birat ribon

थोकमा शिलान्यास, लोकमा मजाक !

Neuro
थोकमा शिलान्यास, लोकमा मजाक !

कुनै अमिल्दो कुरो लाग्यो कि कन्टिर बाबूको घाँटी खस–खस गरिहाल्छ, मुख चिलाइहाल्छ, जिब्रो चुलबुल भइहाल्छ । यसलाई गुण भन्नुस् कि अवगुण ! त्यो तपाईंको कुरा हो । तर यसै कारण कन्टिर बाबू ‘छुछो’ भनेर बदनाम छन् ।

आमजनताको सबैभन्दा बढी सरोकार सार्वजनिक निकाय र सरकार तथा त्यहाँ बसेको व्यक्तिसँग हुन्छ । आमचासो तिनैप्रति हुन्छ । स्वाभाविकरूपमा कन्टिर बाबूले गर्ने टिप्पणी पनि तिनैप्रति हुन्छ । अब यसै आधारमा कसैले कन्टिर बाबूको आलोचना गर्छ भने उनलाई बाल मतलब छैन ।

cura insider

अब हेर्नुस् न हाम्रा ओल्बाको चाला ! सस्तो लोकप्रियता र इतिहास बनाउने नाममा यिनले जथाभावी थोकमा शिलान्यास गर्‍यागर्‍यै छन् । त्यसको कार्यान्वयन होस् कि नहोस् यिनका लागि बालै फररर ! अनि यस्तोमा कन्टिर बाबू कसरी चूप लागेर बस्न सक्छन् ? अब ओल्बाले थोकमा गरेको एक सय ६५ सडकको शिलान्यासलाई नै उदाहरणका रूपमा लिऊँ न !

शिलान्यास नै गरेर निर्माण हुने भए, किन एक सय ६५ मात्रै ? लाखौँ, करोडौँ सडक शिलान्यास गरे भैहाल्छ नि ! एकैपटक सबै घरमा पक्की सडक पुर्‍याए त हाम्रा ओल्बा महान भैहाल्थे नि ! अरे यार नौटङ्कीको पनि हद हुन्छ नि !

ए राम… ! शिलान्यास गरिएका भनिएका यी सडकको नालिबेली खोतल्दै जाँदा कतिपय सडक त वर्षौं अगाडि सुरु भई अर्बौं खर्च भइसकेका सडकलाई नयाँका नाम दिएर शिलान्यास गरिएको भन्ने कुरो पो सामाजिक सञ्जालमा आयो त । हैट, कुनै सङ्कोच नै नमानेपछि कसको के लाग्छ ?

कसैले प्रोपोगान्डा सिकोस् त ओल्बाबाट !

शिलान्यासको यो सूचीमा सडकमात्र कहाँ हो र ? यसअघि प्रत्येक स्थानीय तहमा अस्पतालको थोक शिलान्यास गर्ने पनि यिनै ओल्बा हुन् । खै, के भयो त ? कहाँ पुगे ती अस्पताल निर्माणका कार्य ? कसैलाई थाहा छ ? सब, बालुवाको घर ! यी सडक पनि यस्तै हुने त होलान् नि ! एकताका उपत्यकाका पोल–पोलमा ओल्बाको फोटो झुन्ड्याएर सामाजिक सुरक्षा कोषको हौवा पिटिएको सायद यहाँहरूले पनि बिर्सनुभएको छैन । अहिले प्रश्न त त्यसका बारेमा पनि उठेको छ नि !

खयर, कन्टिर बाबूलाई धेरै टिप्पणी गर्नु छैन तर के गर्नु, तित्राको मुखै बैरी !

jackson ribon