birat ribon

जुलुस

Neuro
जुलुस
पेशल आचार्य

‘आज त दुईचार जनाको टाउकै फोर्नुपर्छ, यार !’– एउटाले सूर्य चुरोट सल्काएर ओठमा चेप्दै सानसँग भन्यो ।

‘साला भाते के टाउको फोर्ने कुरा गर्छ । कुनै बैङ्कसैङ्क या फाइनान्सको लकर फोर्नुपर्छ भन न ।’– अर्कोले अझ फौजदारी सम्वाद स्वाट्ट त्यसरी नै झिक्यो जसरी तराईतिर दसैँमा काट्न ठिक्क पारेको खसीलाई कानमा पानी हालेर ‘मान्यो’ भनेपछि काट्ने मानिसले स्वाट्ट दापबाट कट्टी झिक्छ ।

cura insider

तेस्रो चाहिँ जुरेलीको जस्तो कपाललाई दुवै ओठ उचालेर फुफु गर्दै भन्न थाल्यो– ‘गर केटा हो मोज गर । कुनै मैयाँसैयाँलाई देख्यौ भने झ्याप हाने पनि हुन्छ । सुनचाँदीका पसलहरू फेलापारे भकाभकी फोरे पनि हुन्छ । हाम्रो जिम्मा सबै पार्टीले लिइहाल्छ । जे गछ्र्यौ गर तर भरे ठमेलमा गएर कुखुराका साँप्रा भने चबाउनुपर्छ ।’

चौथो चाहिँ केही नबोली त्यसरी नै हिँडिरह्यो जसरी भर्खरै अन्माएकी एरेन्ज म्यारेजकी बेहुली बेउलाको पछिपछि लुरुलुरु हिँड्छे ।

यसरी गल्लीबाट चारजना केटा निस्किए । लख काट्दा आजको बन्द निकै चखिलो या चर्को हुनेवालाजस्तो छ । तिनीहरू मुख मिठ्याउँदै छन् । सटासटी पुगे सबै मुख्य सडकमा । चारै जना एकै पार्टीका हुन् । चारै जना बेरोजगारी छन् । चारै जना सहरमा डेरा गरेर बस्छन् । उनीहरूको काम भनेकै जुलुसलाई फौजदारीमय बनाउनु हो । अरू बेला काम खोज्ने काम गर्छन् । उनीहरू पार्टीका नभई नहुने गहना हुन् । ती नहुँदा हुन् त पार्टीहरू शिशिरयामका रूखझैँ हुन्थे । अहिले तिनीहरूको आतङ्क छ र त सहरमा पार्टीहरूको हङ्कीडङ्की छ । नत्र कसले टेर्ने पार्टीहरूलाई पनि ।

हुन त यो सहरै पनि आफैँमा काम खोज्ने काम गर्छ । आज भने सहरले निकै दिनदेखि आरामले सुत्ने काम पाएको छ । बन्दमा बच्चाहरूलाई स्कुल जानु पर्दैन । पिच सडकमै क्रिकेट खेल्ने सौभाग्य जुट्छ ।

आज पनि सहरमा जुलुस निस्केको छ । जुलुस विरोधको हो । यो सहरमा हिजोआज दिनैपिच्छे नै जुलुस निस्कन्छन् । जबदेखि मुलुकले आजादी पायो त्यसबेलादेखि लगभग हाम्रो सहर आन्दोलनको सिरियल मञ्चन गर्छ । भाषण ब्याउँछ र सकेजति आश्वासनका अबीरकेसरी छर्कन्छ– आफ्ना कार्यकर्ताहरूमा ।

आजको जुलुुुुुुुुुुुुस चाहिँ प्रतिपक्षको हो । त्यसो त जुलुस भनेपछि प्रतिपक्षको मात्र दमदार हुन्छ । सत्तापक्षको जुलुसमा त राजधानी बाहिरबाट पैसा दिएर मानिसहरू गाडीका गाडी ओसार्नु पर्छ । अहिले भने प्रतिपक्षले पनि त्यही सिको गर्न थालेका छन् । आन्दोलनमा पैसा, हतियार र गुन्डाहरूको लगानी निकै बढ्न लागेको छ । सायद् यो लगानी पनि गणतन्त्रलाई संस्थागत गर्नका लागि मद्दत नै पुग्दो हो । हो, आज पनि त्यस्तै भएको छ ।

यो सहरमा हिजोआज दिनैपिच्छे नै जुलुस निस्कन्छन् । जबदेखि मुलुकले आजादी पायो त्यसबेलादेखि लगभग हाम्रो सहर आन्दोलनको सिरियल मञ्चन गर्छ । भाषण ब्याउँछ र सकेजति आश्वासनका अबीरकेसरी छर्कन्छ– आफ्ना कार्यकर्ताहरूमा ।

किम्बदन्तीझै बन्न लाग्यो– यो कुरा । कुनै बेला सहरमा एकजना मासुको मुटु भएका मेयर थिए । उनले सहरलाई यसो हेर्न हुनेसम्म बनाए । जश–अपजश जे भए पनि उनले रत्नपार्कको त्यो किचिघान सुपर मार्केटलाई सिनित्तै पारेर सफाचट बनाए । माइतीघरलाई मण्डलामा परिणत गरे । बटुवाहरू त्यसलाई निको मान्छन् । सुन्धारा, वीर अस्पताल, विद्युत् प्राधिकरण, भद्रकाली र जमलमा आकासे पुल बनाए । गाउँघरमा काठका फलेक नभएर अँधेरी खोलामा फड्के हाल्न पाइएको छैन तर सहरमा भने आकासे पुलको सङ्ख्या बढ्दैछ । सहरको विशेषता भनौँ कि के पुलको तल्तिर सवारी र मानिसहरू बग्छन् ।

धर्ना र विरोध र्‍याली गर्ने त्यो ठाउँ आज सबै सङ्घसंस्था र पार्टीहरूको आफ्नै माइतीजस्तै बनेको छ ।

ती गल्लीबाट निस्केका चारजना केटाहरूको हातमा खुँडा र तरबार थिए । हेर्दा, तिनीहरू निकै आक्रमणको मुद्रामा छन्जस्तो लाग्थ्यो । पसलहरू सबै सुनसान भइसके पनि फाटफुट मात्रामा बटुवाहरू भने हिँडिरहेका छन् । आजको बन्द सायद निकै हिंसाजन्य हुनेवाला छ । रौनक हेर्दा त्यस्तो बुझिन्थ्यो । औषधि र सागसब्जीका पसलहरू फाट्टफुट्ट खुलेका छन् । नत्र सबै सहर नै सिनित्तै सुतेजस्तो छ– चरेश खाएर सुतेको धुताहा जङ्कीजस्तै ।

‘सत्तापक्ष मुर्दावाद !’

‘प्रतिपक्ष जिन्दावाद !’

‘हाम्रो माग पूरा गर !’

‘महँगी घटाउँनै पर्छ ।’

‘फलानो चोर देश छोड !’

यी र यस्ता चर्का आवाजको शेरगुल निकै चर्कोसँग चल्न थाल्यो । अहिले दस बज्दैछ । कर्मचारीहरू पैदलै अफिस हिँडिरहेका छन् । कोही सानासाना नानीहरू च्यापेर हतारहतार आफ्ना बासस्थानतिर लम्किरहेका छन् । ह्वाँह्वाँ गर्दै पश्चिमतिरबाट साइरन बजाउँदै एम्बुलेन्स आयो । रमिता हेर्न सडकमा निस्केका रमितेहरूले घिच्रो उचालेर हेरे । जुलुस, बन्द र हड्तालमा पुलिसलाई विचरा भ्याइनभ्याइ भएको छ । तिनीहरू सडकमा बालिएको टायरलाई सकिनसकी आफ्नै लाठी र बुटले निभाउन खोज्दै छन् । पछाडिबाट हुटिङ भइरहेको छ– ‘पुलिस भाते, सडकको खाते !’

पुलिस पनि के कम ‘रण्डीका छोरा, मा….ने’भन्दै आन्दोलनकारीतर्फ हान्ने राँगाझैँ एकोहोरिएर जाइलाग्छन् ।

परबाट ठेलामा हालेर एउटा पुरुषले एउटी महिलालाई अस्पताल लैजाँदै गरेको दृश्य देखिन्छ । मजदुरसँगै लोग्ने पनि मरिहत्ते गरेर ठेला ठेल्दैछ । उनीहरू बन्दकर्ताको मुखैमा पर्छन् । महिलालाई जबरजस्तीसँग ठेलाबाट उतारिन्छ र ठेलालाई पेटीमा लगेर उत्तानो पारेर लडाइन्छ । बहरजस्ता केटाहरूको हूल अट्टहास हाँस्छ– ‘हा हा हा !’

‘एई जङ्की छोड्दे ब्याउने कोरली रै’छे !’– एउटाले दया देखाउँछ ।

‘तैँले त ब्याउने बनाएको होला नि हैन ?’– अर्कोले भद्दा गाली झिक्छ ।

‘मा….’ भन्न खोजेको कुरा पूरा नगरी अर्को फेरि बौलाउँछ– ‘साला भालेलाई यही दिन चल्ला कोरल्ने गरी के मिसिनु परेको नि ।’

चौथो प्रत्युत्तरमा खितितिति हाँस्छ । मानौ उसको भागमा चाहिँ हाँसो मात्रै भाग परेको छ ।

पाँचौ, छैठौँ, सातौँ, आठौँ, नवौँ र दसौँ पनि प्रतिशतमा हाँस्छन् । कसैको पाँचदस र कसैकसैको पन्ध्रबीस प्रतिशत हुन्छ– त्यस्तै सायद । निरीह र अदनाहरूको दुःखमा हाँस्न बानी परिसकेकाहरूलाई अब कसैको कुनै दुःखले पनि चिमोट्दैन । सायद यस्तै उदण्डताहरू सहँदासहँदै हाम्रो छाला गैँडाको जस्तो बनिसकेको छ ।

महिला रुन्छे । कराउँछे । कन्न थाल्छे– अँ…अँ…अँ ! भीड पनि बच्चाझैँ नक्कल गरेर कन्न थाल्छ सामूहिकरूपमा– अँअँअँअँ !

उतातिर महिलाले भने पेटीमै सालनालसहितको बच्चो पाउँछे । भाडाका आन्दोलनकारीहरू सबै उतै साहोरिन्छन् मानौं गाउँमा बाख्रो ब्याउँदा काम नपाएका भुराभुरीहरूले बाख्राका पाठापाठीहरूलाई हेरेझैँ घाँटी तन्काएर हेर्छन् । लोग्नेले केकेकेके गाली गर्छ तर स्वास्नीचाहिँ चोरी औँलाले लोग्नेलाई नबोल्न इसारा गर्छे । स्वास्नी चाहिँको अगाडिपछाडि सबै लछेप्रै भएर रगत लागेको छ । लोग्नेचाहिँ के गर्ने के नगर्ने किंकर्तव्यविमूढ देखिन्छ । महिला ‘ऐया ऐया’भन्दै रुँदै छे । अनेक बिन्तीभाउ गर्न थाल्छ– लोग्ने । कसैले उसको अरण्यरोदन सुन्दैनन् ।

जुलुस अगाडि बढ्छ । लोग्नेले नवजात शिशुलाई आफ्नो सर्टमा बेरेर वीर अस्पतालतिर लैजान्छ । स्वास्नी चाहिँ लैनो बाछोको पछिपछि लागेको गाईझैँ उसैको पछि लाग्छे ।

जुलुस त्यो दृश्य हेरेर एकाएक अट्टहास हाँस्न थाल्छ । हा…हा…हा !

jackson ribon