birat ribon

विश्व छारे रोग दिवसका अवसरमा न्युरोको तीनदिने कार्यक्रम

Neuro
विश्व छारे रोग दिवसका अवसरमा न्युरोको तीनदिने कार्यक्रम

विराटनगर / विश्व छारे रोग दिवसका अवसरमा विराटनगरको न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलले तीनदिने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा निबन्ध प्रतियोगिता तथा छारे रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको थियो ।

शुक्रबार कार्यक्रम समापनका अवसरमा विभिन्न प्लेकार्ड तथा ब्यानरसहितको प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा अस्पतालका संस्थापक तथा वरिष्ठ न्युरोलोजिस्ट डाक्टर वीरेन्द्रकुमार विष्ट, वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर रन्जन थापा लगायत चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीको सहभागिता थियो ।

cura insider

र्‍यालीमा सहभागीहरूले ‘रातो भाले कालो परेवा चढाएर छारे रोग निको हुँदैन,’ ‘छारे रोग सरुवा रोग होइन,’ ‘यसको उपचार गरे ठीक हुन्छ,’ ‘छारे रोग देवीदेउता रिसाएर वा जङ्गली लागेर हुने होइन,’ ‘समयमै उपचार गरौँ छारे रोगबाट मुक्त होऔँलगायतका चेतनामूलक प्लेकार्ड बोकेका थिए । प्रभातफेरी विराटनगर बजारको परिक्रमा गरी मदर एन्ड चाइल्ड हस्पिटलमा पुगेर समापन भएको थियो ।

त्यस्तै, छारे रोगसम्बन्धी निबन्ध प्रतियोगितामा मेरिल्यान्ड कलेजका आदर्श घतानी प्रथम, आदर्श कलेजका श्लोक कोइराला द्वितीय र भानु कलेजका कृतिका झा तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच, तीन र दुई हजार प्राप्त गरे ।

विजेताहरूलाई न्युरो अस्पतालका कार्यकारी निर्देशक अनिषा विष्ट, अपरेसनल डाइरेक्टर राजेश भट्टराई, वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर रन्जन थापाले पुरस्कार वितरण गरेका थिए । यस्तै, छारे रोग दिवसको अवसरमा विभिन्न जाँचमा २५ प्रतिशत छुट तथा एक महिनाको निःशुल्क औषधी प्रदान गरिएको न्युरो अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

jackson ribon