birat ribon

पाँचथरको सीमा क्षेत्रमा चौँरी महोत्सव हुने

Neuro
पाँचथरको सीमा क्षेत्रमा चौँरी महोत्सव हुने

पाँचथर / चौँरी गाईका विभिन्न प्रजाति तथा चौँरीसँग सम्बन्धित सामग्रीको प्रदर्शन गर्ने उद्देश्यले पाँचथरस्थित नेपाल–भारत सीमा क्षेत्रमा चौँरी महोत्सव हुने भएको छ ।

नयाँ वर्षका दिन फालेलुङ गाउँपालिका–४ तीनसिमानामा चौँरी महोत्सव हुने भएको हो । चार वर्षयता आयोजना भइरहेको महोत्सव यस वर्ष पनि आयोजना गर्न लागिएको हो ।

cura insider

फालेलुङ गाउँपालिकाको आर्थिक सहयोगमा दीपज्योति युवा क्लब, फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रबद्र्धन संस्था र कञ्चनजङ्घाका चौँरीपालन तथा संरक्षण संस्थाले महोत्सवको आयोजना गरेका हुन् ।

परम्परागत चौँरीपालनलाई व्यवस्थित र व्यावसायिक बनाई दिगो आयस्रोत बनाउने, चौँरीमा आधारित पर्यापर्यटन प्रबद्र्धनमा सघाउ पुर्‍याउने, जैविक विविधता, दुर्लभ वनस्पति तथा जीवजन्तु संरक्षणको सन्देश दिने मुख्य उद्देश्यसहित महोत्सव आयोजना गरिएको महोत्सव आयोजक समितिका सचिव सुनिल बान्तवाले जानकारी दिए ।

महोत्सवमा चौँरी तथा याकका विभिन्न प्रजातिको प्रदर्शनी, चौँरीजन्य उत्पादनको प्रदर्शनी, भुटानबाट ल्याइएका याकको प्रदर्शनी, घोडाचढी तथा याकचढी मुख्य आकर्षण रहेका छन् । यस्तै उच्च पहाडी क्षेत्रमा पाइने जडीबुटीको प्रदर्शनी, स्थानीय संस्कारमा आधारित खाद्यान्नका परिकार, भेडाको ऊनबाट निर्मित सामग्री, गोठबासमा बसोबासजस्ता आकर्षण रहने आयोजक समितिका सचिव वान्तवाले बताए ।

तीनसिमानाबाट नेपाल, भारत र भुटानका हिमालको दृश्यावलोकन गर्न सकिन्छ भने यहाँ प्रसिद्ध तीर्थस्थल गोर्खेधामसमेत रहेको छ । विगतमा फालेलुङ–४ चाररातेमा चौँरी महोत्सव आयोजना गर्ने गरिएको थियो तर चारराते पुग्न भारतीय बाटोको प्रयोग गर्नुपर्ने, सुरक्षाको अभावजस्ता कारणले महोत्सवस्थल तीनसिमाना निर्धारण गरिएको महोत्सव आयोजक समितिका अध्यक्ष एवं फालेलुङ–४ का वडाध्यक्ष विद्धिमान सावदेनले बताए ।

तीनसिमाना नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको, गोठबासको प्रबन्ध भएको, सहज सडक पहुँच भएको तथा तीनसिमानालाई पर्यटक गन्तव्य बनाउन प्रचारमा जोड दिनुपर्ने भएकाले यहाँ महोत्सव आयोजना गरिएको अध्यक्ष सावदेनको भनाइ छ । महोत्सव सम्पन्न गर्न मूल आयोजक समिति तथा चारवटा उपसमिति गठन गरिएको छ ।

दुई दर्जनभन्दा बढी चौँरीगोठ रहेको फालेलुङको फालोट क्षेत्रमा पर्यटन विकास गर्ने, चौँरीजन्य सामग्रीको प्रचार र बजारको खोजी गर्ने, चौँरीपालनलाई व्यवस्थित गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित २०७४ बाट महोत्सव आयोजना गर्न थालिएको हो ।

गत वर्ष भने कोभिड–१९ को महामारी तथा बन्दाबन्दीका कारण चौँरी महोत्सव हुन सकेन । हालसम्म कोरोना भाइरस सङ्क्रमणको अवस्था सामान्य रहेकाले प्रशासनको अनुमतिले यस वर्ष महोत्सव आयोजना गरिएको आयोजक समितिले जनाएको छ । रासस

jackson ribon