birat ribon

‘ब्याक बेन्चर’मा अनुभूतिपरक दृष्टिकोण –१

Neuro
‘ब्याक बेन्चर’मा अनुभूतिपरक दृष्टिकोण –१
अशोक सुवेदी

‘मेरो समाज बलेको आगो ताप्छ । गुगलका दर्शनढुङ्गामा वेबसाइटको झुलो चकमक रगडेर खरानी फुकी आगो जोर्ने फुर्सद निकाल्दैन । कपी गर्नेको मोनोपोली बजारलाई सिन्डिकेटमा लगी विज्ञापनका दाइँ हालेर पवटा अनाजलाई बिक्री गर्छ,’ ब्याक बेन्चर निबन्धसङ्ग्रहका सर्जक पेशल आचार्य उल्लिखित भनाइ सँगै थप्छन्, ‘कुशाग्र बुद्धिको कवि कि त अँध्यारोको तिजोरीमा कैद गरिएको छ कि त अपहेलित छ यहाँ ।’

बलेको आगो ताप्नु विद्यमान असमानता र शक्तिपूजाको परिचय हो । विज्ञापनको भरमा पवटा अनाजलाई झर्रो भन्दै बजारमा बेच्नु कालोबजारीको पराकाष्ठा हो । एउटा शक्तिशाली स्रष्टा अर्थात् कुशाग्र बुद्धिको कवि गुमनाम हुनु कृति परख गर्ने घ्राणशक्ति मरेको, समालोचकीय क्षमता शून्य भएको वा आग्रहीहरूको जमातले शासन गरेको अवस्था हो । आजको सत्य यही हो ।

cura insider

सत्तामा होस् वा समाजमा अझै पनि विभिन्न नयाँ–नयाँ रङ र बान्कीका नारा लिएर आएका छन् खोटा सिक्काका व्यापारीहरू । त्यसैले समाज अझै वर्गमा विभक्त छ । वर्गहरूका बीचमा ठूलो अन्तर र खाडल छ । त्यो खाडल मेटिन वर्गहरूका बीचमा घमासान टक्कर, सङ्घर्ष, युद्ध, क्रान्ति आवश्यक छ । निबन्धकार पेशल आचार्यले आफ्नो निबन्धकृति ‘ब्याक बेन्चर’मा दलाल पूँजीवादी व्यवस्था र समाजमा विद्यमान असमानताको पोल मात्र खोलेका छैनन्, कैँयौँ दुष्प्रवृत्तिहरूलाई नाङ्गेझार नै पारिदिएका छन् । त्यसैले यो यथार्थवादी निबन्धकृति हो ।

निबन्धकारले धेरै विषयमा लेखिसकेर पनि लेख्नुपर्ने बाँकी विषय अझै धेरै छन् । अझ सुस्पष्ट दृष्टिकोणसहित लेख्नुपर्ने विषय त कति छन् कति तर एउटै कृतिमा सबै कुरा खोज्नु एउटै खानामा सबै स्वाद खोज्नुजस्तै दुराग्रह हुनसक्छ । निबन्ध लेखन छिरलिएको पछिल्लो अवस्थामा ‘ब्याक बेन्चर’जस्तो शक्तिशाली र यथार्थवादी बौद्धिक निबन्धसङ्ग्रह लिएर देखापरेका स्रष्टा पेशल आचार्यलाई सलाम छ ! यो बौद्धिकताको प्रयोग हामी यथास्थितिको उद्बोधनमा मात्र नभएर आमूल रूपान्तरणका पक्षमा पनि लेखिएको देख्न चाहन्छौँ किनकि संसारको व्याख्या त धेरैले गरिसकेका छन् तर मुख्य र चुरो कुरो यसलाई बदल्नु हो । यहाँको असमानता र विभेद् मेटाउनु हो ।

पेशल आचार्य समसामयिक साहित्यिक धारामा अग्रगमन मनपराउने साहित्यिक व्यक्तित्वको सुपरिचित नाउँ हो । स्थानीय स्तरमा नेपाली भाषा–साहित्यका एक कुशल अध्यापकको छाप छोडेका पेशल आचार्य राष्ट्रिय स्तरमा साहित्यका विविध विधामा कलम चलाएका स्थापित व्यक्तित्व हुन् । त्यसैले उनको व्यक्ति परिचयको खासै आवश्यकता छैन । ठालुहरूको राजधानी काठमाडौँले हेपेर ‘मोफसल’ भन्ने गरेको वास्तविक जनबस्तीमा बसेर पनि निरन्तर राष्ट्रिय स्तरमा छापिइरहने स्रष्टा हुन्– पेशल आचार्य । कुनै समयको दूरदराजको विद्यालय र कलेजमा पढाउने शिक्षक यसरी राष्ट्रिय रूपमा हस्तक्षेप राख्न सक्ने स्रष्टा बन्नुको अन्तर्य उनको लेखन क्षमता नै हो, कुनै नातावाद, कृपावाद वा भनसुन–लेनदेन शक्तिबाट बनेको व्यक्तित्व होइन ।

उनले विशेषगरी रामेछाप जिल्लाको शिक्षामात्र होइन, साहित्य र साहित्यिक पत्रकारितालाई समेत धेरै गुन लगाएका छन् । पछिल्लोपटक प्रकाशित उनको ‘ब्याक बेन्चर’ निबन्धसङ्ग्रहमा पनि ठाउँठाउँमा उनी लोभी, आत्मप्रशंसक, खेताला लगाएर चर्चा कमाइमाग्नुपर्ने व्यक्ति होइनन् भन्ने प्रस्ट देखिन्छ । धेरै टाढा पनि होइन, धेरै नजिक पनि होइन, मध्यम दुरीमा बसेर हेर्दा मैले चिनेका अध्यापक, स्रष्टा, साहित्यिक पत्रकार पेशल आचार्यको मुहार र व्यक्तित्व एउटै छ । कतै अग्लो वा कतै होचो र कसैले बाँसको टेको लगाएर उभ्याइदिएको बुख्याँचाजस्तो छैन । आफ्नै पौरख, सीप र पाखुरीमा बाँचेका कलमजीवी, बुद्धिजीवी, अक्षरका पारखी, सहृदयी व्यक्तित्वका रूपमा उनीसँग हामी पाठक–समीक्षकको नाता जोडिएको हो ।

‘ब्याक बेन्चर’को भावार्थ भने कक्षासम्ममात्र सीमित छैन । पछिल्लो सिटमा बस्न बाध्यहरू, राजनीतिक रूपमा शासकका आँखा नपरेकाहरू, सामाजिक रूपमा कथित गन्यमान्यहरूबाट हेला गरिएकाहरू, आर्थिक रूपमा विपन्नहरू, सांस्कृतिक रूपमा शासनसत्ताबाट ओझेलमा पारिएकाहरू भन्ने हुन्छ ।

मोरङको विराटनगरमा जन्मिएर भर्खरको युवा वयमा शिक्षकको जागिर खान पहाड उक्लिएका पेशल आचार्यले आफूसँगै स्रष्टा व्यक्तित्वलाई पनि लिएर रामेछाप पुगे । नढाँटी भन्नुपर्छ राजनीतिक रूपमा प्रायः नखुल्ने र वर्गीय नदेखिने रुचिका स्रष्टा आचार्य पहाड उक्लिएपछि पहाडेजस्तै लागे । रामेछापका जस्तै लागे । रामेछापमा जन्मिएकाहरू काम र अवसरको खोजीमा राजधानी र विदेशतिर हानिए तर अविकसित ठानिएको त्यही समाजको धुलौटे माटो, बाटो र पाटो पेशल आचार्यका लागि प्रिय भए ।

रामेछाप जन्मथलो भएर पनि कर्मथलो बनाउन नपाउनेहरूका लागि पेशल आचार्यको रामेछाप बसाइ र सिर्जना कर्म विशेष लोभलाग्दो छ । उनले आफ्नो बलबुताले भ्याएुम्म धानेका छन्, रामेछापका सिर्जनात्मक अभियानहरू । ती अभियानअन्तर्गत उनी कहिले कविता लिएर, कहिले पत्रिका लिएर, कहिले मुभी क्यामेरा लिएर, कहिले समीक्षक भएर र कहिले साहित्यिक पत्रकार भएर अन्तरवार्ताकारका रूपमा निःसङ्कोच प्रस्तुत हुन्छन् । सिर्जनाका विविध विधामा रमाउँछन् । नयाँनयाँ उत्पादन पनि गर्छन् । त्यही शृङ्खलाको पछिल्लो कडीमा उनका सिर्जनामा मजस्तै हजारौँ ‘ब्याक बेन्चर’हरू अँटाएका छन् ।

नेपाली भाषा शिक्षक समाज रामेछापका अध्यक्ष, अनौपचारिक साहित्यिक मञ्च रामेछापका अध्यक्ष, एमनेस्टी रामेछाप समूहका सदस्य, असल शासन जिसस रामेछापका सल्लाहकार, सान नेपालका सल्लाहकार… उनका यी सामान्य र औपचारिक परिचयले मात्र पनि उनी रामेछापे हुन् भन्दा फरक पर्दैन तर उनी यति मात्र होइनन्, अरू धेरै हुन्, जो उनका कृति र उनको जीवनी अध्ययनपछि थाहा हुन्छ ।

उनको पछिल्लो निर्बन्धात्मक सिर्जना ‘ब्याक बेन्चर’का बारेमा साहित्यकार महेश प्रसाईं भूमिकामा भन्छन्, ‘अनुभूतिको परिकल्पना र कल्पनाशील अनुभूति निर्बन्ध चिन्तनको शाश्वत् पक्ष त्यसै बन्दैन । रचनाशिल्प वास्तविक जीवनसित छ । जीवनवादी जीवनबाट छ । भोगिने सत्यहरू र नभोगिने सत्यहरू, दुवै ती एउटै विषयका होचाअग्ला पाटा हुन् । मस्तिष्कको एउटा अवाक स्थितिले रक्षा गर्छ दुवैलाई । पेशलको यो रक्षक व्यक्तित्व आसलाग्दो छ यहाँ ।’

हो, पेशल आचार्य धेरै सम्भावना बोकेका व्यक्तित्व हुन् र चिन्न, खोज्नसके साहित्यिक लेकमा आफ्नो हस्तक्षेप जनाइरहेका यार्सागुम्बाजस्तै हुन् । सक्कली जडीबुटी चिन्न सक्ने–नसक्ने परखीको क्षमतामा भर पर्छ । ‘ब्याक बेन्चर’को सरसर्ती अध्ययनबाट पनि उनमा भएको व्यापक दृष्टिकोण, त्यसलाई व्यक्त गर्ने कलात्मक क्षमता र बौद्धिकताको झल्को मिल्छ ।

‘ब्याक बेन्चर’ अर्थात् पछिल्लोसिटेहरू । पछिल्लो सिट कक्षाकोठामा मात्र हुँदैन, समाजमा पनि हुन्छ । राजनीतिमा पनि हुन्छ । अर्थशास्त्रमा पनि हुन्छ । साहित्यमा पनि हुन्छ । घरको, समाजको, राज्यको पछिल्लो सिटमा बस्न बाध्य पारिएकाहरूको कथा वा चित्र हो ब्याक बेन्चर, भलै ती पछिल्लोसिटेहरूका बारेमा धारणा र व्याख्या वर्गदृष्टिकोणअनुसार आफ्नै किसिमका हुन्छन् ।

राज्यसत्ताको शोषण, दोहन र पक्षपातपूर्ण व्यवहारका कारण मानिस बाध्य भएर पछिल्लो सिटमा पुग्छ । कोही रहरले पछिल्लो सिट अथवा ओझेलमा पुग्दैन, उसलाई त्यहाँ बल गरेर पुर्‍याइन्छ । वर्गसमाजमा सत्ताधारी शोषक वर्गले सधैँ श्रमजीवी जनतालाई पछिल्लो सिट अथवा सुविधाविहीन स्थानमा पुर्‍याइदिन्छ । जब सत्ताको यो चरित्रविरुद्ध ब्याकबेन्चरे वा पददलितहरूले विद्रोह गर्छन्, त्यसपछि फ्रन्टसिटेहरू अर्थात् शासकहरू बलपूर्वक पछिल्लो सिटमा धकेलिन्छन् वा पत्तासाफ हुन्छन्, मेटिन्छन् । यो वर्गसमाजको अनिवार्य नियम हो । यद्यपि पेशल आचार्यको ‘ब्याक बेन्चर’मा यो पक्षको चर्चा त्यति शक्तिशाली रूपमा मुखर हुन सकेको छैन ।

कक्षाको कुरा गरौँ, कक्षामा पछिल्लो सिटमा बस्नेहरू धेरै हुन्छन् र पछिल्लो सिट वा बेन्चमा बस्नुपर्नाका कारण विभिन्न हुन्छन् । पढाइमा अलि सामान्य, कमजोर, शारीरिक अवस्था पनि सामान्य– गैरलडाकु र शिक्षक–विद्यालयसँगको पहुँचमा पनि पछि परेका विद्यार्थीहरू ‘ब्याक बेन्चर’ हुन्छन् । म पनि ‘ब्याक बेन्चर’ नै थिएँ । म पढाइमा कमजोर भएर होइन, अरूभन्दा अलि सानो उमेरको र छिप्पिएका विद्यार्थीहरूको चेपाइमा परेर ‘ब्याक बेन्चर’ भएको थिएँ । आफैँ शिक्षक बनेको समयमा अझ नजिकबाट थाहा पाएँ– घरको सबै काम भ्याएर विद्यालय जान बाध्य बनेकाहरू ‘ब्याक बेन्चर’ हुँदा रहेछन् ।

बिहान एक डोको घाँस काटेर, एक भारी सोतर जोहो गरेर, होटेलमा गाईभैँसीको दूध लगिदिएर, एउटा मेलो भ्याएर, भाइबहिनीहरू बोकेर विद्यालय जान बाध्य विद्यार्थीहरू पछिल्लो बेन्चमा बस्न बाध्य हुन्छन् । टाढाटाढाबाट विद्यालय जानुपर्ने अवस्थाका विद्यार्थी ‘ब्याक बेन्चर’ हुन्छन् । उनीहरू शिक्षकको आँखामा पनि पछिल्तिर हुन्छन् । अग्रभागका गतिविधिहरू थाहा नभएपछि पछिल्लो भागमा बस्नेहरूमाझ, साथीभाइहरूबीच खासखुस चल्छ । पढाइभन्दा अरू विषयतिर ध्यान जान थाल्छ । शिक्षकले पनि ‘ब्याक बेन्चर’हरूप्रति त्यति वास्ता गर्दैनन् । ‘ब्याक बेन्चर’ हरूले गृहकार्य गरे–नगरेको हेर्दैनन् । उनीहरू ‘ब्याक बेन्चर’ हुनुको कारण गहिराइमा पुगेर सोच्दैनन्, सोध्दैनन् र त्यसको निराकण गर्ने उपायहरू सुझाउँदैनन् । शिक्षकहरूलाई लाग्छ– यी ‘ब्याक बेन्चर’ हुनकै लागि जन्मिएका हुन् । फलस्वरूप ‘ब्याक बेन्चर’हरू क्रमशः दब्बु हुन थाल्छन् । कोपभाजनमा पर्छन् । विद्रोही बन्छन् र रूपान्तरणको सङ्घर्षमा सामेल हुन्छन् ।

समाजका अरू विषयमा अब्बल हुने तर कक्षामा पछिल्लो सिटमा बस्न बाध्य भएकाहरूलाई देखेको र चिनेको छु मैले । पेशल आचार्यले पनि निबन्धसङ्ग्रहको धेरै स्थानमा उदाहरण दिएरै चर्चा गरेका छन्– सबै ‘ब्याक बेन्चर’हरू कमजोर हुँदैनन् र समाज सञ्चालन गर्नेहरू प्रायः ‘ब्याक बेन्चर’ नै हुन्छन् । अघिल्लो बेन्चमा बस्नेहरू कि त कक्षाका प्रथम, द्वितीय र उत्कृष्ट पाँच (टप फाइभ)मा पर्नेहरू हुन्छन्, कि त उमेर र शरीरले अलि ठूलाबडा, अगुवा (मनिटर), शिक्षकका नातागोताकाहरू हुन्छन् । प्रथम, द्वितीय, तृतीय हुनेहरू अर्थात् ‘फस्र्ट बेन्चर’हरू पुस्तकका कीरा हुन्छन् । उनीहरूको ध्यान पुस्तकमा भन्दा अन्यत्र, बाहिरी सामाजिक गतिविधिमा हुँदैन । ‘मनिटर’ र शिक्षकका आफन्तहरू ‘डन’जस्तै हुन्छन् । उनीहरूमा क्रमशः शासकको गुण सवार हुन थाल्छ ।

घरको, परिवारको, समाजको, कथित उपल्लो वर्ग, जाति, लिङ्ग, क्षेत्रको सास्ती खेपेकाहरू पछिल्लो सिटमा बस्न बाध्य हुन्छन् । दस हन्डर र ठक्कर खाएकाले उनीहरूलाई जीवनको भुक्तमान थाहा हुन्छ । त्यसैले उनीहरू किताबी ज्ञानमा मध्यम भए पनि जीवनको ज्ञानमा अब्बल हुन्छन् । समाजका बहुसङ्ख्यकहरू पछिल्लोसिटे भएकाले यो समाजका बहुसङ्ख्यकको प्रतिनिधित्व गर्ने निबन्धसङ्ग्रह हो ‘ब्याक बेन्चर’ । निबन्धका विषय, पात्र र उक्तिहरूले पनि अब्बल ठहरिएका एकाध पहिलोसिटेहरूको भन्दा बीच र पछिल्लो सिटमा बस्नेहरूको जीवनकथा बोकेको छ । त्यसैले यो जनसामान्यहरूका विषयमा लेखिएको बहुसङ्ख्यक आवाज मुखरित गर्ने निबन्ध हो । त्यसैले यसको शीर्षक सार्थक छ ।

शाब्दिक अर्थमा पछिल्लोसिटे भन्न सकिने ‘ब्याक बेन्चर’को भावार्थ भने कक्षासम्ममात्र सीमित छैन । पछिल्लो सिटमा बस्न बाध्यहरू, राजनीतिक रूपमा शासकका आँखा नपरेकाहरू, सामाजिक रूपमा कथित गन्यमान्यहरूबाट हेला गरिएकाहरू, आर्थिक रूपमा विपन्नहरू, सांस्कृतिक रूपमा शासनसत्ताबाट ओझेलमा पारिएकाहरू भन्ने हुन्छ ।

पुस्तक र पुस्तकभित्रको एउटा निबन्धको साझा शीर्षक हो– ब्याक बेन्चर । तर यो निबन्धको नाउँमात्र नभएर समाजको, राज्यको, शासकको आँखामा नपरेका, अविकसित, पिछडिएकाहरूको सन्दर्भमा आएको हुनुपर्छ । नेपाली विषयका शिक्षक र नेपाली भाषाका साहित्यकारले किन अङ्ग्रेजी शब्द सापटी लिएर पुस्तकको नाउँ र निबन्धको शीर्षक ‘ब्याक बेन्चर’ राखेका होलान् भन्ने प्रश्न पनि उब्जिन सक्छ तर समग्र पुस्तकको विषय पछिल्लो सिटमा बस्न बाध्य पारिएकाहरू भएकाले आफ्नो उद्देश्यमा पुस्तक सार्थक छ, सफल छ ।

क्रमशः

jackson ribon