birat ribon

लाइफगार्ड अस्पतालको आइसियूबाट गाउन लगाएरै भागे बिरामी

Neuro
लाइफगार्ड अस्पतालको आइसियूबाट गाउन लगाएरै भागे बिरामी

माधव काफ्ले

विराटनगर / विराटनगरको बरगागाछीस्थित लाइफगार्ड अस्पतालको आइसियुको शाैचालय फोडेर बिरामी भागेका छन् । विष सेवन गरेर अस्पताल भर्ना भएका देवानगञ्ज–१ का २१ वर्षीय विनोदकुमार मेहता अस्पतालको आइसियुको शाैचालय फोडेर फरार भएका हुन् ।

cura insider

देवानगञ्जमै ट्र्याक्टर चलाउने काम गर्ने विनोद १८ चैत साँझ लाइफगार्ड भर्ना भएका थिए । गत बुधबार ‘साइपथ मेथिन’ नामक विष सेवन गरेपछि उनलाई परिवारले इनरुवा अस्पताल पुर्‍याएका थिए । तर इनरुवा अस्पतालले अवस्था चिन्ताजनक रहेकाे बताएपछि लाइफ गार्डमा रिफर गरेको थियो । आफन्तले उनलाई इनरुवाबाट विराटनगर ल्याएका थिए ।

उनको उपचार डा. अरबिन्द देवले गरिरहेका थिए । तीन दिनदेखि आइसियुमा उपचाररत उनी शुक्रबार मध्याह्न शौचालयको भेन्टिलेसनको जाली तोडेर भागेका हुन् । विनोद फरार भएपछि अस्पताल प्रशासनले उनको खोजी कार्य तीव्र पारेको छ ।

‘शौचालयको भेन्टिलेसन तोडेर उनी भागेका हुन् । हाम्रो मुख्य गेटबाट भागेको भए भेट्न सहज हुन्थ्यो । तर पर्खाल नाघेर भागेका कारण उनी कहाँ गए भन्नेबारे जानकारी पाएका छैनाैँ । हामीले प्रहरीसँगको समन्वयमा खोजी तीव्र पारेका छौँ,’ अस्पताल प्रशासन प्रमुख निरज श्रेष्ठले भने ।

यता, आफन्त भने अस्पतालको सुरक्षा कमजोरीका कारण बिरामी भागेको बताउँछन् । विनोदका दाजु जयकृष्ण मेहताले भने, ‘अब भाइको जिम्मा कसले लिने ? अस्पतालबाट भागेर उसले फेरि आत्महत्याको प्रयास नगर्ला भन्न सकिँदैन । किनकि उसले आत्महत्या गर्न नै विष सेवन गरेको थियो । जसोतसो अस्पताल ल्याएका थियौँ ।’

गाउनमै भागे विनोद

विनोद आइसियुमै लगाउने गाउन लगाएर भागेको अस्पतालकी नर्सिङ इन्चार्ज बबिता यादव बताउँछिन् । उनका अनुसार ट्वाइलेट गर्न जान्छु भन्दै विनोद शौचालय पसेका थिए । तर लामो समय ननिस्कँदा बिरामी विनोदकै कुरुवाले शौचालयको ढोका फोडेको बबिताको भनाइ छ ।

उनले भनिन्, ‘आफन्तलाई बाहिर राखेर विनोद शौचालय पसेका थिए । तर लामो समयसम्म बाहिर ननिस्किएपछि ढोका फोडेर हेर्दा भागिसकेका थिए । पछाडि पसलका मान्छेले देखेपछि हामीलाई खबर गरेका हुन् ।’

अस्पतालको दाबी : पर्खाल नाघेर भाग्यो, आफन्त भन्छन्, ‘असम्भव’

बबिता तन्दुरुस्त भइसकेका कारण बिरामीले पर्खाल तोडेर भागेको दाबी गर्छिन् । उनले भनिन्, ‘बिहान मात्र उसले प्रेममा धोका पाएका कारण विष सेवन गरेको भन्दै मसँग कुरा गरेको थियो । बिरामी तन्दुरुस्त थियो यसैले त झ्यालको भेन्टिलेसन तोडेर पर्खाल नाघेर भाग्यो ।

यता, बिरामीका आफन्त भने दस फुट अग्लो पर्खाल तोडेर बिरामी भाग्नु असम्भव भएको बताउँछन् । दाजु जयकृष्णले भने, ‘हामीलाई लाग्छ कि भाइ गेटबाटै भागेको हो । अस्पताल प्रशासन मान्न तयार छैन । त्यत्रो अग्लो पर्खाल नाघ्न सम्भव छैन । अनि फेरि पछाडिपट्टि स्कुल भएका कारण त्यहाँ पनि सोधेका थियौाँ । त्यहाँ कसैलाई थाहा छैन ।’

jackson ribon