birat ribon

विराटनगरको बायोग्यास : उद्घाटनपछि प्रधानमन्त्रीले बाटो बिर्सिए

खर्च अभावले सङ्कटमा बायोग्यास प्लान्ट

Neuro
विराटनगरको बायोग्यास : उद्घाटनपछि प्रधानमन्त्रीले बाटो बिर्सिएखर्च अभावले सङ्कटमा बायोग्यास प्लान्ट

मोहन ढकाल

विराटनगर / विराटनगर जतुवाकी रीना मिश्रले घरमा पाइपलाइनबाट आएको बायोग्यास प्रयोग गर्न थालेको दुई वर्ष भयो । दुई वर्षअघि जडान गर्दैगर्दा एलपी ग्यास प्रयोग गर्नु नपर्ने भन्दै खुसी थिइन् । तर घरमा बायोग्यास जडान भए पनि स्टकमा एलपी ग्यासको सिलिन्डर राखेकी छन् । बेलाबेला बायोग्यासको आपूर्ति बन्द हुने भएकाले एलपी ग्यासको सिलिन्डर स्टकमा राखेकी हुन् ।

cura insider

‘बायोग्यास राम्ररी बल्छ, तर लाइन जादा ग्यास पनि बन्द हुन्छ,’ उनले भनिन्, ‘विकल्पका लागि सिलिन्डर राख्नै पर्छ ।’ एलपी ग्यासभन्दा फाइदा भए पनि लाइनकै कारण समस्या हुने गरेको बताइन् ।

विराटनगरको जतुवामा रहेको श्रीकृष्ण गौ सेवा सदनले बायोग्यास उत्पादन गर्दै ३२ घरमा वितरण गरिरहेको छ ।

पाइपलाइनबाट ग्यास वितरण गर्ने योजनाको उद्घाटन २०७५ साल भदौ ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले गरेको वाचा पूरा नगरेका कारण स्थानीयले विकल्पका रुपमा सिलिन्डर राख्न बाध्य भएका हुन् ।

उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले स्तर उन्नतिमा सहयोग गर्ने र थप विस्तारका लागि बजेट विनियोजन गर्ने बताएका थिए । तर निर्माणका क्रममा राज्यले गरेको लगानीबाहेक गौ सेवा सदनले सहयोग पाएको छैन ।

सहयोग नपाउँदा बायोग्यास उत्पादन र वितरण बन्द गर्नुपर्ने अवस्था आउनसक्ने म्यानेजर सन्तोष यादवले बताए । ‘समस्या आइरहन्छ, तर सरकारले सहयोग गर्दैन,’ यादवले भने, ‘तीन तहको सरकारबाट विस्तार र विकासका लागि सहयोग भएको छैन, कोरोनाका कारण आर्थिक अवस्था पनि कमजोर भएका कारण बायोग्यास चलाउन नसक्ने अवस्था आउन सक्छ ।’

सुरुवाती चरणमा ३२ घरमा जडान भएको बायोग्यास विस्तार गरेर अन्य घरमा पनि पुर्‍याउने योजना थियो । तर उद्घाटनको दुई वर्षपछि पनि विस्तार हुन सकेको छैन । पछिल्लो समय २८ घरमा मात्रै बायोग्यासको प्रयोग भइरहेको उनले बताए ।

दुईवटा ग्यास भाडामा बस्ने विद्यार्थीले प्रयोग गर्दै थिए । उनीहरुले छाडेपछि दुईवटा ग्यास प्रयोग नभएको गौ सेवा सदनले बताएको छ । अन्य दुई घरको बाटो निर्माणका क्रममा पाइप फुटेका कारण अवरुद्ध छ ।

सेवा सदनका सुपरभाइजर अमन रायका अनुसार बाटो भत्किएको बेला दुई महिना ग्यास वितरण अबरुद्ध भएको थियो । पछिल्लो समय भने नियमित छ ।

पाइपलाइनमा समस्या आएको अवस्थामा गौ सेवा सदनकै खर्चमा मर्मत गर्नुपर्ने अवस्था रहेको उनले बताए । सरकारले केही सहयोग नगरेका कारण अन्य घरमा ग्यास विस्तार गर्न सक्ने अवस्था नभएको उनले बताए ।

सङ्कटमा गौ सेवा सदन

सरकारी पक्षबाट सहयोग नहुँदा गौ सेवा सदनले खर्च धान्न सक्ने अवस्था नभएको म्यानेजर सन्तोष यादवले बताए । ‘बेलाबेला विभिन्न समस्या आइरहन्छ,’ यादवले भने, ‘तीनै तहको सरकारबाट यसको विस्तार र विकासका लागि केही पहल र सहयोग भएको छैन ।’

कोरोनाका कारण सदनको आर्थिक अवस्था पनि कमजोर भएका कारण सरकारी पक्षले सहयोग नगरेको अवस्थामा बायोग्यास चलाउन नसक्ने उनले बताए ।

बायोग्यास उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालय, वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र, विश्व बैङ्क तथा जलवायु लगानी कोषको सहयोगमा सञ्चालित नवीकरणीय उर्जा विस्तार आयोजनाको एक करोड ११ लाख, श्री गौ सेवा सदनको २७ लाख र विराटनगर महानगरपालिकाको १२ लाख रुपैयाँ गरी जम्मा एक करोड ५० लाखको लागतमा निर्माण भएको थियो । तर त्यसपश्चात विस्तारका लागि सरकारले सहयोग गरेको छैन । उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोग गर्ने बताए पनि सदनले सहयोग पाएको छैन ।

गौ सेवा सदनमा अहिले दुई सयभन्दा बढी गाई छन् । सदनमा रहेका गाईको गोबर सङ्कलन गरेर बायोग्यास उत्पादन गरिन्छ ।

jackson ribon