birat ribon

काठमाडौँबासी भन्छन् : मेलम्ची आयो, अब चाहिँ निद्रा बिगारेर उठ्नुपर्दैन कि !

Neuro
काठमाडौँबासी भन्छन् : मेलम्ची आयो, अब चाहिँ निद्रा बिगारेर उठ्नुपर्दैन कि !
  • मेनुका काेइराला

काठमाडौैँ / काठमाडौँको जनसंख्या बढ्दै गएसँगै खानेपानीको समस्या पनि दिनप्रतिदिन बढ्दै जान थाल्यो । यहाँको बढ्दो जनसंख्यालाई पानीको आपूर्ति गर्नु आफैँमा चुनौती थियो । त्यसैलाई मध्यनजर गर्दै २०४५ सालमा बिन्नी एन्ड पार्टनर्स युकेले मेलम्चीको सम्भावना अध्ययन गरेको थियो । पछि गरिएका विभिन्न अध्ययनमा पनि मेलम्चीको विकल्प भेटिएन । 

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर काठमाडौँबासीलाई खुवाउने मात्रै नभई सडकको धुलो नै पखाल्ने महत्वाकांक्षी योजना अघि सारे । 

cura insider

तर, उनको प्रतिबद्धता उनको पालामा त पूरा भएन, योजना बनेको २० वर्षसम्म पनि काठमाडौंका बासिन्दाले मेलम्चीको पानी थाप्न पाएका थिएनन् । 

मेलम्ची योजना सुरु हुँदा २०६४/६५ मा निर्माण सम्पन्न गरी काठमाडौंबासीलाई पानी खुवाउने योजना लिइएको थियो । तर, त्यो पूरा हुन सकेन । त्यसपछि योजना सरेर २०७०/७१ मा पुग्यो । त्यतिबेला पनि मेलम्चीको पानी काठमाडौँ झर्न सकेको थिएन ।  

त्यसबेला पनि योजना पूरा हुन नसकेपछि २०७६ सालको दसैैँमा काठमाडौंमा पानी झर्ने बताइएको थियो । जनतामा आशा पनि पलायो । धमाधम सडक खनेर पाइपलाइन बिच्छ्याइयो । उपत्यकाका पक्की सडकहरु भत्काएर लथालिंग बनाइए । मोटामोटा पाइपहरु गाडिए । घरघरमा पानीका धारा जोडिए ।

तर स्थानीयका धारामा पानी त आएन, उल्टै सडक धुलो र हिलोले हिँडिसाध्य भएन । उपत्यकाबासीले ठूलो सास्ती व्यहोर्नुपरेको थियो  

२०७७ असारमा मेलम्चीको पानी काठमाडौं आउने अन्तिम चरणमा पुगेका बताइए पनि परीक्षणका क्रममा सुरुङ नै फुटेपछि स्थानीयको आशा पुनः निराशामा बदलियो । 

पुनः सुरुङको गेट मर्मत गरेपछि अन्ततः गत फागुन १० गते मेलम्चीको पानी परीक्षणका लागि सुरुङमा हालियो । खानेपानीमन्त्री मणि थापाले साढे २६ किलोमिटर लामो सुरुङमा पानी छोड्ने कामको शुभारम्भ गरे । भाग्यको कुरा, यसपटक भने कुनै त्यस्तो दुर्घटना भएन । परीक्षण सफल भयो ।

उपत्यकामा पहिलो पटक गएको आइतबारबाट मेलम्चीको पानी वितरण गरियो  । पहिलो दिन ४ करोड लिटर पानी वितरण गरियो  । तत्कालका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानै वितरण प्रणालीबाट वितरण गर्दा पुरानो लाइन जडान भएका घरहरूमा मेलम्चीको पानी खाने सुनौलो अवसर जुर्‍यो  ।

अब भने काठमाडौँबासीमा आशाको किरण देखिन थालेको छ । परीक्षणपछि अब भने ठाउँठाउँका धारामा मेलम्चीको पानी बग्न थालेको छ । पहिलो चरणमा महांकाल, मीनभवन, खुमलटार, मैतीदेवी र अनामनगर क्षेत्रमा पानी वितरण भइरहेको छ । नयाँ स्थानमा पनि विस्तारै जडान गरी पानी वितरण गरिने केयुकेएलले जनाएको छ ।

के भन्छन् काठमाडौँबासी ?

महांकाल निवासी रीता आचार्य मेलम्चीको पानी धाराबाट झर्दा खुसी छिन्  । उनी भन्छिन्, ‘यसरी पानी झर्दा त खुसी नै लागिरहेको छ । सधैंभरि यसरी नै पानी आइरहे त राम्रै हो । पहिलेजस्तो नहोस् ।’

पहिले ३ दिनमा एक पटक, अझ कहिलेकाहीँ त एक हप्तामा २ घण्टा मात्रै पानी आउँदा समस्या भएको बताउँदै उनले भनिन्, ‘अब भने ड्रममा पानी भरेर राख्नुपर्दैन कि !’ उनका अनुसार अब सधैं यसरी नै पानी आयो भने पानी भर्नकै लागि राति ३ बजेदेखि निद्रा बिगार्नुपदैन । 

कपन सरस्वती नगरकी सुविता धितालको घरमा भने मेलम्चीको पानी आइपुगेको छैन । तर, पनि अन्य ठाउँमा आयो भनेको सुनेर उनी दङ्ग छिन् । उनी अब पानीको समस्या नआउला भन्ने कुरामा ढुक्क छिन् ।

उनी भन्छिन्, ‘मेलम्चीको पानी आउला भन्ने कुरामा विश्वास लागेको थिएन । तर, ढिलै भए पनि पानी आयो, खुसी लागेको छ ।’ 

काकाकुल उपत्यकामा मेलम्चीको पानी हरेकको धारामा झर्ला भनेर विश्वास गरेका थिएनन् चाबहिलका बासिन्दाले । तर, अहिले दैनिकजसो धारामा पानी आउन थालेपछि उनीहरु हर्षित छन् । चाबहिल गौरीघाटस्थित सीता कोइरालाको घरको धारामा आइतबार दिउँसोबाट मेलम्चीको पानी आएको छ ।

उनी अब पानीको दुःख भोग्नुनपर्ने भयो भन्दै दङ्ग छिन् । उनी भन्छिन्, ‘धारामा पानी नआउँदा हप्ताहप्तामा ट्यांकरलाई फोन गरेर बोलाउने गरेकी थिएँ । अब भने खर्च पनि बच्ने भयो, सँगै सुविधा पनि पाइने भइयो ।’

उनलाई पनि मेलम्चीको पानी गफमा मात्र सीमित होला जस्तो लागेको थियो । भन्छिन्, ‘अपत्यारिलो शैलीमा मेलम्चीको पानी आयो । एकदमै खुसी लागेको छ । उनी थप्छिन्, ‘पहिलेजस्तो नहोस् मेलम्चीको पानीले निरन्तरता पाइरहोस् ।’ 

कुमारीगालस्थित वर्षौंदेखि पानी नआएर खिया लागेको धारामा एक्कासि पानी आएको देखेर खुसी छन् स्थानीय बासिन्दा । उनीहरू भन्छन्, ‘अब सधैँ यसरी नै पानी आइरह्यो भने हामीले पानीका लागि सास्ती खेप्नुपर्दैन ।’

jackson ribon