birat ribon

जोशीको निधनमा शोक प्रस्ताव पारित

Neuro
जोशीको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ / नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिले पार्टी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको बैठकले नेपाल विद्यार्थी सङ्घका पूर्व महामन्त्री, काठमाडौँ महानगरपालिकाका पूर्व उप–मेयर, संविधानसभा सदस्य, पूर्वमन्त्री एवम् नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति सदस्य जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

cura insider

जोशीको नर्भिक अस्पतालमा उपचारको क्रममा शुक्रबार राति निधन भएको हो । गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि जोशीलाई उपचारका लागि वीर अस्पताल हुँदै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

वि.सं. २०१९ साल असार ३ गते काठमाडौंमा जन्मिएका जोशीले नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय बिताएका छन् । काङ्ग्रेसले जोशीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदनासमेत प्रकट गरेको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकले स्वर्गीय जोशीप्रति सम्मान प्रकट गर्दै शोकका कार्यक्रम पनि तय गरेको छ । जसअनुसार २०७७ चैत्र १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, उक्त दिनहरूमा शोकका कार्यक्रमबाहेक पार्टीका अरु औपचारिक कार्यक्रम नगर्ने, २०७७ चैत १७ गते मङ्गलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालय बन्द गर्ने, १३ औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दुरी कायम गर्दै शोकसभाको आयोजना गर्ने कार्यक्रम निर्धारण गरेको छ ।

jackson ribon