पनि वरिष्ठ कलाकार शाहले बताए ।

कुनै पनि बित्तीय संस्था चलचित्र निर्माणका लागि बित्तीय सहायता दिन तयार नभएसम्म नेपाली चलचित्र क्षेत्र चलायमान बन्न नसक्ने पनि शाहको भनाइ छ । देशभरका जुनसुकै भाषा, समुदाय, संस्कृति र संस्कारमा विश्वास गर्ने चलचित्रकर्मीहरू एकजुट भएर दरिलो बित्तीय संस्था गठन गर्न तत्पर हुन पनि आग्रह गरे । बित्तीय संस्था निर्माण गर्न सक्ने हो भने भोलिका दिनमा सम्पूर्ण मागहरुलाई सम्बोधन गर्न सकिने तर त्यसो हुन नसके आगामी दिनमा चलचित्र क्षेत्र अझ कठिन भएर जाने पनि शाहले बताए ।

चलचित्र क्षेत्रलाई चलायमान बनाउन के गर्नुपर्छ ?

नेपाल चलचित्र निर्देशक समाजको १३ औँ वार्षिक साधारणसभामा उपस्थित कलाकार तथा निर्माताहरुले कोभिडबाट सबैभन्दा बढी प्रभावित भएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन चुनौती रहेको बताएका छन् ।

नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणाले चलचित्र क्षेत्रलाई चलायमान बनाउन सबैभन्दा पहिला हल खोल्नुपर्ने बताइन् । त्यसपछि स्वास्थ्य मापदण्ड पालना गरी दर्शकलाई चलचित्र हेर्न आह्वान गर्नुपर्ने बताइन् ।

निर्देशक समाजका उपाध्यक्ष राजेन्द्र उप्रेतीले सरकारले कोरोना खोप सबै नागरिकलाई दिनुपर्ने र भिडमा जाँदा कोरोना सर्दैन भन्ने विश्वास दिलाउनुपर्ने बताए । यस्तै यसअघि राम्रो चलचित्र बनाई राम्रो आम्दानी गर्दै आएका निर्माताले नै पहिलो तत्परता देखाएर चलचित्र प्रदर्शनी गर्नुपर्ने बताए । निर्देशक समाजका अर्का उपाध्यक्ष राजु अधिकारीले पनि दर्शकलाई हलमा जाँदा स्वास्थ्य मापदण्ड पूरा गरी सुरक्षाको आभास दिलाउनुपर्ने बताए ।

निर्देशक समाजका सचिव जनकदीप बज्राचार्यले सिनेमा दर्शक, सरकार र सबैको सकारात्मक सहयोग भएमा थलिएको सिनेमा क्षेत्र चलायमान बनाउन सकिने बताए । यस्तै निर्देशक, निर्माता नरेश पौडेलले सरकारले पाँच वर्षसम्मका लागि चलचित्र क्षेत्रका सबै व्यवसायलाई सम्पूर्ण रुपले कर छुट गर्नुपर्ने बताए ।

कलाकार दिनेश डिसीले सबैभन्दा पहिला गास, बास र कपासको समस्या समाधान नभइकन चलचित्र क्षेत्र चलायमान बन्न नसक्ने बताए । जनजीवन समान्य बन्दै गएको अवस्थामा चलचित्रकर्मीहरू सबैले आफ्नो कामलाई निरन्तरता दिई चलचित्र प्रदर्शनका लागि तयार हुनुपर्ने बताए । यस्तै पहिलो पटक चलचित्र कसले चलाउने भन्ने अन्योल भएकाले सरकारले सहयोग गर्नुपर्ने पनि उनले बताए ।

कलाकार दीपाश्री निरौलाले सामाजिक दूरी कायम गर्दै चलचित्र हेर्नका लागि आम दर्शकलाई आह्वान गर्नुपर्ने बताइन् ।

कोभिडपछि जनजीवन विस्तारै समान्य बन्दै गएको अवस्थामा पनि चलचित्र क्षेत्र सुचारु हुन सकेको छैन । खासगरी कसले पहिला चलचित्र प्रदर्शन गर्ने भन्ने अन्योल चलचित्र निर्माताहरूमा देखिएको छ । कोभिडपछि खुलेको बजारमा चलचित्र हेर्नका लागि दर्शक नआउने हुन कि भन्ने आशङ्काले चलचित्र क्षेत्र चलायमान हुन नसकेको चलचित्रकर्मीहरूको भनाइ छ ।

jackson ribon